बिहिबार , फागुण १७, २०८०

बडीमालिका: स्वर्गको एक टुक्रा

बाजुरा सदरमुकाम मार्तडीबाट सुरु हुन्छ, बडीमालिकाको पद यात्रा । कोदो, कागुनो र मार्सी झुलेका कान्लाहरू कटेपछि बाँझ, फलाँट, खस्रु, भिड्या, गुराँस र ठिन्क्याको घना जंगल छिचोल्दै उकालो लागेपछि पुगिन्छ, फूल चढाउन पाटन  । अनि देखिन थाल्छन्, अलौकिक र विशेष दृश्यहरू ।

image

बाजुरा सदरमुकाम मार्तडीबाट सुरु हुन्छ, बडीमालिकाको पद यात्रा । कोदो, कागुनो र मार्सी झुलेका कान्लाहरू कटेपछि बाँझ, फलाँट, खस्रु, भिड्या, गुराँस र ठिन्क्याको घना जंगल छिचोल्दै उकालो लागेपछि पुगिन्छ, फूल चढाउन पाटन । अनि देखिन थाल्छन्, अलौकिक र विशेष दृश्यहरू ।

बुकीघाँसको हरियो तन्नाले ढाकिएका मैदान (पाटन) हरूमा सयौं रंगीचंगी फूल । कतै हरियालीमा फूलको रंगीचंगीले पाटन नै राता र पहेंला भएका छन् । कुनै पाटनमा सिपालु चित्रकारले सिर्जना खन्याएर कोरेका चित्रजस्तै हरियाली र फूलबुट्टाको सुन्दर संयोजन चित्ताकर्षक देखिन्छ ।

अलौकिक सुन्दरताले भरिएका विशाल पाटनमा चरिरहेका भेंडाहरू, लडीबुडी खेल्दै रमाइरहेका घोडाहरू, भैंसीका घाँटीमा झुन्डाइएका घाँडाँ (घण्टी) को र्‍यााईंर्‍याईं आवाजले यहाँको धर्तीलाई मधुमय बनाइरहेको भान हुन्छ । कतै छङछङ गर्दै बगेका छहराको संगीत, कतै दोभान र त्रिवेणीमा मिल्न हतार–हतार ओरालो झर्दै गरेका दूधजस्तै खोला–नदीको मधुर सुसाहट । अनि चुलेसीको धारजस्तै देखिने भीरमा कमिलाको ताँतीजस्तै हिँडिरहेका श्रद्धालुहरूको लस्कर । जता हेर्‍यो, उतै आँखा टाँसिने दृश्यले बडीमालिका पुग्ने जोकोहीलाई स्वर्गीय आनन्दको अनुभूति हुन्छ ।

यात्राका दौरान फूल चढाउन पाटन, सोतापाटन, घोडापाटन भिती छिर्ना, त्रिवेणी, लौरी विनाई हुँदै बडीमालिका मन्दिर पुगिन्छ । जुन समुद्री सतहदेखि ४ हजार २ मिटरको उचाइमा छ । जनैपूर्णिमाको त्रयोदशीका राति बडीमालिकामा बास बसेर चतुर्दशीको बिहानै यहाँ पूजा गरिन्छ ।

बडीमालिकामा पूजा सकेर फिरफिरेको डाँडो हुँदै विष्णुपानी, चङखेली, लिस्ने गौडी, बूढीमाईको स्थान हुँदै धर्मघर, बल्ले ढिकुरा, ठूलागडा, धौलपुरी दहबाट एकै दिनमा त्रिवेणी नगरपालिकास्थित प्रसिद्ध धार्मिकस्थल नाट्येश्वरी मन्दिर पुगिन्छ । चतुर्दशीको साँझदेखि जनैपूर्णिमाको दिनसम्म यहाँ भव्य मेला लाग्छ । यात्राका क्रममा क्षणक्षणमा परिवर्तन भैरहने मौसम । घाम र कुहिरोको रोमाञ्चक लुकामारी अनि आफू हिँडिरहेको ठाउँभन्दा निकै तल उडिरहेको बादलले धार्मिक चलचित्रहरूमा देखिने स्वर्ग यही होकि भन्ने अनुभूति हुन्छ । बिहानी घामको लालिमा छरिँदा हरिया पाटनहरू स्वर्णिम रंगमा बदलिएको दृश्य उस्तै मनमोहक हुन्छ । उसो त बाजुरामा बडीमालिका क्षेत्रको वर्णन गर्ने एउटा देउडा गीत निकै प्रचलित छ ।

‘नन्दा घर नन्दादेवी कोटघर कालिका, बाजुरा वैकुण्ठ रैछ धन्य हो मालिका’ ।

कसरी पुग्ने ?

बडीमालिका क्षेत्र ठूलो र फराकिलो छ । यो बाजुरा, अछाम र कालीकोट जिल्लाको संगमस्थलमा पर्छ । प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बडीमालिका क्षेत्र जुनसुकै सिजनमा घुमघाम गर्न सकिन्छ । वर्षामा घुम्दा हरियाली पाटनहरूले मन्त्रमुग्ध पार्छन् । अक्टोबरपछि घुम्दा हिमशृंखलाहरूको दृश्यपान गर्न सकिन्छ । हिउँ पर्ने सिजनमा जाडो छल्न गाह्रो भएपनि हिउँसँग रमाइलो साट्न सकिन्छ । यहाँ खाने–बस्ने व्यवस्थित होटल छैनन् । यसकारण खानेकुरा, स्लिपिङ व्याग, टेन्ट, प्राथमिक उपचारको किटको व्यवस्था गरेर हिँड्नुपर्छ । खर्कहरूमा पनि खान–बस्नका लागि ‘एडजस्ट’ हुन सकिन्छ । तर मेलाको समयमा भने बाटोबाटोमा त्रिपाल टाँगेर अस्थायी होटलहरू चलाइएको हुन्छ । हजारौं दर्शनार्थीको घुइँचो लाग्ने हुँदा केही खानेकुरा आफैले व्यवस्था गरेर हिँड्नु उचित हुन्छ । काठमाडौंबाट बाजुराको मार्तडी हुँदै बडीमालिका पुगेर नाट्येश्वरी मन्दिर हुँदै काठमाडौं फिर्ता हुँदा करिब आठ दिन लाग्छ । यसमा काठमाडौं–धनगढी, धनगढी–काठमाडौं हवाईयात्रा पर्छन् । यति समयभित्र घुमघाम गर्दा घुमघामका लागि ‘ट्रेकिङ सुज’, झोला, स्टिकलगायत खानेकुरा र आठ दिन यात्रामा न्यूनतम ६५ हजारदेखि ७५ हजारसम्म प्रतिव्यक्ति खर्च हुन्छ । बसयात्रा गर्दा यति धेरै खर्च लाग्दैन तर त्यति नै मात्रामा समय बढी लाग्छ । बडीमालिका यात्राभर लठ्ठी वा ट्रेकिङ स्टिक भने अनिवार्य चाहिन्छ । किनभने त्रिवेणीधामदेखि बडीमालिका उक्लिँदा र नाट्येश्वरी झर्दासम्म एकदमै भिरालो, जोखिमपूर्णसाँघुरा बाटाहरू पर्छन् । चिप्लिने, लड्ने र ज्यानै जाने जोखिम हुँदा लठ्ठी वा ‘ट्रेकिङ स्टिक’ ले सहयोग गर्न सक्छन् । यसैगरी बडीमालिका जाँदा सकेसम्म ‘ट्रेकिङ सुज’ नै लगाएर जानु सुरक्षित हुन्छ ।

धार्मिक आस्थाको धरोहर 

पौराणिक कथानुसार महादेवकी पत्नी सतीदेवीले पिता दक्ष प्रजापतिको अग्निकुण्डमा प्राण त्याग गरेपछि पत्नी वियोगले विक्षिप्त बनेका महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्न थाले ।

स्कन्दपुराणको मानसखण्डमा वर्णन गरिएअनुसार महादेवले बोकेको सतीको शरीर नगलेपछि भगवान् विष्णुले झिँगाको उत्पत्ति गरी गल्ने बनाए । यसरी सतीदेवीका गलेका अङ्गहरू ठाउँ–ठाउँमा पतन हुँदै (झर्दै) खस्न थाले । जहाँ–जहाँ सतीका अङ्ग पतन भए त्यहाँ–त्यहाँ एक एकवटा शक्ति पीठ उत्पत्ति हुँदै गए । यसै क्रममा मल्लागिरि पर्वतमा सतीदेवीको बायाँ कुम पतन भयो । बायाँ कुम पतन भएको यो क्षेत्रमा शक्तिपीठ उत्पन्न भयो । यही मल्लागिरि शब्द अपभ्रंश हुँदै मल्लिका भनिन थालियो । यही मल्लिका अथवा मालिका देवी शक्ति स्वरूपले रहन थालिन् । कालान्तरमा यही ठाउँमा बडीमालिका मन्दिर स्थापना गरी पूजा गर्न थालियो ।

बडीमालिकासँग जोडिएका अन्य किंवदन्तीहरू पनि यस क्षेत्रमा प्रचलित छन् । अर्को किंवदन्तीअनुसार भगवतीले महिषासुरको बध गरेपछि कालीकोटको ‘द्वारेढुंगा’ भन्ने ठाउँमा विश्राम गरेकी थिइन् । पछि द्वारेढुंगामा दाउरा खोज्न गएका एकजना भोकाएका दलितले देवीसँग बहरको मासु र गहुँको रोटी मागे । देवीले त्यो दलितको मनोरथ पूरा गरिदिइन् । उनले पूरै बहरलाई एक्लै खान नसकी घरका मानिसहरूलाई पनि बोलाएछन् । घर टाढा भएकाले उनका परिवारका सदस्यले बोलाएको सुन्न सकेनन् ।

घरका मान्छेले वास्ता नगरेको ठानी उनले रिसको आवेगमा भगवतीलाई भने–‘हे परमेश्वरी , मेरा घरका सबै मान्छे मरून् ।’ त्यसपछि देवीले तथास्तु भनी वरदान दिइन् । पछि बहरको मासु लिएर घर जाँदा घरका सबै जहान मरेको देखेपछि देवीसँग रिसाएर उनीफेरि द्वारेढुंगा पुगे । देवी उनलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन् । देवी भागेको देखेर बहरको फिलाले देवीको घरमा हानेको र उक्त छाप अहिले पनि द्वारेढुंगामा देखिने स्थानिय बताउँछन् । त्यसपछि देवीले सधैका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पञ्चपुरी पाटन, मल्लपुरी पाटन हुँदै बडीमालिकामा गएर बसेको भनिन्छ । अहिले बडीमालिका जाने भक्तजनहरू पनि देवी हिँडेको त्यहीबाटो भएर जाने गरेका छन् ।

बडीमालिकाका बारेमा अरु पनि थुप्रै किंवदन्ती यहाँ सुन्न पाइन्छ । किंवदन्तीमा जुनसुकै कुराको चर्चागरिए पनि देवीको दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । बडीमालिकाको पूजा–आराधना गर्दा सन्तान नभएकालाई सन्तान, धन नहुनेलाई धन एवं सुख–शान्ति प्राप्त हुनुका साथै सबै किसिमका रोग निको हुने विश्वास छ ।

त्यहाँ अरु बेलामा भन्दा जनैपूर्णिमामा बढी भीड हुन्छ । यस वर्ष मेला भर्न नेपालका मात्र नभएर भारत कुमाउ, गडवाल र उत्तराखण्डबाट श्रद्धालु भक्तजन बडीमालिका पुग्ने गरेका छन् । बडीमालिकाको मेलामा आउनेहरूमध्ये आधाजसो विभिन्न वरदान माग्न र आधाजसो मनोकामना पूराभएपछि धन्यवाद दिनका लागि पुग्ने गरेका छन् । यहाँ ६–७ वर्षका बालबालिकादेखि ८५ वर्षसम्मका ज्येष्ठ नागरिक पनि आउँछन् ।

बडीमालिकाको पूजाका लागि जुम्ला, कालीकोट, डोटी, अछाम र बाजुराबाट प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीहरूको टोली पनि आउँछ । जुम्लाबाट डोलीसहितसरकारी टोली बडीमालिका पुग्छ भने डोटीको टोलीले पनि १४ दिन लगाएर यहाँ पुग्नुपर्ने चलन छ । डोटीको शैलेश्वरी मन्दिरबाट पेटारो (पूजा सामग्री) लिएर टोली सिलगढी बजारदेखि हिँडेर १४ दिनमा बडीमालिका पुग्छ ।

मेलामा कालीकोटको सरकारी टोली र जुम्ला चन्दननाथको टोली एकातिरबाट र अछाम, बाजुरा र डोटी जिल्लाको टोली अर्कोतिरबाट जाने चलन छ । डोटीबाट गएको टोली पहिलो दिन जिल्ला प्रशासन कार्यालयबाट शैलेश्वरी नाचन्थली हुँदै बडीमालिकाका लागि प्रस्थान गरीपूर्वीचौकी खिरसैनमा बास बस्छ । दोस्रो दिन पूर्वीचौकी गाउँपालिकाकै काडामाडौं मन्दिरमा पूजाआजा गर्ने, तेस्रो दिन अछाम बैधनाथ मन्दिरमा पूजाआजा गर्ने र बैधनाथ क्षेत्रमा फलेको धानको सिम्लासहितको कोसेली लग्ने, चौथोदिन अछामकै भरणी गाउँको मन्दिरमा पूजाआजा गर्ने, पाँचौं दिन अछाममै बिहान बिमकोटे राजालाई हँसाई ५२ रुपैयाँ नगद, नरिवल र जनै दिएर जाब्लामा बास बस्छ ।

यस्तै छैठौं दिन बाजुराको छतरामा बास बस्ने, सातौं दिनदेखि नवौं दिनसम्म छतरामै रहेर धामी बसाल्ने र सबैलाई पोकामा रहेको सामान दिई हँसाएर मात्रै जाने । साथमा दुई जना लिङ्गो बोक्ने मानिस लगेर जाने, दसौं दिन–खले टुप्पाबाट लिङ्गो काटी सोही ठाउँमा बास बस्ने, एघारौं दिन भित्तीछिर्ना भन्ने ठाउँमा बास बस्ने, बाह्रौं दिन त्रिवेणीमा बसी जुम्लाका मानिसहरूसँग सहमति गरी नरिवल, निगालोको लठ्ठी दिने र जुम्लाको टोलीले मिठाईं दिने चलन छ । तेह्रौं दिन बिहान बडीमालिकाको छत्रले संयुक्तरूपमा नुहाएर बडीमालिकातर्फ प्रस्थान गरी चौधौं दिन बडीमालिकामा पूजा गरी बाजुराको नाट्येश्वरी मन्दिरमा बोका र नरिवलको बली दिने गरिन्छ ।

सम्बन्धित समाचार