सन्दीपले अस्ट्रेलियामा गरे उत्कृष्ट बलिङ, लिए २ महत्त्वपूर्ण विकेट

नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् । मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले बुधबार पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै २ विकेट लिएका हुन् ।

सन्दीपले आजको खेलमा ३ ओभर मात्र बलिङ गरेका थिए । उनले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिए भने दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिए। सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट लिए । उनले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनको विकेट लिए। सो ओभरमा उनले कुनै रन खर्चिएनन् ।

यस यामको बिग ब्यासमा सन्दीपले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिन सफल भएका छन् । सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेपछि शुरुआतमा बलिङ गर्न पुगेको हो ।

विपक्षी टोली पर्थले १३ दशमलव पाँच ओभरमा सबै खेलाडी गुमाउँदै ८६ रन मात्र बनायो । सो खेलमा मेलबर्न आठ विकेटले विजयी भयो । बिग ब्यासमा सन्दीपको टोली मेलबर्न अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म १० खेलमध्ये नौमा जित तथा एकमा हार बेहोर्दै १८ अङ्क बटुलेको छ । हालसम्म सन्दीपले चोटका कारण एउटा खेल मात्र गुमाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE