सेक्स वर्करलाई व्यवस्थापन गर्ने गंगूवाई कसरी भइन् चर्चित

संजय लीला भंसालीले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । फिल्मको नाम गंगूबाई काठियावाडी हो । यसमा प्रमुख भुमिका आलिया भट्टको रहेको छ ।

यो फिल्म ती गंगुबाईको जिन्दगीबाट प्रेरित छ, जो सन् १९६० को दशकमा मुम्बईको कमाठीपुरामा वेश्यालय चलाउँथिन् । फिल्म माफिया क्वीन्स अफ मुम्बई नामक पुस्तकमा आधारित छ, जसलाई एस.हुसेन जेदी र जेन बोर्गेसले लेखेका हुन् ।
गंगूबाईको वास्तविक नाम गंगा हरजीवनदास काठियावाडी थियो । उनको जन्म गुजरातको काठियावाडमा भएको र उनी त्यहि हुर्केकी हुन् ।

माफिया क्विन्स आफ मुम्बईका सह-लेखक एस.हुसेन जेदी गंगूबाईको बारेमा धेरै कुराहरु विस्तारमा बताउँछन् ।

उनले कोठी सञ्चालन गरेकी थिइन् । उनलाई धोका दिएर त्यस्तो धन्धामा लगाइएको थियो । उनी कोठियावाडको सम्पन्न परिवारकी थिइन् । परिवारका सदस्यहरु शिक्षित थिए र वकालतसंग सम्बन्धित थिए । गंगाको रमणीकलाल नामक एक एकाउन्टेन्टसंग प्रेम सम्बन्ध गाँसियो। गंगाको परिवार यो सम्बन्धका लागि राजी थिएनन्, जसका कारण उनी भागेर मुम्बई आइन् । तर उनलाई ती पुरुषले धोका दिए र कमाठीपूरामा बेचिदिए । त्यसबेला उनलाई आफ्नो परिवारकहाँ फिर्ता जान नसक्ने कुराको महसुस भयो, किनभने अब उनको परिवारले उनलाई स्वीकार गर्दैनन् भन्ने कुरा उनले बुझेकी थिइन् । त्यसैले उनले परिस्थितिलाई अपनाउदै सेक्स वर्करको काम गर्न थालिन् ।

उनी ग्याङ्स्टर थिइनन्, उनी अन्डरवल्र्डको कुनै अंग नै थिइनन् तर उनी त्यस्तो धन्धामा थिइन्, जसलाई घृणाको दृष्टिकोणले हेरिन्थ्यो । जसै-जसै समय बित्दै गयो, उनी कमाठीपुरा रेड लाइट एरियाको प्रमुख बनिन् । यसरी उनी गंगाबाट गंगू बनिन् र गंगूबाट म्याडम बनिन् ।

गंगूबाईले कमाठीपुरामा भएको घरेलू चुनावहरुमा सहभागि भइन् र जीत पनि हासिल गरिन् । यसरी उनी गंगू सेक्स वर्करबाट गंगूबाई काठेवाली बनिन् । काठेवाली वास्तवमा कोठेवालीसंग सम्बन्धित छ । कोठाको अर्थ वेश्यालय र कोठाको प्रमुखलाई कोठेवाली भनिन्छ ।

सेक्स वर्करका लागि आमा जस्तै

सन् १९६० र १९७० को दशकमा गंगूबाईको नाम कमाठीपुरामा प्रख्यात थियो । उनी अन्य सेक्स वर्करहरुका लागि आमा जस्तै थिइन् । उनले कोठा सञ्चालन गर्ने म्याडमहरुको प्रभावको अन्त्य गरेकी थिइन् ।

उनी सुनौलो किनारा भएको सेतो साडी, सुनौलो बटन भएको ब्लाउज र सुनौलो चश्मा पनि लगाउँथिन् । उनी कारबाट यात्रा गर्थिन् ।

उनलाई सुनबाट बनेका गहना लगाउने शोख थियो । बाल्यवस्थामा उनको अभिनेत्री बन्ने सपना थियो । पछि पनि उनको फिल्मी संसारमा धेरै रुचि रहेको थियो । उनले त्यस्ता धेरै महिलाहरुलाई घर फिर्ता पठाउन सहयोग गरिन्, जसलाई धोका दिएर वेश्यालयमा बेचिएको थियो ।

उनी त्यस्तो काम गर्ने महिलाहरुको सुरक्षाका लागि पनि अति नै सजग थिइन् । उनले महिलाहरुमा भएको अन्यायको विरुद्ध आवाज उठाइन् साथै त्यस्ता व्यक्तिहरु जसले महिलाहरुलाई शोषण गरे, त्यस्ता व्यक्तिहरुको विरुद्ध पनि कदम उठाइन् ।

शहरहरुमा सेक्स वर्करहरुका लागि पनि स्थान उपलब्ध गराउनु पर्छ भन्ने उनको धारणा थियो । मुम्बई खुला मैदानमा महिला सशक्तीकरण र महिला अधिकारहरुका लागि आयोजित र्‍यालीमा उनको भाषण अति नै चर्चामा रहेको थियो ।

गंगूबाईको मृत्युपछि धेरै वेश्यालयहरुमा उनको तस्वीर टांगियो र उनको मूर्तिहरु पनि बनाइयो ।

कसैको नजरमा देवी, कसैको नजरमा वेश्या

कमाठीपुरामा भएको एउटा घटनापछि गंगूबाईको दबदबा झन् बढ्न थाल्यो । एउटा पठानले वेश्यालयमा गंगूबाईसंग नराम्रो व्यवहार गरे । ती व्यक्तिले गंगूबाईसंग जबर्जस्ती गर्ने कोशिश गरे, उनलाई चोट पुर्‍याए र पैसा पनि दिएनन् । त्यस्तो बारम्बार भैरहृयो ।

एक पटक त उनलाई अस्पताल नै लैजानु पर्ने स्थिति आएको थियो । त्यस पछि गंगूबाईले ती पठानको बारेमा जानकारी हासिल गरिन् । शौकत खान ती पठानको ताल्लुक करीम लालाको ग्याङ्संग सम्बन्ध रहेको कुरा गंगुबाईले थाहा पाइन् ।

अब्दुल करीम खानलाई अन्डरवल्र्डमा मानिसहरु करीम लालाको नामले चिन्ने गर्थे । गंगूबाई करीम खानकहाँ गएर आफुसंग भएको समस्त कुराहरु बताइन् । करीम खानले गंगूबाईलाई सुरक्षा दिने वचन गरे ।

जब शौकत खान पुनः वेश्यालय पुगे, उनले धेरै पिटाई खाए । करीम लालाले गंगूबाईलाई आफ्नी बहिनी बनाए र जसले गर्दा गंगूबाईको दबदबी झन बढ्दै गयो ।

नेहरुसंगको भेटघाट

सन् १९६० को दशकमा कमाठीपुरामा सेन्ट एन्थनी गल्र्स हाई स्कूल शुरु भयो । त्यसले वेश्यालय बन्द हुनु पर्ने भन्दै आवाज उठाउन थाल्यो । उनीहरु वरपर वेश्यालय भयो भने यसको असर साना बालिकाहरुमा पर्न सक्ने भनेर यस्तो आवाज निकालेका थिए ।

त्यस्तो निर्णयले कमाठीपुरामा करीव एक शताब्दिदेखि काम गरिरहेका महिलाहरुमा नराम्रो असर पर्दथ्र्यो । त्यसैले गंगूबाईले त्यस विरुद्ध आवाज उठाइन् र त्यसलाई अगाडि बढाउन सम्पूर्ण शक्ति लगाइन् ।

आफ्नो राजनीतिक परिचितहरुका मद्दतले उनले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसंग भेट्ने समय मागिन् । त्यस्तो भेटघाटको बारेमा आधिकारीक रुपमा कतै उल्लेख भएको छैन, तर एस.हुसेन जेदीले आफ्नो पुस्तकमा भने यो कुरालई उल्लेख गरेका छन् ।

जेदीले माफिया क्विन्स आफ मुम्बईमा लेखिए अनुसार त्यो भेटघाटमा गंगूबाईको सजगता र स्पष्ट विचारहरुबाट नेहरु पनि दंग भएका थिए । नेहरुले गंगूबाईलाई त्यस्तो धन्धामा किन लागेको, जबकि तिमीले राम्रो जागिर र श्रीमान् पाउन सक्थ्यौ भनेर प्रश्न गरेका थिए ।

नेहरुको प्रश्नमा प्रति प्रश्न गर्दै गंगूबाईले भनेकी थिइन्-‘यदि नेहरुले उनलाई श्रीमतीको रुपमा स्वीकार गर्न तयार छन् भने सधैंका लागि त्यो धन्धा छाडिदिन्छु’ ।

नेहरुले गंगुबाईको प्रस्तावलाई सहजै असहमति जनाए । तब गंगूबाईले प्रधानमन्त्रीलाई भनिन्-प्रधानमन्त्रीज्यू, नरिसाउनुहोस् । म केवल आफ्नो कुरालाई प्रमाणित गर्न चाहन्थे । सल्लाह दिन सजिलो छ, तर त्यसलाई स्वयं अपनाउन कठिन छ ।’ गंगूबाईको त्यस्तो कुरा सुने पछि नेहरुले केही बोलेनन् ।

भेटघाट सकिँदा नेहरुले गंगूबाईको मागहरुमा ध्यान दिने वचन दिए । प्रधानमन्त्रीले जब स्वयं त्यस कुरामा हस्तक्षेप गरेपछि कमाठीपुराबाट वेश्यालय हटाउने काम कहिले हुन सकेन ।

अहिले आएर संजय लीला भंसालीले गंगूबाई काठेवालीको जिन्दगीमा फिल्म बनाउने भएका छन् । आलिया भट्ट गंगूबाईको भुमिकामा देखिने भएकी छिन् । फिल्मको फर्स्ट लुक लञ्च गरिएको छ ।

बीबीसीसंग कुरा गर्दै एस.हुुसेन जेदीले भनेका छन् -‘भंसालीले कथा धेरै मन पराएका छन् । यी महिलाको कहानी ठुलो पर्दामा देखाउनु पर्छ । कुनै पनि पात्रलाई ठुलो पर्दामा राख्ने र त्यसलाई वास्तविकता जस्तै देखाउन सक्ने क्षमता भन्सालीमा छ । मानिसहरुले गंगूबाईको बारेमा मेरो पुस्तकमा पढेका होलान् तर अब उनीहरुले यी महिलालाई ठुलो पर्दामा देख्न सक्छन् । हामी सबै आलिया भट्टको अभिनयसंग परिचित छौ । जसरी उनले हरेक भुमिकालाई निभाउछिन्, उनी त्यहि पात्रमा बाँच्छिन् । आलिया र भन्साली दुवैले यस कहानीसंग न्याय गर्छन् भन्ने मलाई लागेको छ ।’

संजय लीला भन्सालीको यो फिल्म ११ सेक्टेम्बर २०२० मा रिलीज हुँदैछ ।

बिबिसीबाट

WRITE COMMENTS FOR THIS ARTICLE