हिमाल हेर्न मार्दी ट्रेक, आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर

हातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला । हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीहरु हेर्नुको छुट्टै आनन्द । यस्तो अवसर मार्दी हिमाल पदयात्रा गर्नेलाई मात्र प्राप्त हुन्छ ।

एउटै यात्राबाट कुमारी माछापुच्छ्रेसहित मार्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

विभिन्न सङ्घसंस्था तथा समूहमा मिलेर पदयात्रा गर्नेको सङ्ख्यासमेत अहिले यहाँ उत्तिकै छ । दुई महिनाअघि यहीँ सम्पन्न भएको अल्ट्रा म्याराथनको विश्वकपले समेत यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको छ । सडक यातायातको अहिलेसम्म पहुँच पुग्न नसकेकाले समेत आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

कसरी जाने ?

हालसम्म आरोहण खुला नभएको कुमारी माछापुच्छ्रेसँगैको मार्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मार्दी हिमाल पदयात्रा मार्गका रूपमा विकास गरिएको छ । पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपयात्रामार्फत पुग्न सकिन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु प्वाइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मार्दी हिमाल आधार शिविर पुगिन्छ ।

भ्यू प्वाइन्टबाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । अधिकांश पर्यटक मर्र्दी हिमाल बेसक्याम्प पुगेर घलेल, क्यानोनिङ हुँदै चिया गाउँका रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् ।

पाँच/छ वर्षअघि यस मार्ग गुमनाम जस्तै थियो । पर्यटक देख्नसमेत मुस्किल पर्ने गरेकामा दुई/तीन वर्षयता आएर मुख्य याममा व्यवसायीलाई पर्यटक राख्न भ्याइ नभ्याई हुने गर्दछ भने अन्य समयमा समेत पर्यटकको आउजाउ बाक्लो छ । त्यसमा विदेशीसँगै नेपालीको सङ्ख्या पनि उत्तिकै छ । पर्यटक बढेसँगै पहिल्यै बुकिङ गरेर आउनेले बाहेक अन्यले मुख्य याममा पर्याप्त पूर्वाधार अभावमा दुःखसमेत पाउने गरेका छन् ।

पदयात्रामार्गको माछापुच्छ्रे गाउँपालिका–८ कालीमाटीमा पाँच वर्षअघिदेखि मर्र्दी हिमाल इको भिलेज सञ्चालन गर्दै पदयात्रा व्यवस्थापन समितिमा आबद्ध शिवप्रसाद भण्डारी दुई वर्षयता मुख्य याममा पर्यटकको भीड थामिनसक्ने हुने बताउँछन् । आफूले व्यवसाय सञ्चालन गर्दाको समयमा एक/दुई मात्र होटल तथा लज रहेकामा अहिले कालीमाटीमा नै एक दर्जनभन्दा बढी होटल, रेष्टुराँ तथा केही घरमा घरबाससमेत शुरु भएको छ । यसबाट पर्यटकलाई राख्नका लागि अब असुविधा नहुने उनी बताउँछन् ।

यसबाहेक पदयात्रामार्गका अन्य स्थानमा समेत नयाँ नयाँ होटल तथा रेष्टुराँ थपिने क्रममा रहेकाले पर्यटकलाई सहज हुने विश्वास लिइएको छ । ‘नयाँ रुट भए पनि अहिले यहाँ पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । विदेशीसँगसँगै स्वदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा पदयात्राका लागि आउने गरेका छन्,’ भण्डारीले भने ।

छोटो दूरीको पदयात्रा भएकाले समेत किशोरदेखि वृद्धवृद्धासम्मलाई यसले आकर्षित गरेको छ । छोटो अवधिमा नै पूरा गर्न सकिने भएकाले व्यस्त दैनिकी भएकालाई समेत यसले लोभ्याउने गरेको छ । कतिपय पर्यटक जिपमा कालीमाटीसम्म पुगेर हिमशृङ्खलाको दृश्यावलोकन गरी त्यहीँबाट फर्कने गर्दछन् ।

चक्रीय अन्नपूर्ण, घान्द्रुक, घोरेपानीलगायत चर्चित पदयात्रा मार्गमा अहिले सडक पुगेर पदयात्रीलाई असुविधा पुगिरहेको अवस्थामा मर्र्दी हिमाललाई टे«किङ रुटकै रुपमा विकास गरिनुपर्ने माग पर्यटन व्यवसायीको छ ।

विभिन्न ठाउँको पदयात्रामार्गलाई मोटरबाटोले ध्वस्त बनाएको अवस्थामा यस मार्गलाई सडक पहुँचबाट टाढा नै राखेर पदयात्रामार्गकै रूपमा विकास गर्दै पर्यटकलाई रमाउने वातावरण तयार पार्नुपर्ने ट्रेकिङ एजेन्टस एशोसिएशन नेपाल(टान) पश्चिमाञ्चल च्याप्टर पोखराका सचिव जीवनराज सापकोटा बताउँछन् । छ रात सात दिनको प्याकेजमा व्यवसायीले पर्यटकलाई पदयात्रा गराउँदै आएको जनाउँदै छोटो दूरीको यस पदयात्रामार्गमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेको खण्डमा पर्यटनमा राम्रो सम्भावना रहेको उनी बताउँछन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा पर्यटक आवागमन बढाउनसमेत यसले भूमिका खेल्ने भएकाले राज्यका निकायबीचको समन्वयबाट यसको सुन्दरतालाई नबिग्रने गरी पर्यटकीय पूर्वाधार बनाइनुपर्ने सापकोटाको माग छ ।

‘अव्यवस्थित रुपमा बनिरहेका होटल तथा बढ्दो प्रदूषणले भविष्यमा यहाँ समस्या निम्त्याउने निश्चित छ । स्थानीय सरकार वा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कसले नियमन गर्ने हो त्यसमा अहिल्यै स्पष्ट भएर यसको सुन्दरतालाई जोगाउने गरी दीर्घकालीन योजना बनाइनुपर्दछ.’ सापकोटाको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE