शुक्रबार , मंग्सिर २३, २०७९

महाभारत शृङखलाको अग्लो डाँडा बेथानचोक, जहाँबाट देखिन्छ धौलागिरी र सगरमाथा

डाँडामा गज्जबको सात तले गुफा छ । गुफाभित्र थरिथरिका आकृति छन् ।

image

  • रामदेवी महर्जन

महाभारत शृङखलाको अग्लो डाँडा हो काभ्रेपलाञ्चोकको बेथानचोक । उचाइको शितल गन्तव्य बेथानचोक (३,०२० मिटर) बाट धौलागिरीदेखि सगरमाथासम्म देखिन्छ । बीचका अन्नपूर्ण, लाङटाङ, गौरीशंकरर हिमाल त देखिने नै भए । मन्दिर, हिमाल र हरियाली हेर्न उपयुक्त गन्तव्य रहेकाे उक्त ठाउँबाट सूर्योदय र सूर्यास्त पनि सुन्दर देख्न सकिन्छ ।

डाँडामा धर्मशाला बाहेक अन्य घर बस्तीहरु छैन । त्यहाँ लोठ सल्लाको जंगल छ । मन्दिरमा वर्षका दुई पटक, नयाँ वर्ष र फागु पूर्णिमामा मेला लाग्छ । फागु मेलामा झाँक्रीहरुले ढ्याङग्रो ठोक्छन् । रातभर तामाङ शेलो घन्किन्छ । विशेषतः च्यासिङखर्कका झाँक्रीहरु आउँछन् । मेला भर्न काठमाडौं उपत्यका सहित, रामेछाप, दोलखासम्मका तिर्थालु आउँछन् । रातभर मन्दिरमा जाग्रक बस्छन् । बिहान नारायणको दर्शन गरेर फर्कन्छन् ।

फलामेटार र ढुङखर्क साँधको डाँडामा नारायणको मन्दिर छ । ढुँखर्कबासीका अनुसार बत्तीसपुतली काठमाडौंका वैष्णव गुरु राघबेन्द्रले वि.सं. २०३० देखि बेथानचोकको धार्मिक विकासमा गुन लगाएका छन् । उनकै अगुवाइमा वि.सं. २०३२  सालमा नारायणटारमा लगाइएको महायज्ञबाट बेचेको पैसाले मन्दिर बनाउन सुरु गरियो । तिनै गुरुको नेतृत्वमा ०५४ जेठ २० गते बेथानचोक डाँडामा यज्ञ लगाइयो । र, त्यहाँ नारायणको मूर्ति राखियो ।

डाँडामा गज्जबको सात तले गुफा छ । गुफाभित्र थरिथरिका आकृति छन् । अनौठो लाग्छ त्यहाँको वातावरण । गुफामा पुग्ने गोरेटो असजिलो छ । रमणीय डाँडामा पानी छैन । पानी लिन डेढ घण्टा तल ओर्लिनु पर्छ ।

ढुँखर्क नाउँ रहनुमा एउटा किम्बदन्ती छ । पहिला बेथाननारायण भक्तपुरबाट ढुँखर्क आएका रहेछन् । भगवान यता आएपछि भक्तपुरका राजा भुपतिन्द्र मल्ल घोडा चढेर नारायण दर्शन गर्न ढुँखर्क पुगेछन् । उनी पुग्दा त्यहाँको चौरमा बाघ देखेर उनले धुँखर्क भनेछन् । नेपाल भाषामा धुँ भनेको बाघ र खर्कको अर्थ चौर हो । पछि धुँखर्कलाई नै ढुँखर्क भनियो ।

बेथानचोकको बेस क्याम्प गेल्डुङ दूध उत्पादनका लागि प्रख्यात छ । त्यहाँ खुवा पनि बनाइन्छ । तरकारी खेतीका लागि समेत ढुँखर्कले ख्याती कमाएको छ । काउली साग, लसुन, प्याज, गोलभेडा, बकुल्ला, काँक्रा, फर्सि आदि राम्रो उत्पादन हुन्छ । गहुँ र मकै पनि राम्रै फल्छ । आरु, स्याऊ, खुर्पानी फल्छ, गेडागुडिमा केराउ, सिमी, भटमास, राजमा आदि उत्पादन हुन्छ । ढुँखर्कलाई एग्रो टुरिज्म डेष्टिनेशनका रुपमा विकास गर्न सकिन्छ ।

गेल्डुङ बजारमा मुक्तेश्वर महादेव मन्दिर पनि छ । बृद्धाश्रम पनि छ । त्यहाँ सामान्य खाजा घर र लज पनि छन् । खानेकुरा यही बजारबाट बोक्नु पर्छ । माथि होटल तथा पसल छैन । गाउँमा होमस्टे सुरु गरिएको थियो । ९ घरमा होमस्टे सुरु गरिएकोमा १२ वैशाख ०७२ को भुइँचालोले घरहरु भत्काएकाले पुनःनिर्माण हुँदैछ ।

माथि डाँडामै बास बस्ने गरी जाँदा सिल्पिङ, व्याग, टेन्ट र खाना आफै बन्दोबस्त गर्नु पर्छ । डाँडामा हावा चल्छ । न्याना कपडा चाहिन्छ । तातो सुप खानु पर्छ । गेल्डुङ बजारबाट बेथाननारायण जाने आधा जति बाटोमा ट्रयाक खुलिसकेको छ । गोरेटोमा हिँड्न रमाइलो हुन्छ । ललितपुरको प्रकृतिप्रमी समूहले दक्षिणी ललितपुरको छपेली, माझखण्ड, गोटीखेल, कालेश्वर, बतासे डाँडा हुँदै बेथानचोकसम्मको पदमार्गलाई ‘हिलटप ट्रेक’ नामाकरण गरेको छ । यसरी तिन दिन जतिकव पदयात्रा समेत गर्न सकिन्छ । यो रुटमा एडभेन्चर माउन्टेन बाइकिङको राम्रो संभावना छ ।

कसरी पुग्ने

काठमाडौं – पनौती ३२ किमि । पनौती – ढुँखर्क १३ किमि । ढुँखर्क – बेथानचोक करिब ९ किमि । पनौती बसपार्कमा ढुँखर्क  जाने बस पाइन्छ । तिनले डेढ – दुई घण्टामा गेल्डुङ बजार पुर्याउँछन् । गेल्डुङ बजारबाट ठाडो उकालोमा साँढे तीन घण्टा पदयात्रापछि बेथानचोक । पदयात्रा दुरी १८ किमि । समय ७ घण्टा ।

  • रुट                :  ढुँखर्क गेल्डुङ बजार बेथानचोक गेल्डुङ
  • सुरु                :  गेल्डुङ बजार १७०० मिटर
  • अन्तय             :  गेल्डुङ
  • दुरी                 : १८किमि
  • समय               : ७ घण्टा
  • अधिक उचाई   : ३०२० मिटर बेथानचोक

सम्बन्धित समाचार