शुक्रबार , फागुण १८, २०८०

स्थानीयको जग्गा हडप्ने पालिकाको दाउ, बागलुङ बसपार्कमाथि प्रत्यक्ष असर

६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउने क्षमताको यस बागलुङ बसपार्क स्थानीयको बाँकी बचेको जग्गा फिर्ता गर्न पालिकाले कन्जुस्याइँ गर्दा झण्डै दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

image

काठमाडौँ । बढ्दो सहरीकरणका कारण बागलुङमा बजार विस्तार निरन्तर भइरहेको छ । बजार विस्तार भइरहँदा बजार क्षेत्रमा यातायातका साधनको चापसमेत दिनानुदिन बढ्दै गइरहेको छ ।

बागलुङ बजारसम्म कुश्मिसेरा, बुर्तिबाङ, बरेङ, गलकोट, बडिगाडलगायत ठाउँका सडकसमेत जोडिएपछि बागलुङ बजारले बसपार्कको आवश्यकता औँल्यायो । जिल्ला सदरमुकाम बागलुङ बजारमा आवश्यकताअनुसार झण्डै दुई वर्षअघि नै नयाँ बसपार्क बन्यो पनि । बागलुङ नगरपालिका–४ मा निर्मित उक्त आधुनिक बागलुङ बसपार्क आजसम्म सञ्चालनमा आउन भने सकेको छैन ।

अघिल्लो वर्षको असारमा निर्माण भएको बसपार्कसँगै सुविधासम्पन्न टर्मिनल भवनसमेत बनेको छ । तर, बागलुङ नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याउने स्पष्ट खाका बनाउन नसक्दा समस्या उत्पन्न भएको हो । उक्त बसपार्क सञ्चालनमा नआउँदा संरचनाहरू जीर्ण बन्दै गइरहेका छन् ।

बजार क्षेत्रमा सवारी चाप बढ्दो छ भने बढ्दो सवार चापका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । स्थानीयहरूले बसपार्क छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन माग गर्दै आए पनि सम्बन्धित निकाय गम्भीर देखिएको छैन । बसपार्क सञ्चालनमा आए दुर्घटनाको जोखिम कम हुनुका साथै बागलुङ बजारको सौन्दर्यसमेत बढ्ने देखिन्छ ।

जग्गादाता र बागलुङ नगरपालिकाबीच भएको सहमति कार्यान्वयन नहुँदा अहिलेसम्म बसपार्क सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ । बसपार्क सञ्चालनमा आउनुअघि सम्झौता कार्यान्वयन गर्नुपर्ने स्थानीय गोविन्दबहादुर जिसीको भनाइ छ ।

स्थानीयले बागलुङ नगरपालिकासँग १२ बुँदे सम्झौता गरी ५२ रोपनी जग्गा निःशुल्क दिएका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ । नगरपालिकासँगको सम्झौतामा उनीहरूले बसपार्क निर्माण गर्न जग्गा दिएबापत त्यस क्षेत्रमा बाँकी रहेको ३५ रोपनी जग्गालाई घडेरी बनाइदिनुपर्ने, बाटोको निकास दिनुपर्ने लगायतका १२ बुँदे सम्झौता भएको थियो ।

जिसी भन्छन्, “यो बसपार्क निर्माणका लागि हामी वि.सं. २०५९ देखि नै लागेका हौँ, जग्गा व्यवस्थापन गर्न धेरै समय लाग्यो, धेरै समयपछि बसपार्क पनि निर्माण भयो, अब सञ्चालनमा आउँछ भन्ने अपेक्षा थियो । तर ,अहिलेसम्म संरचना बने पनि बस चल्न सकेका छैनन्, नगरपालिकाले सम्झौता कार्यान्वयन नगर्दा अहिले यो परिस्थिति सिर्जना भएको छ ।”

जिसीले बसपार्क सञ्चालन गर्न स्थानीयले कुनै पनि अवरोध नगरेको बताए । नगरपालिकाले काम गर्न नसक्दा यो समस्या भएको उनको भनाइ छ । बसपार्क बनेर बाँकी रहेको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने स्थानीयको माग छ । संरचना बने पनि यत्तिकै रहिरहनु दुःखद् भएको जिसीको गुनासो छ ।

स्थानीय सन्तोष जिसीले सम्झौता कार्यान्वयन गर्न नसक्दा बसपार्क सञ्चालनमा आउन नसकेको बताए । उनले नगरपालिकाले जग्गा फिर्ता नगरिदिँदा आफूहरूले जग्गामा अन्नबाली उब्जाउ गर्न नपाएको, जग्गा धितो राखेर अन्य व्यवसाय गर्न नपाएको, छोराछोरी तथा आफन्तलाई पढाउन नसकेको लगायतका समस्या भोग्नुपरेको गुनासो पोखेका छन् ।

“बसपार्क बनेपछि यस क्षेत्रका जनतालाई सुविधा होला, बजार व्यवस्थित होला भन्ने लागेर जग्गा दिएका थियौँ, पालिकाले सम्झौता कार्यान्वयन नगर्दा हामी स्थानीयवासी ठूलो समस्यामा परेका छौँ”, उनले भने, “बसपार्क पुग्ने सडक साढे चार मिटर भनिएको थियो छ मिटर बनाएको छ, सबैतिरबाट स्थानीय नै मारमा पर्ने स्थिति आउँदा पनि बसपार्क सञ्चालन गर्न दिएका थियौँ ।”

बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बसपार्क सञ्चालनका विषयमा लामो समयदेखि छलफल भइरहेको बताए । बसपार्क निर्माणका सन्दर्भमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा परेकाले नगरपालिकालाई काम गर्न केही असहज भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । बसपार्क सञ्चालनमा नआउँदा नगरले बर्सेनि ब्याजका रूपमा करोडौँ गुमाएकाले छिट्टै सञ्चालनमा ल्याउने उनी बताउँछन् ।

बसपार्क नगर विकास कोषको रु. आठ करोड ७० लाख ऋण लगानीमा निर्माण गरिएको थियो । बसपार्कको आशिष फेवा जेभीले निर्माणको ठेक्का लिएर काम गरेको थियो । आधुनिक बसपार्कसँगै यहाँ टर्मिनल, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेजसमेत निर्माण गरिएको छ ।

६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउने क्षमताको यस बागलुङ बसपार्क स्थानीयको बाँकी बचेको जग्गा फिर्ता गर्न पालिकाले कन्जुस्याइँ गर्दा झण्डै दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

सम्बन्धित समाचार