सिरी ए: रोनाल्डो बिहीन युभेन्टस बराबरीमा रोकियो,केइजालाइ डेब्यू खेलमै रातो कार्ड

क्रिष्टियानो रोनाल्डो बिहीन युभेन्टस इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बराबरीमा रोकिएको छ । रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका कारण आइसोलेशनमा छन् । अवे मैदानमा भएको खेलमा युभेन्टर क्रोतोनेसँग १–१ को बराबरीमा रोकिएको हो ।

१२ औँ मिनेटमा पाएको पेनाल्टीमा सिमीले क्रोतोनेका लागि गोल गरे । २१ औँ मिनेटमा अल्भारो मोराताले युभेन्टसका लागि बराबरी गोल फर्काए । मारोताले त्यसपछि पनि गोल गरेका थिए, तर अफसाइड भएका कारण मान्यता पाएन । यो खेलमा युभेन्टर अन्तिमको ३० मिनेट १० खेलाडीमा सीमित भएको थियो । ६० औँ मिनेटमा फेदेरिको केइजा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

२१ औँ मिनेटमा मोराताको गोलका लागि सहयोग गरेका फेदेरिको युभेन्टसबाट डेब्यू खेलमै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन् । युभेन्टसले उनलाई फियोरेन्टिनाबाट दुई वर्षका लागि लोनमा ल्याएको र उनलाई स्थायी रुपमै क्लबमा राख्ने विकल्प पनि छ । बराबरीपछि दोस्रो स्थानमा उक्लिने मौका गुमाएको युभेन्टस चार खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । शनिबार राति नै भएको खेलमा साम्पडोरियाले लाजिओलाई ३–० ले पराजित गरेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE