मंगलबार , भाद्र ३१, २०८२

मानसरोवर, पर्यटन र आध्यात्मिक अनुभूति

मानसरोवर ताल ८० कि.मी. गोलो छ । पैदल हिँडदा ३ दिन लाग्दछ भने गाडीमा साढे एक घण्टामा परिक्रमा गर्न सकिन्छ । ६० मिटर गहिरो मानसरोवरको लम्बाई र चौडाइ ठीक २० किलोमिटर रहेको छ ।

image

तिब्बतमा रहेको मानसरोवर तालमा हिन्दू, बौद्ध, जैन र बोन धर्महरुका पर्यटकहरु पुग्दछन । आध्यात्मिक तीर्थयात्रामा पर्यटकहरु मानसरोवरमा पुग्दछन । यो ताललाई संस्कृत भाषामा मानसरोवर र तिब्बती भाषामा मापाम युम शो नामले चिन्ने गरिन्छ । मानसरोवरको यात्रा आत्मा, श्रद्धा र विश्वासको लागि निस्किनु हो । मानसरोवरको यात्रामा भौतिक स्थानको यात्रा मात्र हुँदैन, आत्मज्ञान र परमसत्यको खोज पनि समावेश हुन्छ । आध्यात्मिक तीर्थयात्राले मन शुद्ध पार्दछ । सांसारिक मोहबाट केही क्षण अलग भएर आत्मचिन्तन गर्न प्रेरित गर्दछ । आध्यात्मिक तीर्थयात्राले धर्म, संस्कृति र आस्थालाई गहिरो बनाउँछ । त्यस्तै, आध्यात्मिक पर्यटनको यात्राले म को हुँ ? जीवनको अर्थ के हो ? भन्ने जस्ता गहिरो प्रश्नहरुको उत्तर खोज्ने प्रयास हुन्छ । तीर्थयात्रा र आध्यात्मिक खोज मानिसलाई शान्ति, अनुशासन र आत्मबोधको दिशातर्फ उन्मुख गराउने महत्वपूर्ण साधन हुन्छ ।

शान्तिको खोजीका लागि पर्यटकहरुले आध्यात्मिक ठाउमा पुग्न खोज्दछन । पर्यटनको क्षेत्रमा आजभोली आधुनिक शिक्षित वर्ग पनि आफ्नो संस्कार, धर्म र मूल आस्थातर्फ फर्किन थालेको छ । जुन कारणले आध्यात्मिक पर्यटन लोकप्रिय हुँदै गएको छ । आजको आधुनिक जीवनशैलीले मानिसलाई भौतिक सुख–सुविधा त दिएको छ, तर मानसिक शान्ति र आत्मिक सन्तोष भने हराउँदै गएको छ । यस्तो अवस्थामा मानिसहरु आध्यात्मिक सान्त्वना खोज्दै मानसरोवर पुग्न थालेका छन । मानसरोवर पुगेपछि पर्यटकहरुलाई आत्मिक उन्नति, सांस्कृतिक आस्थाहरु र धार्मिक अनुभूति प्राप्त हुन्छ । आध्यात्मिक स्थलहरु केवल पूजाआजा गर्ने ठाउँ मात्र होइन प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा र पर्यटकीय आकर्षणको केन्द्र पनि भएका छन । मानसरोवर योग, ध्यान, तान्त्रिक साधना जस्ता विषयले पर्यटकलाई आकर्षित गरेको छ । पर्यटकहरु मानसरोवर पुग्दा आध्यात्मिक उर्जाको अनुभूत गर्दछन । साधकहरु, योगीहरु र ध्यान अभ्यास गर्नेहरुका लागि मानसरोवर दिव्य अनुभवको स्रोत बन्ने गर्दछ । हिन्दूहरुका लागि शिव, बौद्धहरुका लागि पद्मसम्भव, जैनहरुका लागि ऋषभदेव र बोन धर्मका अनुयायीहरुका लागि तांत्रिक साधनाको केन्द्र भएकोले पनि मानसरोवर बहुधार्मिक श्रद्धाको प्रतिक बनेको छ ।

आध्यात्मिक पर्यटन आजको विश्वको एउटा गहिरो आवश्यकता जस्तै बनिरहेको छ । मानिसहरु केवल दृश्य र रमणीयता मात्र नभएर आत्मिक अनुभव लिनको लागि यात्रा गर्न खोज्न थालेका छन । मानसरोवर पर्यटनको लागि केवल तीर्थाटन मात्र नभएर आध्यात्मिक उन्नतिको शिखर हो । आध्यात्मिक अनुभूति भन्नाले आत्मा, परमात्मा वा सृष्टिको गहिरो सम्बन्धबारे प्रत्यक्ष बोध वा गहिरो भावनात्मक सांवेगिक अनुभव हो । यो अनुभूति इन्द्रियगत नभई अन्तरमनबाट प्राप्त हुने शान्ति, आनन्द र एकत्वको अनुभूति हो । मानवमनमा यो अनुभूति ध्यान, साधना, पूजा, तीर्थाटन वा गहिरो आत्मचिन्तनद्वारा प्राप्त गर्न सकिन्छ । यो कुनै चमत्कार होइन, बरु आत्माभित्रको शुद्धता र समर्पणको परिणाम हो जसले व्यक्तिलाई संसारिकताबाट माथि उठाएर आध्यात्मिक सत्यतर्फ उन्मुख गराउँछ । मानसरोवर तालको किनारमा उभिँदा आकाश पृथ्वीलाई अँगालेर झरेको अनुभूति हुन्छ । मानसरोवर तालको सतहमा आफ्नो अनुहार होइन—आफ्नो चेतनाको प्रतिबिम्ब देखिन्छ । कैलाश हिमालले बोलेको जस्तो अनुभूति हुन्छ ।

कैलास पर्वतको उचाई छ हजार सातसय १४ मिटर रहेको छ । कैलास पर्वतको परिधि ४३ कि.मि.पर्दछ । पौराणिक कथन अनुसार शिवबाहेक ब्रह्मा, देवगण मरिचि, रावण, भस्माशुर आदिले पनि मानसरोवरमा तपस्या गरेका थिए । मानसरोवरमा ब्यास, भीम, कृष्ण, दत्तात्रय आदिले यात्रा गरेका थिए । भनिन्छ शंकराचार्यले यही प्राण त्यागेका थिए । मेरु सुमेरु, सुषुम्ना, हेमाद्री, देवगण आदि पर्वतले सुसज्जित मानसरोवर पर्वत प्राकृतिक छटाको भण्डार हो । त्यसैले मानसरोवर हिन्दु, बौद्ध, जैन, सिख आदि धर्मावलम्बीहरुको साझा तपोभूमि पनि हो । दत्तातय ऋषि हिमालय घुम्न जाँदा हिमालयले उनलाई ब्रम्हाद्वारा निर्मित मानसरोवरको दर्शन गराएर त्यसको महत्व बारे बताएका थिए । त्यस स्थानमा ऋषिहरुको आश्रम पनि थियो । भगवान शिव स्वयं राजहंस भएर मानसरोवरमा जलपरिक्रमा गरि रहने विश्वास गरिन्छ । मानसरोवरमा सबै देवताहरु ब्राम्हमुहर्तमा स्नानका लागि आउने गर्छन भन्ने विश्वास गरिन्छ । मानसरोवरमा सतीदेबीको दाँया हात खसेको विस्वास गरिन्छ । त्यहाँ रहेको शीलालाई सतीदेबीको स्वरुप मानी पूजा गरिन्छ ।

तिब्बतको मानसरोवर ताल मानव सभ्यताको प्राचीन तीर्थस्थल हो । मानसरोवर पर्यटनका लागि आध्यात्मिक उर्जा, प्राकृतिक सौन्दर्य र रहस्यमय आकर्षणले भरिएको स्थल हो । मानसरोवर हिन्दू धर्म अनुसार यो सरोवर स्वयं ब्रह्माले आफ्नो ध्यानशक्तिबाट सिर्जना गरेको स्थान मानिन्छ । स्कन्द पुराण, शिव पुराण, रामायण र महाभारतजस्ता ग्रन्थहरुमा मानसरोवरको बारेमा उल्लेख गरिएको छ । बौद्ध परम्परामा मानसरोवर ताललाई अनवतप्त सरोवर भनिन्छ । यसलाई बौद्ध गुरु पद्मसम्भव, आर्य अवलोकितेश्वर र मञ्जुश्रीसँग जोडिन्छ । भगवान बुद्धले पनि मानसरोवर क्षेत्रमा ध्यान गरेका थिए भन्ने मान्यता छ । जैन धर्मका अनुसार आदिनाथ ऋषभदेवले यहीँ मोक्ष प्राप्त गरेका थिए । बोन धर्म तिब्बतको आदिकालीन धर्म हो । बोन धर्मले मानसरोवरलाई आत्मशुद्धिको स्थल मान्दछन । कैलाश र मानसरोवरलाई विश्व ब्रह्माण्डको केन्द्र मान्ने मत पनि बोन परम्परामा पाइन्छ । तीर्थाटनमा जाने मानिसहरु मानसरोवर पुगेपछि कैलास पर्वतको परिक्रमा गर्दछन । परिक्रमा गर्दा पैदल हिडन नसक्नेहरुको लागि घोडाको व्यवस्था पनि छ । यात्राको १४ कि.मी. पार गरेपछि चार हजार नौसय १० मिटर उचाईको देरापोक पुगिन्छ । त्यहाँबाट कैलासको साक्षात दर्शन गर्न सकिन्छ । कैलास पर्वतको पूरा परिक्रमा पछि अष्टपर्वतको परिक्रमा शुरु हुन्छ ।

उत्तराखण्ड र मानसरोवरबीच प्राचीन कालदेखि आध्यात्मिक, धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको वैदिक, पौराणिक तथा तान्त्रिक ग्रन्थहरुमा वर्णन गरिएको पाइन्छ । तीर्थयात्राको लागि उत्तराखण्ड, विशेषतः देवभूमीको रुपमा चिनिन्छ । उत्तराखण्डका चार धाम बद्रीनाथ, केदारनाथ,गंगोत्री, यमुनोत्रीको यात्रा पछि धेरै तीर्थयात्री मानसरोवर–कैलाश यात्रामा जाने प्रचलन छ । हिमालय केवल भूगोल मात्र होइन, सनातन धर्म, साधना र मोक्षको मार्ग पनि हो । मानसरोवर र उत्तराखण्ड तीर्थबीचको सम्बन्ध पौरानिक कालदेखि आध्यात्मिक अनुभव र आत्मसाक्षात्कारको पुल बनेको छ । उत्तराखण्ड हिन्दू धर्मअनुसार ३३ कोटी देवी देवताको वासस्थान हो । प्रकृतिको आध्यात्मिक निरन्तरता उत्तराखण्ड र मानसरोवर एउटै हिमालय श्रृखलामा पर्दछ । उत्तराखण्ड हुँदै मानसरोवर जान प्रयोग भएको मार्ग विशेषतः लिपुलेक दर्रा हुँदै यात्रा गरिन्छ । तीर्थयात्रीहरु धार्चुलाबाट सुरु गरेर गुन्जी, नाभीढाङ, कालापानी हुँदै लिपुलेक पार गर्छन ।

मानसरोवर तालको पश्चिममा राक्षस ताल रहेको छ भने उत्तरमा कैलास पर्वत पर्दछ । कैलास मानसरोवरमा बार्षिक ५० हजार भन्दा बढी तीर्थटनका पर्यटकहरु नेपाल, भारत, भुटान, भियतनाम, रुस लगायतका देशहरुबाट जाने गर्छन । जसमा भारतीय यात्रुहरु सबैभन्दा बढी हुन्छन । मानसरोवरको स्वर्णभूमिमा पुग्दा जता हेर्दा पनि शान्ती प्राप्तको अनुभुति हुन्छ । मानसरोवर ताल ८० कि.मी. गोलो छ । पैदल हिँडदा ३ दिन लाग्दछ भने गाडीमा साढे एक घण्टामा परिक्रमा गर्न सकिन्छ । ६० मिटर गहिरो मानसरोवरको लम्बाई र चौडाइ ठीक २० किलोमिटर रहेको छ । मानसरोवर कैलाश पर्वतबाट शुरु भएका प्रसिद्ध चार नदी सिन्धु अर्थात संगे खाबाब, सतलज अर्थात गंगा, कर्णाली म्याप्च्या खाँबाब र बह्मपुत्र यार्लुङ साङबो अर्थात ताम्छो खाम्बाब नदीको छेउछाउमा विकास भएको सभ्यताको महत्व रहेको छ । जुन कारणले गर्दा कैलाश मानसरोवर स्वर्गीय तीर्थस्थल बनेको छ ।

ब्रम्हपुत्र नदी, सिन्धु, सतजल तथा कर्णाली नदीको मुहान मानसरोवर नै हो । ब्रह्मपुत्र एसिया महादेशका ठूला नदीहरु मध्येको एउटा हो । संस्कृत मा ब्रह्मपुत्रको शाब्दिक अर्थ ब्रह्माको पुत्र हुन्छ । यो नदी तिब्बत, भारत तथा बंगलादेश हुँदै बग्दछ । ब्रह्मपुत्र को उदगमस्थल चीनको स्वायत्त शासित प्रदेश तिब्बतको दक्षिण पश्चिम क्षेत्रमा मानसरोवर निकट चेमायुंग दुंग नामक हिमालबाट भएको छ । तिब्बतमा यसलाई यार्लुग छंग्पो सांग्पो नदी भनिन्छ । यो नदी भारतको अरुणाचल प्रदेशमा डिहांग नामले चिनिन्छ र आसाम राज्यमा ब्रह्मपुत्र नामले । बंगलादेश पुगेपछि यसलाई जमुना भनिन्छ । यस नदीले दुई हजार नौ सय कि.मी.लामो यात्रा पूरा गर्दछ । यो नदी बंगलादेशमा पुगेपछि गंगा नदीको मूल शाखा पद्मासित मिलेर बंगालको खाडीमा गएर मिसिन्छ । नेपालमा बग्ने कर्णाली नदीको मुहान तिब्बतको माप्चोचोङ्गो हो । माप्चोचोङ्गाबाट झरेको पानी सुरुमा मानसरोवर ताल नजीकै रकोस सरोवरमा मिसिन्छ । जुन ताललाई राक्षस ताल पनि भनिन्छ । त्यस पछि नेपालमा प्रवेश गरेपछी मुगुमा यो पानीलाई करन खोला भनिन्छ । करन खोलाको नामबाट कर्णाली नदी रहन गएको हो । यो नदी बाजुरा र हुम्ला हुँदै कालीकोट सम्म धेरै सहायक नदी नालाहरु मिसिन्छ । रारा तालको पानी र बाजुराको सिमानामा कर्णाली र बुढी गंगा मिसिए पछि नदीले बिशाल रुप लिदै बग्दछ ।

चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर क्षेत्रमा प्रत्येक बर्ष वैशाख देखि भाद्र महिनासम्म कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ । तर पनि असोज महिनासम्म पनि मानसरोवर जाने तीर्थाटनका पर्यटकहरुको चहलपहल देखिन्छ । मानसरोवरको यात्रा संसारका अरु स्थानको यात्रा गरेजस्तो सजिलो छैन । मानसरोवरको यात्रामा पर्यटकहरुलाई अक्सिजनको अभाव हुन पनि सक्दछ । आफूखुशी र जहिले मन लाग्यो तहिले यस यात्रामा जान सकिँदैन । तिब्बतको भौगोलिक बनावट, फरक खाना र भाषा शैलीका कारण ट्रेकिङ एजेन्सीमार्फत जादा सबै भन्दा सजिलो हुन्छ । तिब्बतीले आफ्नो भाषा मात्र बोल्ने हुदा ट्रेकिङ एजेन्सीमार्फत जादा भाषा र अन्यकुराको समेत सजिलो हुन्छ । तिब्बतमा खानेकुरा जहाँ पायो त्यहीं हुँदैन । खाना पाइएमा पनि आफूलाई चाहिने खाना तिब्बती भाषामै माग्नुपर्ने हुन्छ ।

मानवसरोवर ताल केवल प्राकृतिक ताल होइन, यो चेतना, आस्था र सभ्यताको स्रोत पनि हो । मानसरोवरको यात्रालाई मृत्युपछिको मोक्ष मार्गको सुरुवात पनि मानिन्छ । आजको आधुनिक युगमा पनि यसले अध्यात्मिक उर्जा र जीवनमा मार्गदर्शन दिने केन्द्रका रुपमा काम गरिरहेको छ । यात्रा कठिन भए पनि श्रद्धा, मनोबल र आध्यात्मिक लक्ष्यले गर्दा मानसरोवरको यात्रा धेरै पर्यटकहरुले गर्न खोज्दछन । नेपालबाट सिमकोट–हिल्सा मार्गबाट आजभोली भारत, भुटान, श्रीलंका र नेपालका हजारौं पर्यटकहरु यात्रा गर्छन । हिल्सा मार्ग नेपालका लागि धार्मिक पर्यटन र अन्तर्राष्ट्रिय धार्मिक कूटनीतिक सम्बन्धको ढोका हो । हिल्सा मार्गबाट तिब्बतको व्यापारिक केन्द्र ताक्लाकोटबाट मानसरोवरको यात्रा धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले रमणिय छ । हिमाली सौन्दर्य, आध्यात्मिक अनुभव र सांस्कृतिक सम्पदाको यात्रामा पर्यटकहरुले प्रकृति र भूगोलसँग पनि अध्यन अवलोकन गर्न सक्दछन । पर्यटकहरुलाई ताक्लाकोटदेखि मानसरोवरसम्मको यात्रामा देखिने प्राचीन गुम्बाहरुले यात्रालाई आत्म–अन्वेषणको रोमाञ्च अनुभूति हुन्छ । ताक्लाकोट र मानसरोवरको बिचमा पर्ने खोरचुक गाउँ एक महत्वपूर्ण विश्रामस्थल हो । यहाँबाट पहिलोपटक मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिन्छ ।

हिल्सादेखि ताक्लाकोटको दूरी करिव २५ किलोमिटर पर्दछ । ताक्लाकोट पुराङ तिब्बतको सानो व्यापारिक केन्द्र हो । नेपाली सवारी साधन हिल्साबाट अघि जान पाइदैन । चिनियाँ सवारी साधनले हिल्साबाट पर्यटकहरुलाई ताक्लाकोटसम्म पु¥याउँछन । सिमिकोट–हिल्सा यात्रामा हिमालसँगको अन्तरःसंवाद र प्रकृतिसँगको साक्षात्कार र हिमाली जीवनको ऐतिहासिक चित्र, सांस्कृतिक सम्पदाको जीवित सग्रहालय पर्यटकहरुले अनुभव गर्न सक्दछन । ताक्लाकोटदेखि मानसरोवर ताल करिव ५० किलोमिटरको दुरीमा पर्दछ । धेरै मानिसहरुले कैलाश मानसरोवरका बारेमा जिज्ञासा राख्दछन । तिब्बतमा पर्ने हिमाली क्षेत्र भएकाले कैलाश मानसरोवर यात्रालाई कठिन यात्राको रुपमा लिने गरिन्छ । मानसरोवर जानको लागि पर्यटकहरुले आफ्नो पासपोर्ट साथमा राख्नु पर्दछ ।
मानसरोवरको लामो यात्रा अवधिमा लेक लाग्नेदेखि बिरामी परिनेसम्मका जोखिम रहन्छन् । पदयात्राबाट जाने हो भने खाने–बस्ने र यात्राका लागि चाहिने खर्चसहित आवश्यक सरसामानको जोहो गर्नु पर्दछ । मानसरोवर यात्रामा बाक्ला ज्याकेट, टोपी, पञ्जा, ट्राउजर, मोजा, हाइनेक अनिवार्य चाहिन्छ । यस्तै, घामबाट जोगिने खालको शतप्रतिशत यूभी प्रोटेक्टिभ सन ग्लास, सन स्क्रिन, टेक्ने लठ्ठी, पानीको बोतल अनिवार्य लैजानुपर्छ । खानका लागि चकलेट, बदाम, काजु, किसमिस, भुटेको चना, केराउ, चिउरा, जौको सातु, चुइंगमलगायत लैजादा राम्रो हुन्छ । यात्रुले आफूले सेवन गरिराखेको नियमित औषधी लैजान भुल्नु हुँदैन । त्यसबाहेक टाउको दुख्दा खाने, पखाला लाग्दा खाने, दुखाई कम गर्ने औषधी साथमा बोक्न बिर्सनु हुँदैन । झण्डु बाम वा भिक्स लैजानु भए राम्रो हुन्छ ।

कसरी पुग्ने ?
आजभोली हुम्लामा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । बाँकेको जमुनियाबाट हिल्सासम्म कर्णाली करिडोरको दूरी ५१० किलोमिटर पर्दछ । सिमिकोट देखि हिल्सासम्म ९३ किमी पर्दछ । तर पनि सडक कच्ची छ । ठाँउ ठाँउमा कडा चट्टानका मोडहरु असजिलो छ । त्यसैले सबै भन्दा उत्तम बिकल्प भनेको हवाई मार्ग हुन्छ । पोखरा–ल्हासा हवाई मार्ग कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा सजिलो हुन्छ । मानसरोवर तिब्बतको ल्हासाबाट पश्चिम ९ सय ४० किलोमिटरको दुरीमा पर्दछ । अथवा हुम्लाको हिल्सा मार्ग ।

नेपालगञ्ज–सिमिकोट हवाई जहाजबाट यात्रा र सिमिकोटबाट हिल्सासम्म हेलिकोप्टर अथवा मोटरमा पनि जान सकिन्छ । अर्को मार्ग रसुवाको केरुङ मार्ग । खर्चका हिसाबले यो रुटबाट यात्रा गर्दा कम खर्चिलो हुन्छ । तर असार २४ गते आकस्मिक बाढीका कारण नेपाल–चीन जोडने भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै मानसरोवर पुग्न सकिन्छ । यो रुटबाट यात्रा गर्दा धेरै दिन लाग्छ । मुस्ताङको कोरला नाका पनि छ । तर यो नाका सन्चालनमा छैन । कोरला नाका पुग्न कालीगण्डकी करिडोरको यात्रा गर्नु पर्दछ ।

सम्बन्धित समाचार