पीएसजीले च्याम्पियन्स लिगको लागि मार्चयता पहिलोपटक प्रशिक्षण सुरु गरेको छ

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मार्चयता पहिलोपटक प्रशिक्षण थालेको छ । पीएसजीले च्याम्पियन्स लिगको लागि झन्डै चार महिनापछि शुक्रबारदेखि प्रशिक्षण थालेको हो ।

पहिलो दिनको प्रशिक्षणमा पहिलो रोजाईका नेयमार, केलियन एमबाप्पे, मोउरो इकार्डी, एन्जल डि मारिया, मार्काे भेराट्टी, जुलियन ड्राक्सलर, केलर नाभाससँगै प्रायः सबै खेलाडीको उपस्थिति रहेको थियो । पीएसजीले च्याम्पियन्स लिगको खेल अघिसम्म प्रशिक्षणका साथै केही मैत्रीपुर्ण खेल खेल्ने तालिका बनाएको छ ।

पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दैछ । पीएसजीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई तथा एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सियालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । क्वाटरफाइनलदेखि सबै खेलहरु पोर्चुगलको लिस्वनमा मिनि टुर्नामेन्टको रुपमा १२ देखि २३ अगस्टसम्म हुनेछ

कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि फ्रान्समा मार्चको पहिलो सातापछि खेलकुद गतिविधि ठप्प भएको थियो । त्यसपछि फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपेले फ्रान्समा सेप्टेम्वरसम्म खेलकुदको गतिविधि नगर्न निर्देशन दिएपछि फ्रेन्च लिग वान आयोजक (एलएफपी) ले सिजन अन्त्यको घोषणा गर्दै शीर्षस्थानमा रहेको पीएसजीलाई १० खेल बाँकी छदै फ्रेन्च लिग वानको च्याम्पियन घोषणा गरेको थियो ।

फ्रान्समा खेलकुद गतिविधि ठप्प रहेपनि स्पेन, जर्मनी, इंग्ल्यान्ड र इटलीमा विभिन्न प्रोटोकल अपनाएर लिग सुचारु भइसकेको छ । जर्मन बुन्डेस लिगा सम्पन्न भइसक्दा अन्य लिगहरु पनि सकिने संघारमा पुगिसकेको छ ।

एजेन्सी

 

WRITE COMMENTS FOR THIS ARTICLE