शुक्रबार , अषोज १४, २०७९

संसारको सबभन्दा स्वच्छ हावा भएको सहर, जहाँ जम्मा १२० जना बस्छन्

image

मेरा प्रत्येक श्वाससँगै वरपरको हावामा बाफका कणहरू हीराको धूलोजस्तै टल्किन्थे । चिसो छ, तर यो पर्वतीय भूभागमा वातावरण सफा छ । आर्क्टिक क्षेत्रको मरुभूमि नै हो यो । अत्यन्त सुक्खा तर चिसो श्वास मुख र नाकबाट बाहिरिन नपाउँदै बरफका ससाना चम्किला कणमा रूपान्तरित हुन्छ ।

आर्क्टिक महासागर छेउमा नर्वेका ससाना टापुहरू रहेको स्भाल्बारस्थित स्पिट्स्बर्गनको ब्रोगर्हाल्भोया प्रायःद्वीपमा अवस्थित ५५६ मिटर अग्लो जेपेलीन्फेलेट पर्वतको शिखरमुनि म उभिएकी छु । मेरो मुन्तिर नी अलेसन्ड नगर छ जहाँको जनसङ्ख्या जाडो याममा केबल ४५ र गर्मीयाममा १५० हुने गर्छ । संसारको सबैभन्दा उत्तरमा रहेको मानवको स्थायी बसोबास भएको ठाउँ हो यो – जुन उत्तरी ध्रुवबाट केवल १,२३१ किलोमिटर पर छ ।

एकातिर पर्वत छन् भने अर्कोतिर फियोर्ड वा जमिनको भित्री भूभागसम्म पसेको सागर छ । दृश्य अत्यन्त सुन्दर छ । सम्भवतः श्वास फेर्नका लागि यो पृथ्वीकै उत्तम स्थल हो – मानव गतिविधि नहुने आर्क्टिक क्षेत्रको यो वातावरण प्रदूषणका स्रोतभन्दा निकै पर छन् । यहाँको वायु संसारकै सबभन्दा स्वच्छमा पर्छ ।

यहाँ बसोबास गर्ने मानिस अधिकांश यही कारणले अनुसन्धान गर्न आउने वैज्ञानिकहरू हुन् । सन् १९८९ मा त्यहाँ जेपेलीन्फेलेट पर्वत क्षेत्रको ४७२ मिटर उचाइ भएको ठाउँमा प्रदूषण नाप्ने स्टेशन बनाइयो । अचेल जेपेलीन अब्जर्भेटरी भनिने उक्त स्टेशन जलवायु परिवर्तनका कारक हरितगृह ग्यासका स्तर नाप्ने महत्त्वपूर्ण अनुसन्धान निकाय भएको छ ।

बिस्तारै यहाँ पनि वायुको गुणस्तरमा परिवर्तन भएको छनक पाइएको छ। बेलाबखत युरोप तथा उत्तर अमेरिकाबाट बगेर आउने हावाले यहाँ पनि प्रदूषण ल्याउँछ ।

“जेपेलीन अब्जर्भेटरी प्रदूषणका स्रोतभन्दा निकै टाढा छ,” अब्जर्भेटरी तथा नर्वेजियन इन्स्टिट्यूट फर एअर रिसर्चका वरिष्ठ वैज्ञानिक ओभ हर्मान्सनले भने । “यदि तपाईँले यहाँ प्रदूषण भेट्नुभयो भने त्यो विश्वव्यापी भइसकेको बुझ्नुपर्छ । बदलिँदो वातावरणको अनुसन्धान गर्ने यो राम्रो थलो हो ।”

नी अलेसन्डमा हुने अनुसन्धान मानवजातिले वातावरणमा पारेको प्रभाव नाप्ने अन्तर्राष्ट्रिय प्रयासको महत्त्वपूर्ण पाटो हो । यहाँ गरिएका नापजाँचले “प्रदूषणको आधार रेखा पत्ता लगाउन सहयोग गर्नुका साथै समयक्रममा देखा परेको विश्वव्यापी प्रवृत्ति” स्पष्ट पार्छ ।

यस अब्जर्भेटरीमा रहेका सेन्सरहरूले हरितगृह ग्यासमात्र नभई सीएफसीजस्ता क्लोरिनेटेड ग्यास, हावामा तैरिने भारी धातुका कण, अर्ग्यानोफस्फेटजस्ता कीटनाशक विषादीका कण, तथा नाइट्रोजन अक्साइड, सल्फर डाईअक्साइड अनि कार्बनका कणजस्ता जैविक इन्धन बाल्दा निस्कने प्रदूषक कणहरू नाप्छन् ।

त्यहाँ सङ्कलित तथ्याङ्कलाई अन्यत्र भएका अन्तर्राष्ट्रिय सञ्जालका स्टेशनहरूले सङ्कलन गरेका तथ्याङ्कसँग तुलना गरेर विश्वव्यापी तस्बिर कोरिन्छ ।

यसले दिने तथ्याङ्कले वातावरणमा भइरहेका परिवर्तनबारे समयमै सावधान गराउन सक्छ ।

उदाहरणका लागि, सन् २००५ देखि जेपेलीन वरपरको हावामा बढ्दो परिमाणमा मीथेन ग्यास फेला पर्न थाले जुन सन् २०१९ आइपुग्दा उच्चतम तहमा पुग्यो । अहिले आएर मानव क्रियाकलापले उत्सर्जित मीथेन ग्यासको स्तरले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सीअसमा सीमित पार्ने प्रयास जोखिममा परेकोबारे चिन्ता बढेको छ ।

सन् २०११ मा जापानको फुकुशिमामा परमाणु ऊर्जा केन्द्रमा दुर्घटना भएको १० दिनपछि जेपेलीन क्षेत्रमा रेडिओन्यूक्लाइड्सका कण फेला परे । अर्थात् केही दिनभित्रै यस्ता रेडिओधर्मी कणहरू हजारौँ माइल परसम्म पुग्दा रहेछन् ।

सो क्षेत्रमा धेरै सङ्ख्यामा क्रूज पानीजहाज आउने गर्मी याममा त्यहाँको वातावरणमा सल्फेट अनि निकल र भनेडिअमजस्ता धातुका कण पनि बढेको जेपेलीनका अनुसन्धानकर्ताहरूले देखेका छन् ।

तर सधैँ समाचार खराब हुँदैन । उनीहरूले लीड तथा पारोजस्ता भारी धातुका कणहरू फेला पर्ने क्रम घट्दै गएको पनि पाएका छन् । फोहोर व्यवस्थापन तथा उद्योग सञ्चालनमा कडिकडाउ हुँदै गर्दा यस्तो भएको हुनसक्छ । त्यस्तै अर्ग्यानोफस्फेट भेटिने क्रम पनि घटेको छ ।

पछिल्लो समय अनुसन्धानकर्ताहरूले माइक्रोप्लास्टिक धेरै फेला पार्न थालेका छन् ।

“माइक्रोप्लास्टिकका निकै साना कण पनि हावामा धेरै परसम्म पुग्न सक्छन्,” नर्वेजियन इन्स्टिट्यूट फर एअर रिसर्चका वरिष्ठ अनुसन्धानकर्ता दोर्ते हर्ज्कले भने । “माइक्रोप्लास्टिक भनेको सम्पूर्ण रूपमा मानवसिर्जित हो । तिनमा सितिमिति नकुहिने पोलिमर तथा कैयौँ रसायनको संमिश्रण हुन्छ । त्यसले हामीलाई के चिन्ता भएको छ भने माइक्रोप्लास्टिकको माध्यमबाट विभिन्न रसायनका कण आर्क्टिक क्षेत्रसम्म पुगेर त्यहाँका पर्यावरणमा हानि पुर्‍याउन सक्छ ।”

संसारका अन्य भागबाट प्रदूषक कण आएर बेलाबेला यहाँको हावापानीमा मिसिए पनि यो क्षेत्र अझै पनि मानव क्रियाकलापका कारण वातावरणमा फैलिने धेरै प्रदूषणबाट जोगिएको छ । अन्य ठाउँ पनि छन् जहाँ हावापानी स्वच्छ छ – सन् २०२० मा अनुसन्धानकर्ताहरूले अस्ट्रेलियाको दक्षिणमा दक्षिणी सागरको माथि अति नै सफा हावा भेट्टाएका थिए । तर नी अलेसन्ड एउटा त्यस्तो दुर्लभ किसिमको ठाउँ हो जहाँ मानिस पुग्न र बस्न सक्छन् । हुन त त्यहाँको पहुँच विशेषगरी अनुसन्धान गर्ने वैज्ञानिकहरूमा सीमित पारिएको छ ।

अनौठो कुरा के हो भने यो ठाउँ पहिला यति स्वच्छ थिएन। सन् १९१६ र १९६२ को बीचमा यो ठाउँमा कोइलाखानी थियो । तर त्यहाँ भएको एक दुर्घटनामा २१ जना मजदुरको ज्यान गएपछि सहर खाली गराइयो र खानी बन्द भयो । अचेल यहाँबाट कोइला होइन तथ्याङ्क उत्खनन हुन्छ ।

यहँका बासिन्दा फ्रान्स, जर्मनी, ब्रिटेन, इटली, नर्वे, जापान, दक्षिण कोरिया र चीन आदि देशबाट आएका अनुसन्धानकर्ताहरू हुन् ।

सातामा जम्मा दुईवटा उडानबाट यो ठाउँ जोडिएको छ। लङ्यरबनदेखि स्भाल्बार आउन सानो विमानमा डरलाग्दो यात्रा गर्नुपर्छ ।

त्यहाँ करिब ३० वटा क्याबिनजस्ता घरहरू छन् जसका नाम विश्वका ठूलाठूला सहर वा देशबाट राखिएका छन्: एम्स्टर्ड्याम, लन्डन, मेक्सिको, इटली आदि ।

पहुँचका अन्य माध्यम भने सहज उपलब्ध छैन । यहाँ सबै मोबाइल फोन र वाईफाऐ बन्द गरिनुपर्छ । वातावरणमा एअरवेभ शान्त पार्न यो ठाउँलाई रेडिओमुक्त क्षेत्र बनाइएको छ । रेडिओ प्रसारण गर्ने कुनै पनि उपकरण चलाउनुपरेमा छुट्टै अनुमति लिनुपर्छ ।

यो ठाउँमा भयानक आँधीहुरी चल्छ । कोठा न्यानो बनाएर राखिन्छ तर हुरीका बेला चिसो हावा पस्छ ।

यहाँ बस्ने र काम गर्नेहरूका निम्ति मौसमले विभिन्न खतरा उत्पन्न गराउँछ । धेरैजसो यहाँको तापक्रम शून्य डिग्रीभन्दा कम हुन्छ । एक पटक जाडोमा यहाँको तापक्रम माइनस ३७.२ डिग्री सेल्सीअससम्म पुगेको थियो । उच्च तापक्रमको हकमा यो वर्षको मार्चमा ५.५ डिग्रीसम्म पुग्यो । यसअघिको रेकर्ड सन् १९७६ मा ५ डिग्रीको थियो ।

यहाँ रहनका निम्ति पीडा र कठिनाइ सहजै झेल्न सक्ने मानसिकता आवश्यक पर्छ । किनभने लामो अवधिको अँध्यारो वा निरन्तर सूर्यको प्रकाशजस्ता अवस्था सामना गर्न त्यति सहज हुँदैन । म एक पटक पुग्दा अँध्यारो ध्रुवीय रात्रियाम थियो जतिखेर महिनौँसम्म चौबीसै घण्टै अँध्यारो हुन्छ ।

यताउता गर्न पनि टर्च वा चन्द्रमाको प्रकाशको सहारा लिनुपर्थ्यो ।

तर यहि अँध्यारोका कारण सहरमाथिको आकाशमा नोर्दर्न लाइट्सका अद्भुत एवं भव्य दृश्य हेर्न सकिन्छ ।

यस्तो याममा घरबाहिर निस्किँदा अन्य खतरा पनि हुन्छ । स्भाल्बार पोलर बेअर अर्थात् ध्रुवीय भालुको प्राकृतिक वासस्थान पनि हो । ती हिमभालु मानव बसोबास भएका क्षेत्रमा घुमिरहन्छन् । त्यसैले त्यहाँको समुदायले एउटा नियम लगाएको छ – कसैले पनि घरको ढोकामा चुकुल नलगाउने । त्यसो गर्दा कुनै समय हिमभालु आएमा तत्काल कुनै घरमा छिरेर जोगिन सजिलो हुनसक्छ ।

जे होस् नी अलेसन्डका बासिन्दाहरूले हाम्रो बदलिँदो विश्वको चित्र स्पष्ट देखिरहेका छन् ।

तर अहिलेको लागि भने उनीहरूले स्वच्छ हावाको अमूल्य स्रोत प्रयोग गर्न पाइरहेकैमा सन्तोष मान्न सक्छन् ।

*एना फिलिपोभा आर्क्टिक क्षेत्रकी वातावरणीय फोटोग्राफर एवं पत्रकार हुन् । बीबीसी नेपाली

सम्बन्धित समाचार