हाम्रो तयारी तिव्र छ : नगर प्रमुख चन्द्रागिरि नगरपालिका

चन्द्रागिरि नगरपालिकाका ६५ व्यक्तिमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरिका विभिन्न व्यक्तिको आरडिटी परीक्षण गर्दा ६५ जनाको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिए । “विभिन्न जिल्लाबाट बन्दाबन्दीपछि चन्द्रागिरि प्रवेश गरेका व्यक्तिमा आरडिटी परीक्षण गर्दा उनीहरुमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो”, उनले भने ।

चन्द्रागिरिले ५६ लाई मनमोहन अस्पताल दहचोक, चारलाई नैकाप पार्टी प्यालेस, तीनलाई मङ्गल माध्यामिक विद्यालय, एकलाई चन्द्रागिरि कटेज र एक जनालाई होम क्वारेन्टाइनमा राखेको छ । चन्द्रागिरी क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं ८ का अध्यक्ष सन्तोष खड्काको संयोजकत्वमा रहेको समितिले क्वारेन्टिनभित्रको खाना, स्वास्थ्य, शौचालय, फोहर व्यवस्थापनको काम गर्दै आएको छ । ‘तत्कालका लागि २ सय जनासम्मका राख्ने व्यवस्था मिलाइएको’,  गिरीले बताए। ‘हामीले क्वारेन्टाइनमा बस्न आवश्यक देखिएकालाई राख्न सुरू गरेका छौं,’ उनले भने।

क्वारेन्टिनभित्रको सुरक्षाको जिम्मा भने नेपाल प्रहरी र नेपाली सेनाले लिँदै आएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरिमा आरडिटीको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुको पिसीआर विधिबाट परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । चन्द्रागिरिले नगरप्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत १०६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ ।

‘यो लकडाउनका बीच हाम्रो नगरपालिकामा मात्रै १५ सयजति मानिस बाहिरबाट भित्रिएको अनुमान गरेका छौं,’ मेयर गिरीले भने, ‘त्यसैकारण नगरपालिका थप कडाई गरेर तिनको सूची तयार पार्दै परीक्षण गर्ने योजना बनाएका  हाैँ।’

‘हामीले यहाँका बासिन्दालाई तीन समूहमा विभाजन गरेका छौं,’ उनले भने, ‘पहिलो नम्बरको अति जोखिम समूहलाई प्राथमिकतामा राख्दै पीसीआर परीक्षणका लागि नमुना संकलन गर्दै प्रयोगशालमा पठाइरहेका छौं।’

उनका अनुसार चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा छन्। ‘ मेरो सबै वडाध्यक्षसँग कुरा भएको थियो, सबैले आफ्ना वडामा कम्तीमा ८० देखि सय जनासम्म बाहिरबाट मानिस आएको जानकारी दिएका छन्,’ उनले भने, ‘यसरी हेर्दा कम्तीमा १५ सय मानिस हाम्रो नगरपालिकमा भित्रिएको देखिन्छ।’

कोरोना नियन्त्रणमा चन्द्रागिरिका जनप्रतिनिधि व्यापक रूपमा खटिरहेको उनले जानकारी दिए।

WRITE COMMENTS FOR THIS ARTICLE