अमेरिका र चीनको खोप आएसँगै जापानले पनि नेपाललाई अस्ट्राजेनेका खोप पठाउने

जापानले बांग्लादेश, कम्बोडिया, इरान, लाओस, नेपाल, श्रीलंका लगायतका राष्ट्लाई एक करोड १० लाख डोज खोप जुलाईभित्रै पठाउने तयारी गरेको समाचार बेलायती समाचार संस्था रोयटर्सले प्रकाशित गरेको छ। जापानी विदेशमन्त्री तोसिमित्सु मोटेगीले पत्रकारसँग कुराकानी गर्दै खोप सहयोगको विषयमा बताएको रोयर्टसले जनाएको छ।

जापानले कोभ्यास पहलकदमीमार्फत नेपालसहितका देशलाई खोप अनुदानमा पठाउन लागेको हो। कुन परिमाणमा नेपाललाई खोप पठाउन लागेको हो भन्ने निक्र्योल भएको छैन। परराष्ट्र मन्त्रालयका एक अधिकारीले १० लाख डोजसम्म खोप नेपालले पाउनसक्ने बताए।

जापानबाट अस्ट्राजेनेका खोप उपलब्ध भएमा नेपालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएर बसेका करीब १४ लाख नागरिकमध्ये अधिकांशले दोस्रो डोज पनि पाउनेछन्। यसअघि चीन र भारतले सोझै तथा अमेरिकाले कोभ्यासमार्फत नेपाललाई खोप अनुदानमा दिएका छन्।

अमेरिकाले एक डोज लगाए पुग्ने १५ लाख ३४ हजार डोज खोप सोमबार नेपाल आइपुगेको छ। उत्तरी छिमेकी चीनले नेपाललाई १८ लाख डोज भेरोसेल खोप सोझै अनुदानमा दिएको छ।

त्यसैगरी, भारतले पनि नेपाललाई सोझै १० लाख डोज कोभिशिल्ड खोप सहयोग गरेको छ। अहिलेसम्म यी तीन देशबाहेक नेपाललाई कोभ्यास पलहकदमीमार्फत थप तीन लाख ३४ हजार डोज खोप अनुदानमा आएको छ। बेलायतले नेपाललाई कोभ्याक्स पहलकदमीमार्फत अगस्टसम्म खोप पठाउने सम्भावना छ।

अनुदानबाहेक नेपाल सरकारले अहिलेसम्म ६० लाख डोज खोप खरीद गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत ५ फागुनमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरीदका लागि सम्झौता गरेको थियो। तर, यसमध्ये आधा अर्थात् १० लाख डोज खोप अझै नेपाल आउन सकेको छैन।

चिनियाँ कम्पनी सिनोफार्मसँग पनि केही साताअघि नेपालले ४० लाख डोज खोप खरीदको सम्झौता गरेको थियो। ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ अर्थात् मूल्य नखुलाउने शर्तमा गरिएको यो खोप खरीद अन्तर्गत नेपालले चीनबाट खोप ल्याउन शुरु गरिसकेको छ। दुई साताभित्रै चीनसँग खरीद गरिएको खोप नेपाल आउने सरकारी अधिकारीहरुले बताउँदै आएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE