खाना सबैलाई: ६० रुपैंयामा मासुभात र ५० रुपैंयामा सादा खाना, न्यून आय भएकाहरुलाई राहत

बसन्तपुर तर्फ जादैँ गर्दा भिमसेनस्थानस्थित परोपकार स्कुलको अगाडी “खाना सबैलाई” लेखिएको बोर्ड देखिन्छ । ६० रुपैंयामा मीठो र स्वस्थकर मासुभात पाइने हुनाले होला त्यँहा चर्को भिडभाड नै थियो ।

गत पुस ९ गतेदेखि संचालनमा आएको यस सामुदायिक भान्छामा हामी पुग्दा खाना खान आउने र भोक मेटेर फर्किनेहरुको संख्या बाक्लो थियो । यहाँ ५० रुपैंयामा थपिथपि सादा खाना खान पाइन्छ भने ६० रुपैंया तिरेपछि मासुभात खान पाइन्छ ।

दैनिक ज्यालादारी गर्ने मजदुर, भरिया, निर्माण सम्वन्धी काम गर्ने कामदार, फूटपाथ व्यापारी, सरसफाइमा खटिने कामदार, ज्येष्ठ नागरिक, असक्त, फरक क्षमता भएका तथा अन्य न्यून आय भएकाहरुले सहुलियत मूल्यमा खाना खान पाउँछन् । यसलाई व्यवस्थित गर्नका लागि उनीहरुले कूपनको पनि व्यवस्था गरेका छन्।

यहाँ पाइने सादा खाना सेटमा दाल, भात, तरकारी, अचार र सलाद राखिएका छन् भने मासुसहितको खाना सेटमा चिकेन, माछा र अण्डा करी राखिएको छ । यहाँ ३ दिन चिकेनकरी, २ दिन माछाकरी र २ दिन अण्डाकरी पाक्छ ।

भीमसेनस्थानस्थित भान्साघरमा पुग्दा भोको पेट लिएर खाना खान आएका ग्राहकहरुलाई दाल, तरकारी, अचार थपिरहेका थिए हसिँला युवा, नवराज मोक्तान।

उनी सानैदेखि सामाजिक काममा रुची राख्थे । कोभिड १९ को नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनले धेरैलाई दुई छाक टार्न समेत धौ धौ भयो। सर्वसाधारणको यही धौ धौ पूर्ण कठिन परिस्थितीलाई सामाजिक सेवा गर्ने मौकाको रुपमा सदुपयोग गरे मोक्तानले ।

उनीसहितको पाँच जनाको समूहले खाना सवैलाई अभियानमार्फत लगातार ६५ दिनसम्म करिव ७ सय जनालाई निःशुल्क खाना वितरण गरे। यही अभियानलाई लकडाउन खुलेपछि सामुदायिक भान्छामा रुपान्तरण गरे उनीहरुले । अहिले उनीहरुले काठमाडौंको भिमसेनस्थानस्थित परोपकार स्कुल अगाडि खाना सवैलाई सामुदायिक भान्छा संचालन गरिरहेका छन् ।

सवैलाई खाना अभियानलाई दीगोरुपमा लैजानका लागि यहाँ साधारण मूल्यमा पनि खान खाने व्यवस्था गरिएको छ । जसको मूल्य सादा खानाको ११० रुपैंया र ननभेज खाना १२० रुपैंयामा तोकिएको छ । सहुलियत र साधारण गरी दुईथरि मूल्यमा तोकिएपनि खानाको परिकार भने एउटै हो ।

“यहाँ हामीले व्यापार गर्ने भन्दा पनि न्यून आय भएका मानिसहरूलाई केही राहत होस् भन्ने नै हाम्रो प्रमुख उद्देश्य हो”, सञ्चालक नवराजले भने।

सुरूमा होटल सञ्चालन गर्नुभन्दा अगाडि नै कालीमाटी, भीमसेनस्थान लगायतका वरपरका क्षेत्रका श्रमिक र न्यून आय भएकाहरूलाई आफ्नो योजनाबारे जानकारी दिएका थिए।

सहुलियतदरको सामुदायिक भान्छा सञ्चालन गर्दै गर्दा उनीहरूलाई केही चुनौती छन्। एकातिर आफ्नो कार्यलाई कसरी निरन्तरता दिने भन्ने छ भने अर्कोतिर कसरी सेवालाई थप विस्तार गर्ने भन्ने रहेको मोक्तानको भनाइ छ। काम गर्दै जाँदा केही होटल व्यवसायीहरूले भने सांकेतिक रूपमा आपत्ति जनाएका छन्।

“सबैजना उहाँहरूकै ग्राहक थिए। सस्तोमा खाना खान पाउने भएपछि हाम्रो आए। त्यसपछि केही व्यक्तिहरू आएर असहमति व्यक्त गरे”, सञ्चालक मोक्तानले भने। सामुदायिक भान्छामा आर्थिक, खाद्यान्न तथा स्वयमसेवकको रूपमा पनि सेवा गरेर पनि सहयोग गर्न सकिने उनको भनाइ छ।

अहिले नौं सय भन्दा बढीलाई सहुलियत खानाको लागि कुपन बाँडिएको उनको भनाइ छ। सहुलियतदरमा खाना खान पाउने वर्गमा दैनिक ज्यालादारी गर्ने मजदुर, भरिया, निर्माणसम्बन्धी कामदार, फुटपाथ व्यापारी, सफाइमा खटिने कामदारलगायत ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्ति तथा न्यून आय भएका मानिसहरू छन्। विद्यार्थीहरूलाई समेत सहुलियतदरमा नै खाना खुवाइनेछ।

सहुलियत मूल्यमा स्वादिस्त खाना खान चाहनुहुन्छ भने तपाई बिहान साढे ९ बजेदेखि साढे १२ बजेभित्र र बेलूका ६ बजेदेखि राति ८ बजेभित्र परोपकारस्थित सामुदायिक भान्छामा पुगिसक्नु पर्नेछ।

हेर्नुहोस भिडियोमा :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE