शुक्रबार , मंग्सिर २३, २०७९

हिन्दु धर्ममा बलिप्रथा : एक विवेचना

खुनको बलिले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्।

image

  • आचार्य कुशलकुमार निरौला

सात्विक, राजसी र तामसी गरेर तीन प्रकारका गुणहरु हुन्छन् । गीताका अनुसार “भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्”। भूत, प्रेत आदिको पूजा गर्ने व्यक्ति अन्त्यमा भूत, प्रेत आदिकै योनीमा जाने र सात्विक भावनाले पूजा गर्ने व्यक्ति देवतालाई प्राप्त गर्ने गर्दछन्। भावनाको नै सम्बन्ध भएता पनि हिंसा गर्नु र बलि चढाउनु तामसी पूजा अन्तर्गत पर्दछन्।

‘अहिंसा परमो धर्म ’ भन्ने मूल मन्त्रको आडमा हिन्दु धर्म अडिएको छ। यहाँ हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन।

“-धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।

धर्म भन्ने बित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ। धर्मले हत्या हिंसाको पक्ष लिँदैन भन्ने बुझ्नुपर्छ। धर्म शब्द कुनै हिंसाको द्योतक हैन। मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणीमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन्।

हिन्दु धर्ममा मुख्य गरेर तीन प्रकारका सुकृत कर्महरु हुन्छन् :

(१) नित्य (२) नैमित्तिक (३) काम्य।

(१) नित्य – शौच, सन्ध्या, तर्पण आदि नित्य कर्म अन्तर्गत पर्दछन्। नित्य कर्म गर्नाले शरीर एवं मन शुद्ध हुने तथा देवपूजन, हवन, यज्ञ आदि गर्नलाई अधिकार प्राप्त हुन्छ भने नगर्नाले प्रत्यवाय नामको दोष लाग्छ।

(२) नैमित्तिक – ग्रहण आदिको विशेष अवसरमा हवन, यज्ञ, देवपूजन आदि गर्नु नैमित्तिक कर्म अन्तर्गत पर्दछन्। नैमित्तिक कर्म गर्दा अपार लाभ हुन्छ नगर्दा प्रत्यवाय नामको दोष लाग्छ।

(३) काम्य – कुनै कामनापूर्तिका निमित्त गरिने कर्म काम्य कर्म अन्तर्गत पर्दछन्। जसलाई गर्नाले कामनाको पूर्ति हुन्छ भने नगर्नाले कुनै पनि दोष लाग्दैन।

गृहस्थाश्रममा रहने क्रममा मनुष्य जानेर या अन्जानमा नै हिंसा गरिरहन्छ। दाउरा बाल्दा, घर सफाई गर्दा, लुगा धुँदा, ढिकी-जातो गर्दा आदि कार्य जीवको हिंसा नभई हुन सक्दैन। त्यसको प्रायश्चित गर्नलाई पञ्चमहायज्ञ गर्ने आदेश शास्त्रहरुले दिएका छन्। ती पञ्चमहायज्ञ हुन् :

(१) ब्रह्म यज्ञ :- वेद, पुराण, इतिहास, धर्मशास्त्र, रामायण, महाभारत आदिको पठन-पाठन गर्नु।

(२) पितृ यज्ञ :- जीवित माता-पिता आदिको मान-सम्मान, सेवा र मरेपछि तर्पण, श्राद्ध आदि गर्नु।

(३) देव यज्ञ :- समय समयमा हवन, देव-पूजन, तीर्थ यात्रा आदि गर्नु।

(४) भूत यज्ञ :- भोजन गर्नु भन्दा पहिले वैश्वदेव, भूत, गाई, कुकुर, काग आदिलाई बलि दिनु।

(५) नृयज्ञ :- घरमा अतिथि, अभ्यागत आदिको आगमन भएमा स्वागत-सत्कार गर्नु।

यसरी पाँच प्रकारका यज्ञको विवेचन हाम्रा धर्मशास्त्रमा भएको छ भने पाँच प्रकारका बलिको पनि व्यवस्था गरिएको छ। यी पन्चबलि निम्न प्रकार छन् :-

(१) गोबलि :- गाईका निमित्त गोग्रासका रुपमा पकाइएको भोजन पातमा गाईलाई दिने।

(२) श्वानबलि :- कुकुरलाई खाना दिने।

(३) काकबलि :- पृथ्वीमा कागलाई बलि दिने।

(४) देवादिबलि :- पातमा देवतालाई बलि दिने।

(५) पिपीलिकादिबलि:- कीरा-फट्यांग्रा, कमिला आदिलाई पातमा बलि दिने।

यसप्रकारले नित्य पञ्चमहाबलि दिनुपर्ने विधान शास्त्रमा वर्णित छ। जसरी सन्ध्या आदि नित्यकर्म नगर्दा प्रत्यवाय नामको दोष लाग्छ, त्यसैगरी पञ्चबलि नगर्दा पनि दोष लाग्छ भन्ने शास्त्रको निर्णय छ। यहाँ ‘बलि’ शब्द कुनै हत्या हिंसा, मार-काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन। भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले बलि दिनुपर्दछ (अभावमा साग-पात, फल-फूल, गहुँ, चामल, तिल, मूंग, जौं आदिलाई पात ओछ्याएर पातमा बलि दिने विधान छ)।

प्रश्न उठ्छ – के शास्त्रमा पशुबलिको विधान छ त ?

लेखक : आचार्य कुशलकुमार निरौला

समयको कालचक्रानुसार मानवको घनत्व बढ्दै जानु स्वाभाविक हो। बासस्थान खोज्ने र नयाँ ठाउमा जाने क्रमसंगै हिमाली, पहाडी भेगमा गएर मानिसहरु बसोबास गर्न थाले। अन्नको अभाव, अत्यधिक जाडो हुने हुँदा शरीरलाई तताउन जाँगर बढाउन पशु–पंक्षीलाई मारेर खान थाले। तान्त्रिक युग संग-संगै तन्त्र-साधना गर्ने धामी, झाँक्रीहरुले पनि पशु-पंक्षीको बलि दिनुलाई पनि धर्म मान्न थाले। आखिर मासु खानु नै छ त देवताको पूजा गरेर नै किन नखाने ? भन्ने धारणा मानसमा बढ्यो, फलत: पशुबलि पूजाको एउटा अभिन्न अङ्गका रुपमा विकसित भयो।

हिन्दुधर्मानुसार देवतालाई रिझाउने तीन पद्दति प्रचलित छन् – (१) यान्त्रिक (२) तान्त्रिक (३) याज्ञिक।

बलि दिनु तान्त्रिक पद्दति अन्तर्गत पर्दछ, तर तान्त्रिक पद्दतिको पूजा गर्ने अधिकार ब्राम्हण, क्षत्रीयलाई हुँदैन। त्यसैले दुर्गा शप्तसतिको विकृतिकम् रहस्यम्को २८ श्लोकमा “रुधिराक्तेंन बलिना मांसेन सुरया नृप। बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता।।” आदि शब्दको प्रयोग भएको छ। जो तामसिक जनहरु मासुको प्रयोग गर्ने गर्छन्, उनीहरुलाई मात्र तामसिक पूजा गर्ने अधिकार छ।

हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन। “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो।

प्राचीन कालमा बलि

प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो। यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध = वध अर्थात् अभिमान रुपी घोडाको वध गरिन्थ्यो। अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याइन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो। कयौँ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाइन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो। त्यस्तै कयौं मानिसहरु जिज्ञासा गर्छन् : यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि। तर स्मरण रहोस्, पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ। त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन। जस्तै भनिएको छ –

“यद् घ्राणभक्षो विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा।
एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम्।।“
( श्रीमद्भागवत ११ -५-१३ )

अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो। तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु-तर्क प्रस्तुत गर्ने गरिन्छ।

कतै-कतै टीकाकारहरुले आलभेत, आलम्भनको अर्थ ‘मार्नु, हिंसा गर्नु’ भन्ने लगाएको पाईन्छ, तर यदि आलभेत, आलम्भनको अर्थ ‘मार्नु, हिंसा गर्नु’ हुने हो भने विवाह पद्दतिमा “तत: बर:कन्या हृदयं आलभेत” लेखिएको अर्थ के होला ? त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउँमा अलग-अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन। भनिएको पनि छ : “अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव मनाउछन् रे।

त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको कयौं ठाउँमा मांस शब्दको प्रयोग भएको छ। जस्तै- वाल्मीकि रामायण अयोध्या कांड ५३|२, १६| १ आदि ठाउँमा फलको भित्रि गुदीलाई पनि मांस भनिएको छ। त्यसैले भगवान् श्री रामले सीताका निमित्त “यो मांस पाकेको र उपर्युक्त छ, तिमी यसलाई खाऊ” भन्नुभएको हो।

नेपालको सन्दर्भमा बलि

नेपाल तीन भाग पहाडी र एक भाग मात्रै तराई भएको देश हो। देशमा धेरै पहाडी भेग भएको हुँदा यहाँका बासिन्दाले मासु खानु साधारण कुरा नै हो। भनिएको छ : “दक्षिणे मातुली कन्या उत्तरे मांस भोजनी” अर्थात् दक्षिण प्रान्तमा मामाकी छोरीसंग पनि विवाह हुन्छ भने उत्तरी भेगमा बस्ने मानिसहरुले मासु खान्छन्। नेपाल मात्रै नभएर भारतको उत्तरी भेग (गढवाल, कुमाउ, हिमाञ्चल, जम्मु, काश्मिर, आसाम) मा बस्ने मानिसहरु पनि प्राय: मासु खाने गर्छन्।

आसामको कामाख्या मन्दिरमा त दैनिक हजारौं बोका, राँगा आदिको बलि दिने गरिन्छ। अनादिकालदेखि नै हाम्रो देश नेपालमा पनि तान्त्रिक पद्दतिले प्रश्रय पाएको छ। बाहुन, क्षेत्रीदेखि लिएर राई, लिम्बू, मगर, नेवार तथा अन्य किरात, मंगोलिन सबैले प्राय: मासु खाने र देवी-देवतालाई पनि रगत-मासु चढाउन थाले। दशैँ आदि चाडको बेलामा त झन् हजारौ बोका, पाठा, हाँस, कुखुरा, राँगा आदिको बलि दिन थालियो। बाबुबाजेले यही नियम बसाए, छोरा-नातिले पनि यही सिके, फलत: दशैंको बेलामा प्रत्येक घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भान पर्न गयो र अहिले यो एउटा अभिन्न अंगको रुपमा विकसित भयो।

बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ। यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ। नयाँ सोच, नयाँ विचार , नयाँ भावनाको विकास् हुँदै जानु समयको माग, परिवर्तन एवं विकास क्रमको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यही नै हो।

खुनको बलिले हैन नरिवल, कुभिन्डो आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ। देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन्। झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ । पशुको ठाउमा नरिवल, कुभिन्डो आदिको बलिदिने चलन बसाल्नु पर्छ । शास्त्रमा पनि नरिवल एवं कुश्मांड बलिको विधान छ।


यो पनि पढ्नुहोस्;

नवदुर्गा पूजा: पशुबलीको विरोध गर्नेहरूले शक्ति पूजाहरूको महत्त्व बुझेका छैनन्

सम्बन्धित समाचार