सार्वजनिक यातायात सञ्चालनबारे सामूहिक छलफल गरेर समाधान निकाल्नु पर्छ : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले ११ चैतदेखिको बन्दाबन्दीपछि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनबारे सामूहिक छलफल गरेर समाधान निकाल्नुपर्ने बताएका छन्।

नेता थापाले ट्वीट गर्दै सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदूर, स्वास्थ्य विज्ञ र सरोकारवालासँग सामूहिक छलफल गर्नुपर्ने सुझाव दिएका छन्।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सामूहिक छलफलबाट व्यवसायीहरू बाँच्न सक्ने, मजदूरले काम गर्नसक्ने, उपभोक्ता मारमा नपर्ने र स्वास्थ्य जोखिम कम गर्ने गरी समाधान खोज्न सुझाव दिएका हुन्।

२३ असारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गराउने निर्णय गरेको थियो । कुल सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दूरीका सवारीसाधन सञ्चालन गराउने निर्णय गरेको सरकारले सुरक्षा प्रबन्ध मिलाएर चलाउन केही समय लाग्ने जनाएको थियो।

सरकारले ट्याक्सीलाई गते अनुसार जोर-बिजोर नम्बरका आधारमा सञ्चालन गर्न अनुमति दिइसकेको छ।

सरकारले सार्वजनिक यातायात खुलाउने तयारी गरे पनि यातायात व्यवसायीहरुले भने अहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्न नसकिने बताएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको २६ असारमा बसेको केन्द्रीय कमिटी बैठकले बन्दाबन्दी अवधिको ब्याङ्क किस्ता तिर्ने समय सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लामो समय पार्किङमा रहेका गाडीको सर्भिसिङका लागि पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था र कोरोना बीमा हुनुपर्ने लगायत माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE