मंगलबार , जेठ १६, २०८०

विदेशमा ठक्कर : स्वदेशमा अवसर

image

काठमाडौं । ढोरपाटन, कुँडुले फेँदी समथर भू–भाग, चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू, त्यही फाँटको मध्यभागमा सेताम्मे प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली देखिन्छ । यो तरकारी खेती त्यहाँका युवाले भने गरेका होइनन् । चार वर्षअघि पर्वत महाशिला गाउँपालिका–४ का प्रकाश पौडेल र जैमिनीका गोविन्दप्रसाद सुवेदीले सुरु गरेको तरकारी खेती हो । कुँडुलेका अधिकांश युवाशक्ति विदेशमा छन् । यहाँ खेतीयोग्य जमिनलाई पौडेल र सुवेदीले व्यावसायिक रूपमा प्रयोग गरेका छन् ।

युवा विदेश पलायन भएपछि कुँडुलेका गाउँघर उराठिलो बनेका छ । खेतीयोग्य जमिन वनमाराले ढाकेको छ । गाउँमा अहिले वृद्धवृद्धा, महिला र बालबालिका मात्रै छन् । पौडेल र सुवेदी ज्वाइँ–जेठान हुन् । पौडेललाई विदेशमा हण्डर खाएर फर्किएपछि व्यावसायिक तरकारी खेती गर्ने सोच आएको हो । तेत्तीस वर्षीय प्रकाशसँग तीन वर्ष अफगानिस्तान र तीन वर्ष मलेसियामा पसिना बगाएको अनुभव छ । गोविन्द भने अहिलेसम्म विदेश गएका छैनन् ।

पौडेलसँग विदेशमा भोगेको भोगाइको फेहरिस्त छ । विदेशमा २० घण्टासम्म कडा परिश्रम गर्दासमेत आफूले सोचेजस्तो कमाइ गर्न नसकेपछि स्वदेश फर्किएका पौडेललाई अहिले तरकारी खेतीबाट सन्तुष्टि मिलेको छ । चार वर्ष अघि ज्वाइँ–जेठानको संयुक्त लगानीबाट सुरु भएको तरकारी खेतीले अहिले खुसीसँगै आम्दानी पनि दिन थालेको छ । रु पाँच लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु ११ लाख बढी लगानी गरिसकेको पौडेलको भनाइ छ ।

कृषिसम्बन्धी तालिम लिएर व्यवसाय सुरु गरेका पौडेल र सुवेदीलाई सुरुआती चरणबाटै सफलता हात पर्न थालेको छ । परिवारसँगै पौडेल बिहानदेखि बेलुकासम्म बारीमै काम गर्छन् । तरकारीका बिच–बिचमा उम्रेका झारपात उखेल्नेदेखि भर्खर फल्न थालेका तरकारीलाई झाल हाल्ने र बारी खन्ने काम उनीहरूको दैनिकी हो । घर पर्वतमा भए पनि कुँडुलेमा जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका उनीहरूले जग्गा भाडा मात्रै वार्षिक करिब एक लाख तिर्ने गरेको बताए ।

ज्वाइँ–जेठानले ‘मुक्तिनाथ एकीकृत कृषि फार्म’ दर्ता गरी व्यवसाय अघि बढाएका छन् । व्यवसाय फस्टाउँदै गएपछि पौडेल र सुवेदीसँगै उनका परिवार पनि खुसी भएका छन् । पौडेल भन्छन्- “सुरुमा ठुलो पैसा कमाउने आशले विदेश गइयो । तर विदेशमा गरे जति दुःख, सङ्घर्ष गर्ने हो भने यहाँ पनि राम्रो कमाइ गर्न सकिन्छ । अहिले यहाँ त त्यसरी मरिमेटी काम गर्न परेको छैन, सीमित समय काम गरे पुग्छ । विदेशमा निकै दुःख गरियो । न बिरामी हुँदा उपचार, न भोक लाग्दा समयमै खाना । अहिले आफ्नै परिवारसँगै काम गर्दा रमाइलो लाग्छ ।”

पौडेललाई विदेशमा छ वर्ष बिताएकामा अहिले पश्चात्ताप लाग्छ । उनी स्वदेशमै व्यवसाय तथा अन्य काम गर्दा देश परिवर्तनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्छन् । विदेशमा बेच्ने श्रम आफ्नो गाउँ ठाउँमै गर्न सके समाज परिवर्तनसँगै आफ्नो परिवारको पनि जीविकोपार्जनमा सहजता आउने उनको भनाइ छ । व्यवसायलाई थप प्रवर्द्धन गर्नका लागि लगानी बढाइराखेको उनी बताउँछन् ।

कृषकका लागि धेरै अनुदान तथा कार्यक्रम आए पनि वास्तविक कृषकले नपाएको गोविन्द प्रसाद बताउँछन् । अहिलेसम्म कृषि ज्ञान केन्द्रले रु एक लाख ५० हजारको टनेलबाहेक सहयोग नभएको भन्दै नगरपालिकाबाट कुनै पनि सहयोग पाउन नसकेको गुनासो गर्छन् । कृषकलाई प्राविधिक, समय–समयमा तालिम, मल, उन्नत जातका बीउ बिजन र किटनाशक औषधि उपलब्ध गराउन सके जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने सुवेदीको भनाइ छ ।

“यहाँ कृषिमा ठुलो सम्भावना छ, अहिले हामीहरूले सा–सानो फार्म चलाएर पनि जीविकोपार्जन गरेका छौँ, खाडी मुलुकमा जानुपरेको छैन, साउदी, कतारमा कमाउने दाम यही पनि कमाइन्छ”, उनले भने, “तर राज्यले दिने सेवा सुविधा निर्वाहमुखी कृषकलाई र व्यावसायिक कृषक एउटै भएको छ, राज्यले व्यावसायिक कृषकलाई प्राथमिकता दिनुपर्छ, अहिले अनुदान पाउनेमा व्यावसायिक कृषकभन्दा बढी निर्वाहमुखी कृषक छन् ।”

सुवेदीले बाहिरबाट विषादी प्रयोग भएर आउने तरकारीले गर्दा आफूहरूले उत्पादन गरेका तरकारीले बजार नपाउने समस्या भएको बताए । बजार पाए पनि निकै कम मूल्यमा बेच्न बाध्य भएको उनकाे भनाइ छ ।

उनीहरूले आधुनिकतालाई पनि आत्मसात् गर्दै नयाँ प्रविधिबाट सिँचाइ र तरकारी खेतीको सुरुआत गरेका छन् । बारीमा आधुनिक प्रविधिको थोपा सिँचाइमार्फत तरकारीमा पानी लगाउने र मिनी टेलरमार्फत बारी खनजोत गर्दै आएका छन् । उनीहरूले मल, बीउलगायतका आवश्यक सामग्री बाहिरबाट लिएर तरकारीका बिरुवा आफैँ उत्पादन गर्ने गर्छन् ।

पौडेल र सुवेदीले आम्दानी गरेको अधिकांश रकम व्यवसायमै लगाउँदै आएका छन् । लगानी गरेर पनि वार्षिक रु तीन लाखभन्दा बढी नाफा कमाउँदै आएको उनीहरूको भनाइ छ । व्यवसायलाई थप व्यवस्थित र ठुलो बनाउने योजनामा रहेका उनीहरूले आगामी वर्षमा अहिलेको भन्दा दोब्बर आम्दानी गर्ने गरी योजना बनाइरहेका छन् ।

विदेशमा हण्डर खाएर फर्किएका युवा बागलुङमा धेरै छन् तर, पौडेल र सुवेदी जसरी व्यवसाय कमैले मात्रै गरेका छन् । कृषि ज्ञान केन्द्र बागलुङमा हरेक वर्ष करोडौँको बजेट आउने गरेको छ । त्यो बजेटलाई कृषकसम्म सहज रूपमा पुर्‍याउने गरी काम गरिरहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । जिल्लामा पछिल्लो समय व्यावसायिक कृषिमा लाग्ने युवाहरू बढेको भन्दै उनीहरूलाई आधुनिकतासँगै जोड्न थालेको उनी बताउँछन् ।

“कृषकका हरेक समस्यालाई समाधान गर्दै जाने चरणमा छौँ, सबैका समस्या एकै पटक समाधान हुन सकेका छैनन्, अहिले जिल्लामा कृषकले उत्पादन गर्ने तरकारीहरूले उचित बजार र मूल्य पाउन नसकेको सत्य हो”, उनले भने, “जिल्लामा खपत भइरहेको छ, टाढा–टाढा पुर्‍याउनु परेको छैन, बाहिरबाट आउने तरकारीलाई रोक्न सक्ने हो भने यहाँका कृषकलाई ठुलो राहत मिल्छ ।”

 

रासस

सम्बन्धित समाचार