बिहिबार , जेठ ३१, २०८१

घुम्ने नयाँ ठेगाना – यसपालि महाबू

image

जहाँजहाँ मानिस पुगेको छैनन्
पृथ्वीका ती चौटाहरू
सित्तै गएका छन् !
र, हिमाल पनि त्यसैले हो
पग्ली पग्लीकन
मानिसको धरिति डुल्न आउँछन् !! (वासु शशी, कवितांश)

प्रविधिसँगको ज्यादा लसपसका कारण पृथ्वीका धेरै चौटाहरू सित्तै खेर गएका छन् । प्रविधिको एउटा बैगुन, यसले हामीलाई प्रकृतिदेखि दूर गरिदियो । संसार जतिजति अगाडि बढ्दै जाँदो छ, घुम्ने संस्कार उतिउति पर सर्दो छ । जङ्गल जङ्गल घुम्दै फिर्दै सिकार खेल्ने, काँडे भ्याकुर, रिट्ठा कन्दमूलको खोजी गर्दै हिँड्नमा मजा मान्ने मान्छेको जातले आफ्नो सो प्राचीन बानी भुल्दै गइरहेको छ ।

हाम्रा सभ्यता, इतिहास, लोकपरम्पराहरूलाई नियाल्ने हो भने मानवले लामो यात्रा गरेको छ । अनेकन् ठाउँहरू खोजेको छ । अनेकन् रीतिथिति बसाएको छ । जन्म, मृत्यु, बिहे, व्यापार, लेनदेन, युद्ध लगायतका अनेकन् घटनाहरूले सामाजिक, आर्थिक रूपमा जेजस्तो प्रभाव पारेता पनि घुमघामको संस्कार स्थापित गराएको थियो । महात्मा, ऋषिमुनिहरूदेखि लेखक, अनुसन्धानकर्ताहरू विभिन्न बहानामा अनेकन् ठाउँ पुगिरहेका थिए/छन् । धर्मको बहानामा तीर्थ यात्राका लागि निस्कनेहरूको सङ्ख्या पनि बाक्लै छ । आज पनि घुमन्ते र सिकारी जीवनयापन गरिरहेको अल्पसङ्ख्यकहरू विश्वका अनेकन् ठाउँहरूमा भेटिरहन्छन् । यसहिसाबले  हामी मानव स्वभावैले घुमन्ते जाति हौँ ।

त्यसो भए घुम्ने जाने होइन त ?  आउनुहोस्, यसपालि महाबू लेक घुम्न जाऊ । 

समुन्द्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको महाबू लेक शिवजीको वासस्थान हो भन्ने जनआस्था छ । जनै पूर्णिमाका दिन महाबू लेकमा दर्शालुको भव्य मेला लाग्दछ । दर्शालुका लागि जनैपूर्णिमाको समय उपयुक्त भएपनि बाँकी समय प्रकृति प्रेमिका लागि उपयुक्त हुन्छ ।

कच्ची बाटो हुँदै दैलेख बजारदेखि तीन/चार घण्टामा हामी महाबू लेक पुग्न सक्छौँ । पुगिसकेपश्चात्, प्रकृतिको अनुपम सुन्दरता  हेर्दै हामी मुग्ध भइजान्छौँ ।

इतिहासको एक पाटो,

शाके ११३७ ताका दैलेख, भूर्तीगाउँका आचार्य ब्राह्मणका बोल्न नसक्ने छोरा चलु आचार्यले गाउँ भरिका भैँसी लगेर महाबू लेखमा बस्ने गर्थे । उनी एक्लैले त्यत्रो दूध खान नसक्ने हुनाले उनले बचेको काँचो दूध अहिले शिवलिङ्ग रहेको स्थानको ढुङ्गामा चढाउन (पोख्न) थालेछन् ।

यसरी लामो समयसम्म दूध चढाई रहँदा एक दिन ढुङ्गा फुटेर भगवान् शिवले दर्शन दिएछन् । शिवले प्रसन्न मुद्रामा चलु आचार्यलाई सोधे छन्  -” के वरदान माग्छौ माग ।”

बोल्न नसक्ने चलु आचार्यले आफ्नो जिब्रो समातेर उभिइरहे  । भगवान्  शिवले बुझै झैँ गरी भनिदिएछन् -” तेरो बोली पनि फुटोस् , वेद पनि फुटोस् । तर तैँले यो कुरा कसैलाई नभन्नु । यदि मैले दर्शन दिएको कुरा कसैलाई भनेको खण्डमा अनिष्ट हुनेछ ।”

त्यसपछि चलु आचार्य पण्डित भएर निस्किए तर उनले यो कुरा सबै देखि लुकाए तर ससुरालीदेखि लुकाउन सकेनन्  । ससुरालीलाई सत्य कुरा भन्नासाथ ‘उँधोउँभो’  भएर चलु आचार्यको मृत्यु भएको किम्बदन्ती अहिले पनि प्रचलित छ ।

Tags:

सम्बन्धित समाचार