४ जिल्ला कोरोनाको ‘हटस्पट’, १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको संकेत प्राप्त भएको भन्दै सचेतता अपनाउन आग्रह गरेको छ।

मंगलबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता जागेश्वर गौतमले काठमाडौं, ललितपुर, रौतहट, सर्लाही, चितवन, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, र रुपन्देहीमा संक्रमितको संख्या पाँचसय भन्दा माथि रहेको बताए।

उक्त तथ्यांकलाई विश्लेषण गर्दै मिडिया ब्रिफिङमा मन्त्रालयले आमन्त्रित गरेका जनस्वास्थ्य विज्ञ डाक्टर सुरेश तिवारीले प्रवक्ता गौतमले भनेका १२ वटा जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको संकेत मिलेको बताएका हुन्। उनले ती १२ वटा जिल्लामा रहेका संक्रमितको संख्या कुल संक्रमितको ७३ प्रतिशत रहेको भन्दै समुदायस्तरमा फैलिसकेको भन्न मिल्ने तर्क गरे।

उनले ती १२ वटा जिल्लामध्ये पनि १००० भन्दा माथि कोरोना संक्रमित रहेका ४ वटा जिल्ला कोरोनाका ‘हटस्पट’ बनिसकेको बताए।

काठमाडौं, पर्सा, रौतहट र सर्लाहीमा हाल सक्रिय संक्रमितको संख्या उच्च रहेको छ। जनस्वास्थ्य विज्ञ तिवारीले संक्रमण नियन्त्रणका लागि परीक्षणको दायरालाई बढाउनु पर्ने सुझाव दिए।

उनले पछिल्लो समय मृत्यु हुनेमा वृद्धहरूको संख्या धेरै भएको र संक्रमण पनि वृद्धहरूलाई नै बढी देखिएको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE