शुक्रबार , अषोज १४, २०७९

कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्स घोषित, यी हुन् १० उत्कृष्ट एयरलाइन्सहरू

image

एजेन्सी । कतार एयरवेज सन् २०२२ को सबैभन्दा उत्कृष्ट एयरलाइन्स घोषित भएको छ । कोभिड महामारीका कारण सन् २०१९ पछि पहिलोपटक आयोजना गरिएको स्काईट्रयाक्स वर्ल्ड एयरलाइन्स अवार्ड २०२२ मा कतार एयरवेज उत्कृष्ट घोषित भएको हो ।

शुक्रबार लण्डनमा आयोजित कार्यक्रमबीच पुरस्कार वितरण गरिएको थियो । स्काईट्रयाक्स बेलायतमा रहेको एयरलाइन्स र एयरपोर्ट रिभ्यू र र्‍याङ्किङ साइट हो । विजेता घोषणा गर्नका लागि साइटले १ सय बढी देशका १.४ करोड यात्रुलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२२ अगस्टसम्म सर्वेक्षण गरेको थियो ।

सन् १९९९ देखि यो अवार्ड दिन सुरु गरेयता कतार यो अवार्ड ७ पटक जितिसकेको छ । शुक्रबार आयोजित कार्यक्रममा एयरवेजले उत्कृष्ट बिजनेस क्लास, उत्कृष्ट बिजनेस क्लास सिट र उत्कृष्ट बिजनेस क्लास लाउन्जको अवार्ड पनि हात पारेको थियो । दुई महिना अघिमात्र एयरलाइन्स रेटिङ डटकमले पनि कतार एयरवेजलाई नै उत्कृष्ट घोषणा गरेको थियो ।

दोस्रो स्थानमा रहेको सिंगापुर एयरलाइन्सले उत्कृष्ट क्याबिन स्टाफ, उत्कृष्ट फर्स्ट क्लास, उत्कृष्ट फर्स्ट क्लास सिट र उत्कृष्ट फर्स्ट क्लास केटरिङको अवार्ड हात पार्‍यो ।

यस्तो छ उत्कृष्ट १० एयरलाइन्सको सूची :
१. कतार एयरवेज
२. सिंगापुर एयरलाइन्स
३. एमिरेट्स
४. अल निपोन एयरवेज
५. क्वान्टास
६. जापान एयरलाइन्स
७. टर्किस एयरलाइन्स
८. एयर फ्रान्स
९. कोरियन एयर
१०. स्वीस इन्टरनेसनल एयरलाइन्स

सम्बन्धित समाचार