साउन १ गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा जाँदै

आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयले सम्पूर्ण मन्त्रालयसँग छलफल थालेको छ। प्रत्येक मन्त्रालयका सचिवहरूलाई बजेट कार्यान्वयन प्रभावकारी बनाउन कार्ययोजनासहित छलफल अघि बढाइएको हो।

अर्थ मन्त्रालयले विहीबार र शुक्रबार सामूहिक रूपमा हरेक मन्त्रालयका सचिव तथा महत्वपूर्ण विभागका विभागीय प्रमुखसँग बजेटका उद्देश्य, कार्यान्वयन कार्ययोजना र मन्त्रालयहरूको भूमिकाबारे छलफल गर्नेछ। ‘हामीले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सबैसँग छलफल गर्न लागेका हौँ,’ अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले भने।

साउन १ गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा जाँदैछ। बजेट कार्यान्वयनमा जानुपूर्व नै बजेटका लक्ष्य र पहिलो, दोस्रो र तेस्रो चौमासिक अवधिमा गर्नुपर्ने कामबारे विस्तृत छलफल गर्ने उद्देश्यले अर्थले सबैलाई बोलाएको हो।

कार्यक्रममा बजेटमा उल्लेख भएका महत्वपूर्ण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूले गर्नुपर्ने काम बारे विस्तृत छलफल हुनेछ। त्यसका लागि अर्थ मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना तयार समेत गरिसकेको छ।

सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट ल्याएको छ। बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण वर्षेनी आलोचना हुने क्रम नरोकिएपछि यसपटक बजेट कार्यान्वयनमा जानुअघि नै सम्पूर्ण पक्षसँग छलफल अघि बढाइएको अर्थ मन्त्रालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE