मंगलबार , साउन ८, २०८१

अंकित खड्का: सिन्धुपाल्चोकको डे- बसदेखि नाटकघरसम्मको यात्रा

माटोको भुईँमा बिस्तारा ओछ्याउनको लागी साप्ताहिक पत्रिका किनेको उनलाई अझै याद छ । त्यो समय जुन पत्रिकाहरूमा उनी सुत्थे, आज त्यही पत्रिकाहरूमा उनको फोटो आउँछ ।

image

आठ कक्षा पढ्दै गरेको एउटा अल्लारे केटो सिन्धुपाल्चोकबाट डे- बसको झ्यालपट्टिको सिटमा बसेर गाउँ छाड्दा उसका आँखा भरी खुल्ला निलो आकाश जति सपना थिए तर, बिदाइमा मलिन अँध्यारो भएका असारे बादलहरू उसलाई आफ्नै अनुहार जस्तै लागेको थियो । सापट कालो रङको सर्टमा छरिएका सेता थोप्ला जस्तै मनभरी आशाहरू थिए । त्यही सर्टको गोजीमा थियो, २५० रुपैयाँ ।

घर छाडेर काठमाडौँको धुलो टेक्दा १८ वर्षका अंकित खड्काको झोलामा केही जोर कपडा थिए, दिदीको ठेगान थियो र थियो- नायक बन्ने सपना । सरोज नाम गरेको स्कुलको साथीले रेडियोमा सुनेको भरमा अंकितलाई भनेको थियो,  ‘काठमाडौंमा नयाँ सिरियल सुटिङ हुँदै छ । नयाँ कलाकारहरूको माग पनि भइरहेको छ । उनीहरूले एक महिना अभिनय सिकाउँछन् र सिरियल पनि खेलाउँछन् ।’

यत्ति सुनेको भरमा राजधानी हान्निएका उनलाई थाहा थिएन, अभिनय सिक्न पैसा चाहिन्छ । अनि मात्र सिरियल खेल्न पाइन्छ। उनले पहिलोपटक बुझे, सपनाले लगानी पनि माग्दो रहेछ । उनको सपना बचाउन दिदीले झुम्का बन्धकी राखेर पाँच हजार दिइन् । उनले त्यही पैसा बुझाए । लगत्तै उनले अर्को कुरा पनि बुझे, सपनाहरूले हिँडाउँदो रहेछन् र, हिँड्नेहरूका खुट्टाहरूमा धुलो लागिरहँदो रहेछ ।

चलचित्र `अर्जुन´मा राजेश हमालका बुटहरूले उडाएको धुलोहरू देखेर नायक बन्ने निधो गरेका उनी धुलोको प्रवाह नगरी निरन्तर पन्ध्र दिन कमलविनायकदेखि कालिकास्थानसम्म र कालिकास्थानदेखि कमलविनायकसम्म हिँडे । समय कति गयो, ज्यान कति दुख्यो भन्दा महत्त्वपूर्ण कुरा हुन्थ्यो- गाडी भाडा कति बच्यो ? अझ, उनलाई सिरियल खेल्न यति हतारो थियो कि जस्तोसुकै कष्ट सहन पनि तयार थिए । तर, पन्ध्र दिनपछि सूचना आयो, ‘बाँकी पैसा नतिर्ने हो भने भोलिबाट अभिनय सिक्न नआउनू ।’

काठमाडौं छिरेको छोटो समयमै उनले अवसर र  दिदीको झुम्का गुमाए । जिन्दगीमा धेरै थोक गुमाइँदो रहेछ तर, गुमाउनै नहुने भनेको सपना र आशा रहेछ । पन्ध्र दिनको सिकाइका दौरान उनले आफूलाई अरूभन्दा लगनशील र अब्बल साबित गरेका थिए । यहीकारण उनलाई लाग्यो कि ‘सिरियलमा मौका पक्कै पाउँछु ।’ तर, त्यस्तो भएन ।

सिरियल सुटिङ भयो । उनलाई कसैले सम्झिएनन् । त्यहीँ प्रशिक्षण लिने क्रममै धेरैले आफ्नो समूह बनाएर एकअर्कालाई सहयोग गर्नेदेखि सिफारिस गर्नेसम्म गर्न थाले तर, उनी कुनै समूहमा अटाएनन् । धेरै समय एक्लैएक्लै तनावमै बित्यो । तर, पनि उनले घर फर्कने सजिलो बाटो रोजेनन् । गुजाराको निम्ति एउटा टोलको सुरक्षा गर्ने गार्डको काम गर्न थाले । तर, हरेक पल हिरो बन्ने सपनाले चिमोट्न थाल्यो, चिमोटिरह्यो । सजिलो बाटो हिँडेर खुसी कहाँ भेटिन्छ र ? उनले जागिर छोडे । भक्तपुर छोडे ।

कालीमाटीमा बस्दै गर्दा एउटा अवसर उनको भागमा पर्‍यो, ‘पालेदाई’ फिल्मको कोरसमा नाच्ने । त्यो पनि  राजेश हमालको साथमा । कोरसमा सबैभन्दा पछाडि उभिएर धुलो उडाउँदै उनी तीन दिनसम्म मस्तले नाचे । धित मरुन्जेल चाउचाउको झोल खाए । तर, न पैसा पाए, न हमालको छेउ पर्न पाए । बस् ! हमालसँग दश हात पर बसेर खिचेको फोटो धुलाएर  पर्समा राखे ।

त्यसपछि शङ्कर बिसी सँग डान्स सिक्न थाले । डान्स सिक्ने बाहेक बचेको समय कालीमाटीमा हार्डवेयर पसलमा काम गर्थे खड्का । त्यही पैसा जोगाएर दिदीको बन्धकी राखेको झुम्का उकासी दिए । बदलामा फि बुझाउन नसक्दा डान्स कक्षाबाट निकालिए । डान्स सिक्ने दौरानमै अंकितले सुने- ‘बागबजारमा बस्यो भने नोटिस भइन्छ अनि  हिरो हुन पाइन्छ ।’ करिब करिब दुई चार वर्ष उनी नियमित जिम गरेको खँदिलो ज्यान र  लामो कपाल लिएर श्रेष्ठ टेलरिङ अगाडि उभिए तर अहँ, उनलाई कसैले पत्याएनन् । तब अंकितलाई थाहा भयो, ‘पैसा नहाली हिरो बनाउँदैनन् ।’

यसपश्चात्, उनले बागबजार छाडे र जोडिए लोकगीत र म्युजिक भिडियो बनाउने चौतारी भिजनसँग । मौका पाउने आसमा अफिस धाउन थालेका उनले बिहानै अफिस खोल्ने, झाडु लगाउनेदेखि साँझ अफिस बन्द गर्नेसम्म गरे । तर उनी सुटिङमा समेत जान पाएनन् । केही समयपछि लोकगीतको कोरसमा नाच्न पाए, एउटा विज्ञापनमा झुलुक्क देखिन पाए । त्यो पनि पारिश्रमिक बिना ।

 

**
काठमाडौं जति चमत्कारी र चमकदार छ, त्यति नै  कष्टकर पनि छ । कालीमाटीमा आफन्तकोमा बस्दा उनलाई अप्ठ्यारो लाग्न थाल्यो । कमाइ बिना अरूकोमा बस्दा आफू बोझमा रूपान्तर भए जस्तो लागेपछि उनले डान्स सिक्दा चिनेको एउटा साथीलाई आफ्नो समस्या सुनाए । साथीले केही समय आफ्नैमा बस्न भने र उनी त्यही साथीको बस्न थाले । साथीसँग बस्दा केही दिन त सहज महसुस भए पनि बिस्तारै परिस्थिति र वातावरण असहज लाग्न थाल्यो । त्यहाँ उनको साथीको अर्को साथी पनि बस्ने रहेछन् । एकदिन त्यो अर्को साथीले कोठाको चाबी आफूसँगै लिएर गएछ । त्यो दिन उनी बाहिरै बस्न बाध्य भए । त्यस घटनाले उनलाई हन्ट गर्‍यो । त्यसपछि उनले हिम्मत गरे, काठमाडौंमा एक्लै कोठा लिएर बस्ने । मान्छे भए पछि हलुङ्गो हुनुपर्छ, उमङ्गले हावामै तैरिन सक्ने !

माटोको भुईँमा बिस्तारा ओछ्याउनको लागी साप्ताहिक पत्रिका किनेको उनलाई अझै याद छ । त्यो समय जुन पत्रिकाहरूमा उनी सुत्थे, आज त्यही पत्रिकाहरूमा उनको फोटो आउँछ ।

उनी घट्टेकुलोमा एकजना हजुरआमाको घरमा आफ्नै कोठा लिएर बस्न थाले । माटोको घर थियो, बाह्र सय रुपैयाँ भाँडा तर, उनीसँग एडभान्स छोड्ने पैसासम्म थिएन । साथीसँग मागेर उनले एडभान्स दिए । उहीँ साथीसँग पाँच हजार मागेर उनले केही सामानहरू किने, कुकर, स्टोभ आदि । रत्नपार्कमा गएर सस्तोमा सिरक डसना र तन्नाहरू लिए । आफ्नै कोठामा उनले पहिलेपटक खाएको मिनि कोक र वाइवाइको स्वादको आनन्द उनी केहीले बिर्सन सक्दैनन् । खाना त भयो, सुत्नको लागि खाट थिएन ।

माटोको भुईँमा बिस्तारा ओछ्याउनको लागी साप्ताहिक पत्रिका किनेको उनलाई अझै याद छ । त्यो समय जुन पत्रिकाहरूमा उनी सुत्थे, आज त्यही पत्रिकाहरूमा उनको फोटो आउँछ । उनी जिन्दगीमा गुनासो गर्नुपर्ने ठाउँहरू कतै देख्दैनन् । सामान्य ठाउँबाट लोकदोहोरी सुनेर यहाँसम्म आइपुगेको उनलाई फिल्म भन्नेसम्म थाहा थिएन । अहिलेका टाइमलाइनका आर्टिस्टहरूसँग काम गरिरहँदा, लेखकहरूसँग बसेर चिया पिइरहँदा उनी त्यसलाई ठुलो उपलब्धि मान्छन् ।

भारतमा जन्मेर करिब आठ वर्षको उमेरमा सिन्धुपाल्चोक आउँदासम्म उनी स्कुल जान पाएका थिएनन् । स्कुलमा भर्ना हुँदा उनी आफ्नो कक्षामा सबैभन्दा ठुला थिए । शरीर ठुलो भएकै कारण कक्षामा मनिटर, ग्रुप लिडर अन्य कार्यक्रमहरूमा लिड गर्न पाउँथे । स्कुलमा पढ्दा आफैँले कथा लेख्थे, आफू खेल्थे, साथीहरूलाई पनि खेलाउँथे । त्यो कथामा केही न केही सन्देश हुन्थ्यो । त्यसलाई नाटक भनिने रहेछ भनेर उनले धेरैपछि मात्र थाहा पाए ।

कलाकारिता र पढाई मध्य उनीसँग केवल एउटा विकल्प थियो । उनले के रोजे त्यो भनिरहनु नपर्ला ! उनलाई लाग्छ, ‘हरेक बिहान मान्छेको निम्ति एउटा चुनौती हो, र हो एउटा अवसर ।’

फर्किएर आफ्नो जिन्दगीलाई हेर्दा आफैँप्रति दया लागेर आउँछ । आँखाहरू रसाउँछन् उनका । मायाले आफ्नै अँगालोमा आफैँलाई सुरक्षित राखौँ झैँ हुन्छ । सहरको उज्यालोमा हाँसिरहेको अंकितलाई देख्दा कसैले सोच्नसम्म सक्दैन कि कुनै समय उनी कालीमाटीको तरकारी बजारमा, वीर अस्पतालको बिरामी कुरुवा सुत्ने कुर्सीहरूमा, भुईँमा अथवा चिनेको मान्छेको बसको सिटमा सुत्थे । हुन पनि फ्याकेको कुरा खानु, सडकमा सुत्नु कुनै चानचुन कुरा होइन । भोको पेटमा पनि हाँस्न सक्नु पनि ठुलो कुरा हो । जिन्दगीका यावत असजिला घुम्तीहरूबिच घरबाट फोन आउँदा उनी सधैँ झुट बोल्थे । आमासँग धेरै नजिक भएको कारण पनि उनलाई थाहा थियो, घरको स्थिति ।

पठाउनु पर्ने उमेरमा घरबाट माग्ने हिम्मत गरेनन् । त्यो समय गाउँमा मासु भन्ने कुरा निकै ठुलो कुरा थियो । गाउँमा मासु काटेको बेला घरबाट प्राय फोन आउँथ्यो तर, उनी झुट बोल्थे,  ‘मासु बिना  यहाँ भात नै खादिनँ’  भनेर । वास्तविकता फरक थियो, उनी भोको पेट रात बिताइरहेका हुन्थे ।

मण्डलाको यात्रा

म्युजिक भिडियोहरूमा आक्कलझुक्कल देखिएका अङ्कितलाई साथी आयानले मण्डला आउन कर गरिरहेका थिए । एकदिन आयनसँगै मण्डला आएपछि उनले थाहा पाए कि अभिनय पनि पढ्न पाइने रहेछ । उनलाई लाग्छ, ‘मण्डला नआएको भए उनी लोकगीतहरूमै नाचिरहेका हुने थिए ।’

मण्डला आउनुको खास कारण उनको आवाज र अनुहार हो किनकि त्यो समय भर्खरै लुट फिल्म चलेको थियो । ‘सौगात दाइलाई त्यो फिल्ममा देखेपछि हिरो भनेको क्युट मात्रै हुन नपर्ने रहेछ भन्ने फिल भयो’, उनी भन्छन् । उनलाई लाग्यो, ‘नाटकमा छिरियो भने हिरो हुन सकिने रहेछ ।’

उसो त मण्डला जाने बेला अंकित आफूलाई ‘खतरै हिरो हुँ’ भन्ठान्थे । ‘तर, दुईचार दिन सुनिल पोखरेको कक्षा लिन थालेपछि आफ्नो असली अवस्था थाहा पाएँ । हिरो हुँ भन्ने घमन्ड त्यही सकियो’ उनी भन्छन् । सुनिलसँग नाटक गर्दै गएपछि उनले बुझेको कुरा थियो, ‘हरेक क्यारेक्टर हिरो हो ।’ यसप्रकार थिएटरले उनलाई ‘डाउन टू अर्थ’ हुन सिकायो ।

 

अंकितले अभिनय गरेको पहिलो नाटक हो, ‘जार’ । नाटक गर्दा सबैको लागि रोल फिक्स भइसकेको थियो । तर, उनले कुनै भूमिका पाएका थिएनन् । सुनिल पोखरेलले फेरि रिकास्ट गर्दा सबैलाई सर्कलमा राखे र अंकितलाई ‘तँ रुद्रमानको क्यारेक्टर गर्’ भने । सोधे- ‘तँ कपाल काट्न सक्छस् ?’
उनी नाटक गर्न जुन हदसम्म पनि जान तयार थिए । उनले ‘हुन्छ’ भने ।

अङ्कितलाई एकहप्ता अघिसम्म आफूलाई रोल नदेको रिस पनि थियो । यसपटक घरमा गएर जब स्क्रिप्ट पढे,  उनले थाहा पाए, रुद्रमान त मेन क्यारेक्टर रहेछ ।

नाटकको फस्ट सो पछि सुनिलले सबैलाई गाली गरेर निस्किए, तनावको माहौल भयो । अंकितलाई पनि ‘तँ जे सुकै गर्, तेरै हातमा छ । मैले गर्नु जति गरिसके’ भनेर सुनिल हिँडे ।

अंकित चेन्जिङ रुममा गएर रोएँ, किन रोए उनलाई थाहा छैन । बाहिर दर्शकहरू रुद्रमानलाई पर्खिरहेको छन् भन्ने खबर आयो । उनलाई अचम्म लाग्यो । भर्‍याङबाट तल झर्दा मान्छे नै  मान्छे थिए । उनले त्यस्तो भिड टिभीमा साहरुख खानको मात्रै देखेको थिए । साहरुख खान आउँछ, हात हल्लाउँछ । मान्छेहरू हात हल्लाउँछन्, फोटो खिच्छन् । त्यही सेम अवस्था रुद्रमानको भएको थियो । उनले त्यही भिडमा सुनिल सर, सोमनाथ दाइ, राजन दाइ सबैलाई देखे । मान्छेहरू उनीसँग फोटो खिचिरहेका थिए । त्यो दिन उनलाई लागि एकैपटक खुसी र अप्ठ्यारो दुवै महसुस भएको दिन थियो । अब त्यही दिन आउँछ/आउँदैन थाहा छैन तर, हरेक दिन अंकित आफूलाई पात्रमा बसेर दर्शकसामु पुगिरहे । एक हप्तापछि आउँदा सुनिल पोखरेल खुसी देखिए ।

**

नाटक ‘जार ´बाट सुरुवात गरेका अंकितले पछिल्लो नाटक मीतज्यू´सम्म आइपुग्दा हरेक पटक आफूलाई फरक र अब्बल साबित गरिरहेका छन् । `युमा´ `वैतरणी क्याफे´, `माथा पन्चर´,` सलेदो´मैनदानी आदि दर्जन बढी नाटकमा अभिनयको रङ छरिसकेका उनी अभिनय बाहेक मण्डलाका अन्य नाटकहरूमा समेत  सेट डिजाइन, लाइटिङ साउण्ड लगायत कतै न कतैबाट काम गरिरहेका हुन्छन्।

`घामपानी´, `चङ्गा´`, गोपी´,`डमरुको डन्डिबियो´, `हुर्रे´ लगायतका चलचित्रमा महत्त्वपूर्ण पात्रका रूपमा अभिनय गरिसकेका अंकित निकट भविष्यमा थप नयाँ चलचित्रहरू देखिनेछन् । आफ्नो शैली र कला कौशलले दर्शकलाई लोभ्याउने छन् । कला क्षेत्रको फराकिलो क्यानभासमा बिस्तारै  एउटा सुन्दर र अर्थपूर्ण रेखा बनेर आकारहरू निर्माण गर्दैछन् उनी ।

अंकित नाम आज एउटा उदाहरण हो, जो भन्छ, ‘धुलोमै टेकेर देखेका सपनाहरूले हो, मान्छेलाई उडिजाने धुलोको कण भन्दा फरक र महत्त्वपूर्ण बनाउने।’

 

Tags:

सम्बन्धित समाचार