मानिस मर्दा जलाउने गर्छ । मानिस जलाउन काठको कप्टेरो एकमाथि अर्को मिलाएर राख्छ । यस्तो मान्छे पोल्ने ठाउँलाई दिप अर्थात मशान भनिन्छ । यी मशानहरुमा पाागावासीको भाजंगलस्थित मशान अचम्मको छ । यो भाजंगाल भन्ने ठाउँ पाँगाको पूर्व, चोभारको पश्चिम, कीर्तिपुरको दक्षिण, इटागोलको उतरमा पर्छ । त्यो एउटा पीठ पनि हो । त्यस ठाउँको मूल देवता विष्णुदेवी सहित ३२ देवताहरु भएको मन्दिर हो । यो ठाउँ र पाँगा भन्ने ठाउँ काठमाडौंबाट ७ कि.मि.दक्षिणमा पर्छ । पाँगा भनेको नगाउँको पूर्व चोभारको पश्चिम, कीर्तिपुरको दक्षिण, मच्छेगाउँ र बोसिगाउँको उत्तरमा पर्ने नेवार गाउँ हो ।
मान्छे मर्दा पोल्ने ठाउँलाई दिप अथवा मशान भन्ने त सबैले बुझेकै कुरा हो । त्यसो भए तापनि यो दिपमा लाश जलाउने र अरु ठाउँमा जलाउने तरिका फरक छ । अरु ठाउँमा लाश जलाउन मानिसहरु बसेर लाश पोलेर खरानी बनाएर पानीमा बगाएर जानु पर्छ । यहाँ त्यसरी मलामी बसेर जलाईरहनु पर्दैन ।
यो भाजंगाल भन्ने अग्नीरुपिनी, शक्तिदायिनी माता विष्णुदेवीको इलाका हो । धार्मिक कथन अनुसार भगवान विष्णुले आफ्नो शक्तिको लागि सृष्टी गरेको भएर विष्णुदेवी भनेको हो । यो क्षेत्रमा अग्नि छ भनिन्छ । समय समयमा यहाँ दिपमा नीलो, सेतो आगो बल्ने गरेको धेरैले देखेको छ भनिन्छ ।
यो ठाउँमा पागाबासीहरुको ३ वटा दिप अर्थात मशान छन । एउटा महर्जन, श्रेष्ठ र खड्गीहरुको हो । पाँगावासीहरुको मान्छे मर्दा यहाँ ल्याएर जलाउन चित्ता बनाइन्छ । चित्ता बनाउँदा नौ कप्टेरा दाउरा भए पुग्छ । त्यसैले यो मशानको नाम नै नौ कप्टेरा भन्ने गरिन्छ ।
पाँगामा जात्रा चलाउन, लाश जलाउनेजस्तो सामाजिक काम गर्न गुठीको व्यवस्था छ । यहाँ ५ वटा गुठीहरु छन । महर्जनहरुको तःगु, चीगु र देय्गू भनेर ३ वटा, श्रेष्ठहरुको एउटा र खड्गीहरुको एउटा । यी गुठीहरुले लाश उठाउने, लाश जलाउने गर्छन् ।
पाँगामा कोही मानिस मर्यो भने कुन गुठीको गुठीयार हो, त्यो गुठीमा खबर गर्छ । गुठीका नाईकेहरुले गुठीयारहरुलाई खबर गर्छ । गुठीयारहरु मान्छे मरेको घरमा गएर लाश बाहिर ल्याउने, लाश बोक्ने खट बनाउने सबै काम गर्छन । लाश जलाउन चाहिने काठ, परालसमेत गुठीले व्यवस्था गरी दिन्छ । मशानमा दाउरा मिलाउँदा मानिसको उचाई बराबरको नौ कप्टेरा दाउरा उत्तर दक्षिण फर्काएर मिलाउँछ । त्यस दाउरा मिलाउनको लागि साना साना कप्टेराहरु पनि राख्छन । तीन तीन वटा दाउराको तिन तह मिलाएर राख्छ । मानिस मरेको घरको मानिसहरु सँगै गुठीयारहरुले लाश बोकेर बाजा गाजासहित मशान लैजान्छ । पहिले नायखिं बाजं, अनि काँ बाजा (इन्द्रबाजा) बजाउँछ । त्यसको पछाडि लाश अनि घरका मानिसहरु, आफन्तहरु अनि अन्तमा गुठीयारहरु भएर मलामी जान्छन ।
लाशलाई चित्तामा राखेपछि घरका मानिसहरुले पानी खुवाउने, श्रद्धाञ्जली दिने, अन्तिम दर्शन गरीसकेपछि दागबती दिएर फर्किन्छ । त्यसपछि गुठीयारहरुले आवश्यक अनुसार चित्ताको चारैतिर आगो सल्काइदिन्छ । आगो बलेपछि त्यस आगोलाई भिजेको परालले छोपिदिन्छ । आगोको मुस्लो बाहिर आउन पाउँदैन । केवल धुवाँ मात्र आइरहन्छ । यसरी सुरक्षितसाथ छोपेपछि गुठीयारहरु घर फर्किन्छ । मशानमा लाश छाडेर आएपछि घरमा आएर भात पकाएर खाए पनि हुन्छ ।
भोलिपल्ट विहान मरेका मान्छेको घरबाट पुजा सामान लिएर मशान जान्छन् । मशानमा लाश सबै जलेर खरानी भैसकेको हुन्छ । माथिको परालको खरानी विस्तारै हटाउँछ । हड्डीमात्र सेतो भइरहन्छ । खरानी पन्छाएर हड्डी जम्मा गर्छ । अनि मानिसको शरीरजस्तै भातको आकार बनाउँछ । पानी, जाँड, रक्सी, दूधको पालि राखेर पुजा गरेर बत्ती बालिन्छ । पुजा सकिएपछि अष्टधातु जम्मा गरेर खर्पनमा राखेर बागमतीमा सेलाउन लैजान्छ । त्यसलाई नौ चुइकेगु भनिन्छ । खर्पनमा राखेर लगेको अष्टधातु सेलाएर आएपछि खर्पनलाई पखालेर आफूहरुले पनि नुहाएर घर आउँछ ।
यसरी लाश पर्खिनु नपर्ने गरी जलाउने दिप भएर यसलाई अचम्मको दिप भनिन्छ ।
अर्जुन महर्जनको लेख पाँगा सालिक (कीर्तिपुर सन्देश पत्रिकाबाट साभार)