सवारी पास अनिवार्य, तोकिएको समयमा मात्र चलाउन पाइने : सवारी चलाउन ‘टाइम कार्ड’

काठमाडौं उपत्यकाका सडकमा लकडाउनका वेला पनि सवारीको संख्या बढेपछि भिड नियन्त्रण गर्न ‘टाइम कार्ड’ निर्धारण भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायत सरोकारवालाको छलफलले लकडाउन अवधिभर सवारी सञ्चालनमा कडाइ गर्न पास अनिवार्य गर्ने र ‘टाइम कार्ड’ लागू निर्णय गरेको हो ।

आइतबारबाट पास भए पनि तोकिएको समयमा मात्र सवारी चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । आइतबारबाट खुल्ने सरकारी कार्यालयका कर्मचारीले बिहान ९ देखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ देखि ६ बजेसम्म घर फर्किन पाउनेछन् । यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बिहान ९ देखि साढे १० बजेसम्म जान र साढे ३ देखि ५ बजेभित्र फर्किन पाउनेछन् ।

त्यस्तै, खाद्यान्न, तरकारी, इन्धनलगायत अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने एसएसपी ढकालले जानकारी दिए । औषधि र खानेपानीका लागि भने टाइम कार्ड लागू हुनेछैन । निर्माण सामग्री बोक्ने वा अन्य सामग्री बोकेका ठूला टिपर र ट्रकहरू भने बेलुकी ८ देखि बिहान ६ बजेसम्म मात्रै उपत्यका प्रवेश गर्न पाउनेछन् ।

पास भए पनि विनाकाम यताउता हिँडिरहने वा एउटा काममा पास लिएर फरक प्रयोजनमा प्रयोग भएको पाइएमा कारबाही हुने ढकालले बताए । सरकारले लकडाउनमा ठप्प भएका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विभिन्न ४४ प्रकारका उत्पादनमूलक उद्योग खोल्ने निर्णय गरेपछि सडकमा भिडभाड कम गर्न सवारीसाधनलाई टाइम कार्ड लागू गरिएको उनको भनाइ छ ।

लकडाउनयता सवारी दुर्घटनामा आठको मृत्यु 
काठमाडौं उपत्यकाका सडकमा लकडाउनयता भएको सवारी दुर्घटना परी आठजनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश मोटरसाइकल चालक छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबै सवारी पास लिएर चलाइएका हुन् । सुनसान सडकमा गति अत्यधिक हुँदा दुर्घटनामा परेको महाशाखाको बुझाइ छ । लकडाउनयता उपत्यकाभित्र दुई सय १२ सवारी दुर्घटना भएको महाशाखाको तथ्यांक छ । यसक्रममा सातजना गम्भीर र एक सय ३९ सामान्य घाइते भएका छन् । महाशाखा प्रमुख एसएसपी भीम ढकालले खुला सडक हुँदा सवारीसाधनको गति अत्यधिक हुने र नियन्त्रणमा नआउँदा दुर्घटना हुने बताए । केहीले मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाइएको भेटिएको छ । महाशाखाको तथ्यांकअनुसार मापसे गरी चलाइएका २३ सवारी नियन्त्रणमा लिइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE