सोमबार , फागुण १४, २०८०

सफल हाेला त १० वटा हिमाली सहर बनाउने सरकारको मास्टर-प्लान ?

सरकारले हिमाली क्षेत्रको संस्कृति, परम्परा झल्किने गरी हिमाली सहर विकास गर्ने गरी मास्टर-प्लान तयार गरेको छ ।

image

काठमाडाैं ।  हिमाली क्षेत्रबाट सहरी क्षेत्र, तराईतर्फ बसाइँसराइको प्रवृत्ति बढ्दै गएपछि सरकारले हिमाली क्षेत्रका मानिसहरूको बसाइँसराइ कम गरी त्यहीँ अड्याइराख्ने उद्देश्यले १० वटा हिमाली सहर बनाउने भएको छ ।

२०६८ सालको जनगणना अनुसार देशको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । त्यसमध्ये एक करोड ३३ लाख १८ हजार जनसंख्या तराईमा थियो । आधाभन्दा धेरै (५०.२७ प्रतिशत) जनसंख्या तराईमा मात्र भए पछि त्यति बेलै देखि पहाडी तथा हिमाली क्षेत्रमा नयाँ सहर विस्तार गर्ने सरकारको योजना थियो ।

सरकारले हिमाली क्षेत्रको संस्कृति, परम्परा झल्किने गरी हिमाली सहर विकास गर्ने गरी मास्टर-प्लान तयार गरेको छ ।जसमा सहरीकरण मार्फत् स्थानीय मौलिकतालाई जोगाउँदै त्यहाँको स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने विषय हिमाली सहरको गुरुयोजनामा समेटिएको छ ।

सरकारले लुक्ला (सोलुखुम्बु), स्याफ्रुँबेसी (रसुवा), जोमसोम (मुस्ताङ), सिमकोट (हुम्ला), मार्तडी (बाजुरा), फुङलिङ (ताप्लेजुङ), किमाथांका (संखुवासभा), चामे (मनाङ), दुनै (डोल्पा) र कोल्टी (बाजुरा) मा गरी १० नयाँ हिमाली सहर निर्माणका लागि मास्टर-प्लान तयार गरेको हो ।

उक्त याेजना सरकारले प्रदेश अनुसार सहर छनोट गरेको हो । प्रदेश नम्बर एकको सोलखुम्बु, संखुवासभा, ताप्लेजुङ जिल्लामा सहर निर्माण गरिनेछ । ती जिल्लाका पाँच वटा बस्तीहरू हिमाली सहरका रूपमा विकास गर्ने योजना छ । यी पाँचवटा वस्तीहरू समेट्ने गरी लुक्ला, किमाथांका, फुङलिङ नाम बाटै नयाँ सहर विकास गरिनेछ ।

बागमती प्रदेशमा सरकारले रसुवा जिल्लामा नयाँ सहर विकास गर्न लागेको हो । जिल्लाको स्याफ्रुँबेसीलाई हिमाली सहरको रूपमा विकास गरिनेछ । भने गण्डकी प्रदेशको मुस्ताङ र मनाङ जिल्ला छनोट भएका छन् । यी जिल्लाका जोमसोम र चामे सहरलाई हिमाली सहरका रूपमा विकास गरिने भएको हो ।

त्यस्तै, कर्णाली प्रदेशबाट हुम्ला र डोल्पा जिल्ला छनौट भएका छन् ।  यी दुई जिल्लाका सिमकोट र दुनैलाई नयाँ सहरमा विकास गरिनेछ । प्रदेश नम्बर सातको बाजुरा जिल्लाको मार्तडी र कोल्टी सहर छनौट भएका छन् ।

सरकारले २०७४ सालमै हिमाली क्षेत्रका पर्यटकीय स्थल लुक्ला, जोमसोम, सिमकोट, मार्तडी र स्याफ्रुँबेसीलाई नयाँ सहर विकास गर्ने घोषणा गरेको थियो । यी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवर्द्धन गर्ने र त्यहाँका मानिसहरूलाई त्यहीँ आकर्षित गर्ने सरकारको योजना थियो । आर्थिक वर्ष २०७९/८० मा पाँच वटा थप गरी कुल दस हिमाली सहर विकास गर्ने योजना सरकारले अघि सारेको हो ।

सरकारले यो वर्ष नयाँ सहर विकासका लागि ३ अर्ब बजेट छुट्याएको छ । जसबाट मध्यपहाडी लोकमार्ग अन्तर्गतका दस वटा सहरका लागि ७० प्रतिशत खर्च गर्ने तयारी छ । बाँकी ३० प्रतिशत अन्य सहर विकासका लागि खर्च गर्ने योजना छ ।

सम्बन्धित समाचार