यो विषयमा भगवान् बुद्धले अति नै स्पष्ट रूपमा विनयमा आफ्ना चेलाहरूलाई यसो भन्नु भएको थियो ।
“अनि भिक्षुहरू ! केही महानदीहरू जस्तै गङ्गा, यमुना, अचिर्वती, महि आदि महासमुद्रमा पुगेपछि आफ्ना पुराना नाम गोत्रहरू [समाप्त भएर] सबै नै महासमुद्र भनेर गनिन्छन्, त्यसैगरी, हे भिक्षुहरू हो ! चार वर्णहरू जस्तै क्षत्री, ब्राह्मण, वैश्य, शूद्र आदि तथागतले सिकाएको धर्म र विनयमा प्रव्रजित भइसकेपछि आआफ्ना पुराना नाम गोत्रहरू [समाप्त भएर] सबै “श्रमण शाक्यपुत्र” कै रूपमा गणना गरिन्छन्।” (विनय पिटक)
त्यसैले बौद्धधर्म भर्खर चीनमा गएको बेलामा चिनियाँ भिक्षु-भिक्षुणीहरुले आफ्नो प्रव्रजित नामसँगै “शाक्यपुत्र” (釋子shìzí) पनि जोड्ने गर्दथे किनकि उनीहरू पनि विभिन्न चिनियाँ धर्महरू जस्तै ताओ र कन्फुसियन धार्मिक पृष्ठभूमिबाट आउने भएकोले “म अब पुराना धर्ममा रहिन, मेरो नयाँ कुलमा जन्म भइसकेको छ” भनेर प्रतिकात्मक रूपले देखाउन “शाक्यपुत्र” लेख्ने गर्दथे । यो चलन चीनमा बुद्ध धर्म प्रचार प्रसार गर्ने र चिनियाँ भाषामा बौद्ध ग्रन्थ उल्था गर्ने पहिलो बौद्ध भिक्षुहरू मध्ये ताओ आन (道安) भन्ने भिक्षुले चलाउनु भएको थियो ।
भारत र नेपालमा बौद्धहरू प्राय वैदिक हिन्दु कुलका विभिन्न जातहरूमा जन्म लिएता पनि बौद्ध भएपछि उनीहरूका पुराना ती वर्ण, जात, थर, कुल र गोत्रहरू सबैको अर्थ रहदैन् । किनकि भगवान् बुद्धले वैदिक धर्मको वर्ण व्यवस्थालाई मान्न अस्वीकार गर्नुभएको थियो । उहाँ भन्नुहुन्थ्यो कि सबै आमाकै कोखबाट जन्मने हुन र सबै समान हुन । सबैलाई अध्यात्ममा बराबर अधिकार हुन्छ र आफूले रुचि भएको पेसा गर्न सबैलाई छुट छ । त्यसैगरी यी चार वर्गको बारेमा उहाँको आफ्नै छुट्टै धारणा हामी दिग्घ निकायको अगञ्ञय सुत्तमा पाउँदछौ । यसैपनि त्रिरत्नमा शरण लिएपछि अरू धर्मको अनुसरण गर्ने भन्ने कुरै आउँदैन किनकि यसले शरणगमनको संबरलाई भङ्ग गर्दछ ।
माथि उल्था गरिएको पालिको पूर्ण पाठ यहाँ दिइएको छ ।
seyyathāpi bhikkhave yā kāci mahānadiyo seyyath’ idaṁ | gaṅgā yamunā aciravatī sarabhū mahī tā mahāsamuddaṁ pattā jahanti purimāni nāmagottāni mahāsamuddo tv eva saṅkhaṁ gacchanti | evam eva kho bhikkhave cattāro’ me vaṇṇā | khattiyā brāhmaṇā vessā suddā te tathāgatappavedite dhammavinaye agārasmā anagāriyaṁ pabbajitvā jahanti purimāni nāmagottāni samaṇā sakyaputtiyā tv eva saṅkhaṁ gacchanti.