शुक्रबार , मंग्सिर २३, २०७९

दाजुभाइ दिदीबहिनीको प्रेम झल्काउने सामा चकेवा पर्व सम्पन्न

द्वापर युगमा भगवान् श्रीकृष्णकी छोरी श्यामाले आफ्नो भाइ शाम्बको दीर्घायुको कामना गर्दै सामा चकेवा पर्व मनाइएको मान्यता रहेको छ ।

image

काठमाडौं  । मधेश प्रदेशमा हर्षोल्लासका साथ सामा चकेवा पर्व मनाइएको छ । मधेसमा प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि छठ पर्वको दिनबाट कार्तिक पूर्णिमाको मध्य रातिसम्म यो पर्व मनाउने गरिन्छ । दाजुभाइ दिदी बहिनीको प्रेमसँग सम्बन्धित सामा चकेवा पर्व सोमबार सकिएको हो ।

सामा चकेवामा ‘सामा खेल गेलिह हौ भैषा चखेवा ल्याई गेल चोर, हमर भैया जुगजुग जीवत भौजोक बढ्त अहिवात’ आदि गीत गाउँदै दिदी बहिनीले दाजुभाइको सुस्वास्थ्य तथा दीर्घायु कामना गर्ने गरेका छन् । माटोबाट बनाइएको सामा र चखेवा सतभैया, भमरा बृन्दावन र दही चिउरा बाँसको चँगेरीमा राखी टाउकोमाथि उठाएर दिदीबहिनीहरूले खोला तलाउको छेउमा राति अबेरसम्म गीत गाएर दाजुभाइलाई आशिष दिने गर्छन् ।

दाजुभाइ दिदीबहिनीबिचको प्रेम दर्शाउने पर्व सामा चकेवा मधेसका दिदीबहिनीले महत्त्वका साथ मनाउने गर्छन्। छठ पर्वबाटै तराईका घरघरमा साँझ पर्नासाथ बालिका, किशोरी, युवती, महिला, वृद्धाहरू समूहमा बसेर दाजुभाइ दिदीबहिनीसँग जोडिएको गीत गाउने गर्छन् ।

सामा, चकेवा, चुगलाको माटोको विभिन्न आकृतिको मूर्ति बनाउने, बनाउन नसकेकाहरूले बजारबाट किनेर ल्याएको मूर्ति ढक्कीमा राखेर दाजुभाइको दीर्घायुको कामना गर्ने चलन रहेको छ । द्वापर युगमा भगवान् श्रीकृष्णकी छोरी श्यामाले आफ्नो भाइ शाम्बको दीर्घायुको कामना गर्दै सामा चकेवा पर्व मनाइएको मान्यता रहेको छ ।

माटो, जुट, करजन्नी लगायतका स्थानीय उत्पादनबाट बनाएका प्रतिमालाई पूणिर्माको राति दाजुभाइले भाँचेर खेतमा, नदी पोखरीको डिलमा सेलाएर पर्व समापन गरिन्छ ।

Tags:

सम्बन्धित समाचार