बुधबार , साउन ९, २०८१

बेनीघाट–रोराङ-१ मा बारीमै कुहियो एक करोड रुपैयाँ भन्दा बढीको तरकारी, स्तराेन्नती भएन सडक

"नेताहरू चुनावको बेला मात्रै गाउँ पस्छन्, अरूबेला राजमार्ग परिसर बाहेक अन्त पुग्दैनन् । गाउँगाउँमा न सडक छ, न बत्ती छ, न विद्यालय छ, न अस्पताल छ । खानेपानीको हाहाकार उस्तै छ", लामाले भने, "दुई जना मुख्यमन्त्रीसहित नेताहरू जन्माएको धादिङ-१, ले केही पाएको जस्तो देखिँदैन । यहाँका गाउँहरूले मुख्यमन्त्री, सांसदहरूलाई साँच्चै गिज्याइरहेका छन् ।"

image

धादिङको बेनीघाट रोराङ–१, जरुङ गाउँका आशिष तामाङ २०७८ मा वैदेशिक रोजगारीबाट स्वदेश फर्किए । गाउँमा तरकारी खेती गरेर साथीहरूले राम्रो आम्दानी गरिरहेको देखेपछि उनले विदेश नफर्किने निर्णय गरे । अनि सुरु भयो आफ्नो पसिनाले आफ्नै माटोलाई सिञ्चित गर्ने उनको यात्रा ।

मौसम अनुसार विभिन्न फलफूल तथा तरकारी लगाउन थाले । यद्यपि उनको कृषि कर्मले व्यावसायिक रूप लिन सकेन । कारण थियो, माेटरबाटोकाे दुरावस्था । उनकाे गाउँ जरुङबाट गजुरी बजार (पृथ्वी राजमार्ग) पुग्न करिब २८ किलोमिटरको दुरी छ । गजुरी-जरुङ सडकको दुरावस्थाका कारण बजार पुर्‍याउन सक्ने टुङ्गो नभएपछि उनले ठुलो परिमाणमा उत्पादन गर्ने आँट गर्न सकेका थिएनन् । तर, बाटोको अवस्था थोरै राम्रो हुँदै गएपछि २०८० को वैशाखमा उनले आफ्नो बारीमा ठुलै परिमाणमा बन्दागोभी लगाए । उनका साथीहरू राेशन तामाङ, सूर्य बहादुर तामाङ र चन्द्र थिङले पनि ठुलो परिमाणमा बन्दागोभी लगाए । वैशाखको १५ तिर लगाएको बन्दागोभी असारको १५ तिर (करिब तीन महिनामा) उत्पादन हुने थियो । असारको १० तिर बन्दागोभीको डल्लाले बारी हरियाली बगर जस्तै देखियो । आशिष उत्साहित भए । तर, अफसोस ! उनकाे उत्साह धेरै टिक्न सकेन । बन्दागोभी काटेर बजार पठाउने बेलामा झरी पर्‍यो । दुई दिनको झरीले सडक बाटो भताभुङ्ग भयो । बन्दागोभी बारीमै कुहिन थाल्यो । एकातिर बन्दागोभीको बजार मूल्य ओरालो लाग्दै थियो भने अर्कोतिर बजारसम्म लैजान गजुरी-जरुङ बाटो बन्न सकेन । उनी निराश भए ।

आशिषकाे बारीमा कुहिएकाे बन्दागोभी । बेनीघाट राेराङ-१, धादिङ

आफ्नो बारीमा कम्तीमा १६ टन (१६ हजार किलो) उत्पादन हुने र त्यसबाट कम्तीमा पाँच देखि ६ लाख रुपैयाँ आम्दानी हुने उनको आङ्कलन थियो । तर, समयमा सडक नबन्दा उनको श्रम, पसिना र लगानी बालुवामा पानी जस्तै भयो ।

“यसपालि धेरै लगाएको खत्तम भयो, मेरो मात्रै होइन सबैको यस्तै भयो भनेर चित्त बुझाइराकाे छु”, उनले भने, “पहिलो गाँसमै ढुङ्गा परेको जस्तो भयो ।”

आशिष एक प्रतिनिधि पात्र मात्र हुन् । बेनीघाट रोराङ–१, का सयौँ किसानले उस्तै नियति भोगेका छन् । उनीहरूले उत्पादन गरेको तरकारी र फलफूल बारीमै कुहिएका छन् । भर्खरै व्यावसायिक कृषितर्फ लम्किँदै गरेको सो वडाका किसानहरू यस पटक नराम्रोसँग झस्किएका छन् । जरुङसहित साेही वडाका सिम्टार, पइन्टार, सुन्दरनागी, बाँसखर्क, चिम्बाङ, ब्राम्दीङ, धुसाराङ, कुन्चुरुङ लगायत गाउँका किसानहरूले लगाएकाे तरकारी बारीमै कुहिएकाे छ । उनीहरूलाई डर छ, अब पनि बाटो राम्रो बनेन भने फेरि दालभात खानाकै लागि खाडी पस्नुपर्ने हो कि !

बेनीघाट रोराङ–१, का वडाध्यक्ष जीवन सिं तामाङका अनुसार वडामा यस सिजनमा मात्रै साठी लाख रुपैयाँभन्दा बढीको बन्दाकाेपी बारीमै कुहिएको छ । बाटोको दुरावस्थाका कारण समयमा बजार पुर्‍याउन नसक्दा किसानहरू मारमा परेको उनले बताए ।

“बाटोको दुरावस्थाका कारण यहाँका किसानहरूले समयमा बजार पुर्‍याउन सकेनन् । अर्काेकुरा यस वर्ष तरकारीको भाउ पनि अकल्पनीय ढङ्गले ओरालो लाग्यो । हामीलाई ठुलो नोक्सान भएको छ ।” वडाध्यक्ष तामाङले भने ।

उनका अनुसार त्यहाँ उत्पादित तरकारी तथा फलफूल काठमाडौं, पोखरा, दमौली, नारायणबाट, चरौँदी, हेटौँडा लगायत बजारमा जाने गरेको छ । अघिल्लो वर्षसम्म बारीमै तरकारी उठाउन आउने व्यापारीहरू यस वर्ष नआएको उनले बताए । “यस वर्ष अन्य ठाउँमा पनि बन्दागोभीको उत्पादन बढेको भन्ने छ । तर, यता चाहिँ बाटो नराम्रो भएकाले ढुवानी खर्च बढ्ने भएपछि व्यापारीहरू नआएका हुन् ।” उनले भने ।

सो वडाको जरुङ गाउँमा रहेको श्री जरुङ सिम्टार आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका स्थानीय वीर बहादुर तामाङका अनुसार ठुलो परिमाणमा उत्पादित बन्दागोभीसँगै आरु, आलुबखडा, खुर्पानी, आलुचा लगायत फलफूल र सागसब्जीसहित एक करोड रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।

वीर बहादुर तामाङकाे बारीमा लटरम्म पाकिरहेकाे आलुबखडा । बेनीघाट राेराङ-१, धादिङ

“मेरै बारीमा अहिले पनि आरु र आलुबखडा कुहिरहेको छ । बाटोको दुरावस्थाका कारण बजार पठाउन सकेको छैन”, शिक्षक वीर बहादुरले भने, “जसोतसो एक दुई हप्तामा गाडी आउँछ । गाडी कुन ठाउँमा गएर फस्ने हो थाहा नै हुँदैन । तरकारी फलफूल पठाएर के गर्नु, बीच बाटोमै कुहिन्छ ।”

वीर बहादुर तामाङकाे बारीमा लटरम्म पाकिरहेकाे आरू । बेनीघाट राेराङ-१, धादिङ

बिमारी पितालाई घरमै छोडेर फर्किए जयराम

काठमाडौं बसेर व्यवसाय गर्दै आएका जरुङ गाउँकै जयराम तामाङ आफ्नो पिता बिमारी भएको थाहा पाएपछि असार ३१ गते गाउँ गए । एक हप्तासम्म जमर्को गर्दा पनि काठमाडौं ल्याउन नसकेपछि बिमारी पितालाई घरमै छोडेर उनी काठमाडौं फर्किए ।

“एम्बुलेन्स आउने सम्भावना नै भएन । बल्लबल्ल एक हप्तामा बस आयो । बीच बाटोमै फस्ने डरले बिमारी बुवालाई घरमै छोडेर आएँ”, उदास देखिएका जयरामले मलिन स्वरमा भने, “सङ्घीय राजधानीसँगै जोडिएको जिल्लाको जनता भएर पनि अलिकति पनि सुख पाइएन । न गाउँमा अस्पताल छ, न सहरको अस्पतालमा लैजान सकिन्छ ।”

बस हिलाेमा फसेपछि साबेलले काेट्याउँदै जयराम तामाङ । गजुरी-३, नाङ्गी, धादिङ ।

आफूले चढेर आएको बस हिलोमा फसेपछि साबेलले हिलो कोट्याउँदै उनले भने, “धत् ! मुख्यमन्त्रीको क्षेत्रको बाटो । मुख्यमन्त्रीज्यूलाई एक पटक यो बाटोमा यात्रा गर्न आउनु भन्दिनु है !”

जयराम पनि प्रतिनिधि पात्र मात्र हुन् । सडक बाटोको दुरावस्थाका कारण अस्पताल जान नसकेर मृत्यु कुरिरहेकाहरू धेरै छन् । कतिले सामान्य सिटामोल समेत खान नपाएर ज्यान गुमाइरहेका छन् ।

अन्य व्यवसायीलाई पनि सास्ती

बाँसखर्कमा होटल सञ्चालन गर्दै आएका जयराम थिङको पिडा पनि उस्तै छ । उनले आफ्नो होटलमा आवश्यक खाद्यवस्तु ल्याउन सकेका छैनन् । ढुवानी भाडा अत्यधिक महँगो परेको कारणले होटल नै चलाउन गाह्रो भएको उनले बताए ।

“पृथ्वी राजमार्ग अन्तर्गतको गजुरी बजारबाट यहाँसम्मको बाटो जम्मा बीस-बाइस किलोमिटर छ, तर गाडी आउन साह्रै गाह्रो छ । बाटो बनाउँदै ल्याउँदा कहिले तीन दिनमा मात्रै यहाँ आइपुग्छ । कहिले नसकेर फर्की जान्छ”, जयरामले भने ।

जयराम थिङ तामाङकाे हाेटल कटेज । बाँसखर्क नमाेबुद्ध मःम कटेज । बाँसखर्क, बेनीघाट राेराङ-१, धादिङ ।

हिउँदमा बाटो राम्रो हुँदा पर्यटकहरू पनि आउने गरेको तर अहिले बर्खा लागेसँगै बाटो बिग्रिएपछि पर्यटक आउन छाडेको उनले बताए । “हाम्रो यो ठाउँ अत्यन्तै सुन्दर छ, अहिले बर्खाको मौसममा झनै सुन्दर देखिन्छ, तर दुर्भाग्य बाटोको हालत राम्रो भएन ।”

बेनीघाट रोराङ–१ र गजुरी–४ को सिमानामा पर्ने थमभन्ज्याङमा होलसेल किराना पसल चलाउँदै आएका कमान सिं तामाङको पिडा पनि उस्तै छ । गजुरी बजारबाट सामान लैजान तीन दिनसम्म लाग्ने गरेको पिडा उनले सुनाए ।

“हामीलाई सामान ल्याउन धेरै गाह्रो भइरहेको छ । अत्यावश्यक नुन, तेल, साबुन, दाल, चामल गाउँघरमा जसरी भए पनि उपलब्ध गराउनुपर्ने हाम्रो बाध्यता छ । किनकि यो हाम्रो व्यवसाय हो । तर, ढुवानीको कठिनाइका कारण हामीले ठुले घाटा बेहाेर्नु परेको छ ।” उनले भने ।

“साढे चार वर्षअघि जस्तो थियो, त्यस्तै छ सडक”, बस चालक

विगत साढे चार वर्षदेखि सो बाटोमा बस चलाउँदै आएका मिलन घलानले चार वर्षको अवधिमा पनि उक्त बाटोको स्तरोन्नति हुन नसकेको बताए ।

“हामीले विगत साढे चार वर्षदेखि यो बाटोमा बस चलाउँदै आएका छौँ । यो ठाउँमा हामीले नै पहिलो पटक बस सञ्चालनमा ल्याएका हौँ । बाटोको अवस्था चाहिँ साढे चार वर्ष अगाडी जस्तो थियो, त्यस्तै छ अहिले पनि”, उनले भने, “बाटो अलि राम्रो बन्दै जाला भन्ने आशमा हामीले निरन्तर बस सञ्चालन गरिरह्यौँ, तर अझै पनि उस्तै छ । अहिले बाटो बनाउन कुटो, कोदालो, साबेल बोकेर ८–१० जना साथीहरू लिएर हिँड्नुपर्ने अवस्था छ ।”

बाटाे बनाउँदै चालक मिलन घलान र उनका साथीहरू ।

उनीहरूले काठमाडौंको कलङ्कीबाट बेनीघाट रोराङ–१ को जरुङ गाउँसम्म बस सञ्चालन गर्दै आएका छन् । हिउँदमा जसोतसो चलाए पनि बर्खामा दुई तीन महिना ठप्प प्रायः हुने गरेको उनीहरू बताउँछन् ।

“बर्खा लागेपछि दुई तीन महिना बस थन्काएर बस्नुपर्छ, बस पाल्नु कि पेट पाल्नु ?” मिलनले भने, “यो त मुख्यमन्त्रीको क्षेत्र भन्छ, यस्तो बाटो छ, लाजमर्दो ! कहिल्यै सुधार भएन ।”

गजुरी खण्डमा यसवर्ष पनि छैन बजेट, बेनीघाट-राेराङ खण्डमा झन्डै दुई करोड

धादिङको बेनीघाट रोराङ–१, गजुरी गाउँपालिकाको ३ र ४, मकवानपुरको उत्तरी भेग स्थित कैलाश–२ को वैकुण्ठ र कैलाश गाउँका बासिन्दाहरू बजार आवतजावत गर्ने मुख्य बाटो हो, गजुरी–जरुङ सडक । ट्र्याक खोलेको डेढ दशक हुँदा पनि २८ किलोमिटर लामो सो सडकखण्डको नामकरण भएको छैन, नत स्तरोन्नति नै । २८ किलोमिटरमध्ये करिब २० किलोमिटर (चालिसे–खोरभन्ज्याङ) गजुरी गाउँपालिकामा नै पर्छ ।

गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार यस वर्ष सो सडकखण्डको लागि गाउँपालिकाले पचास लाख रुपैयाँ विनियोजन गरेको छ । सांसद विकास कोषको एक करोड रुपैयाँ बजेट ल्याउने प्रयास गरिएको भए पनि अहिलेसम्म टुङ्गो नभएको उनले बताए ।

गजुरी–३ का वडाध्यक्ष ऋषिलाल श्रेष्ठले गाउँपालिकाले दिएको पचास लाख रुपैयाँ तीन ठाउँमा मर्मत गर्न खर्च हुने जानकारी दिए । उनका अनुसार १८ लाख रुपैयाँ वाल्सिङ, ७ लाख रुपैयाँ ज्यामिरे भन्ज्याङमा र बाँकी २५ लाख रुपैयाँ वडा कार्यालय जाने बाटोमा खर्च हुने छ ।

हिलाेमा फसेकाे बस । गजुरी-३, ओडारे ।

पालिकाको उक्त बजेटले उल्लेखित तीन ठाउँमा सामान्य टालटुल गर्न पुग्ने र बाँकी खण्डको सडक स्तरोन्नति हुने सम्भावना नरहेको वडाध्यक्ष श्रेष्ठले बताए । उक्त सडकखण्डको दुरावस्थाको विषयमा आफूले मुख्यमन्त्री शालिकराम जमरकट्टेल र प्रतिनिधिसभा सांसद राजेन्द्र पाण्डेलाई पटक–पटक भेटेर ध्यानाकर्षण गराएको तर नसुनेझैँ गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

“मैले पटक पटक मुख्यमन्त्री सांसदहरूलाई भेटेर भनेको छु, यहाँको अवस्थाबारे ब्रिफिङ गरेको छु, प्रतिवेदनहरू बनाएर बुझाएको पनि छु, तर नसुने झैँ गर्छन्”, वडाध्यक्ष श्रेष्ठले आक्रोश पोख्दै भने, “नेताहरूले आफ्नै गाउँ र पार्टीको कार्यकर्तालाई मात्रै ध्यानमा राखेर बजेट विनियोजन गरे । माननीय राजेन्द्र प्रसाद पाण्डेकाे गाउँमा हेर्नुन, मलेखु-डुँडेठाँटी सडकको लागि चार करोड हालेको छ, अर्को ४५ लाख रुपैयाँ पालिका बजेट पनि सोही सडक खण्डमा हालेको छ । दुई करोड रुपैयाँ यता हालिदिएको भए के जान्थ्यो र ? हामीले पनि भोट हालेकै हो ।”

सडकबीचमा खसेकाे ठुलाे ढुङ्गा साइड लगाउँदै बसका चालकसहित पेसेन्जरहरू । गजुरी-३, हटिया ।

वडाध्यक्ष तामाङका अनुसार बेनीघाट रोराङ–१ को बाँसखर्क–जरुङ खण्डको लागि एक करोड रुपैयाँ समपूरक बजेट परेको छ । प्रदेश र पालिकाले पचास/पचास लाख रुपैयाँ बजेट हाल्ने भएको छ । त्यसैगरी ताल्ती–ब्रोम्दीङ खण्डको लागि प्रदेशबाट सशर्त अनुदानमा ८० लाख रुपैयाँ बजेट प्राप्त हुने भएको छ ।

“यस वर्ष हाम्रो वडाको सडकमा करिब डेढ देखि दुई करोड रुपैयाँको काम हुँदै छ । वडाको सडकमा परेको बजेट सन्तोषजनक नै छ । समस्या गजुरी गाउँपालिका खण्डको हो । उक्त सडकखण्ड राम्रो नभएसम्म हामीलाई गाह्रो नै हुने भयो”, वडाध्यक्ष तामाङले भने, “गजुरी गाउँपालिकाको बेवास्ताका कारण हामीले दुःख पाउने भएको छ ।”

गजुरी-जरुङ सडकखण्ड कसले बनाउने भन्ने विषयमा दुई गाउँपालिकाबीच अन्योल बढ्दा बजेट ल्याउन नसकिएको वडाध्यक्ष तामाङले बताए । बेनीघाट रोराङ–१ को बासिन्दा आवतजावत गर्ने मुख्य बाटो भएकाले बेनीघाट रोराङले नै बनाउनुपर्ने गजुरी गाउँपालिकाले बताउने गरेको उनले सुनाए । तर, बेनीघाट रोराङले अर्को गाउँपालिकामा पर्ने सडकखण्डको लागि बजेटको सिफारिस गर्न नसकिने बताएपछि उक्त सडकखण्डको गजुरी खण्ड बेवास्तामा परेको हो ।

धादिङ–१, ले दुई जना मुख्यमन्त्री दिए, तर पाएनन् केही

धादिङको प्रतिनिधिसभा–१, को प्रदेश “ख” बाट निर्वाचित शालिकराम जमरकट्टेल अहिले बागमती प्रदेशका मुख्यमन्त्री हुन् । यसअघि सोही क्षेत्रको प्रदेश “क” बाट निर्वाचित राजेन्द्र प्रसाद पाण्डे मुख्यमन्त्री थिए । अहिले प्रतिनिधिसभा–१ का सङ्घीय सांसद छन् पाण्डे । नेकपा समाजवादीको केन्द्रीय उपाध्यक्ष समेत रहेका पाण्डेले उक्त क्षेत्रमा साढे तीन दशकदेखि नेतृत्व गर्दै आएका छन् ।

त्यसो त नेकपा माओवादीबाट निर्वाचित जमरकट्टेलले पनि पन्ध्र वर्षदेखि त्यस क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएका छन् । २०६४ मा (तत्कालीन धादिङ–३) हाल १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएदेखि उक्त क्षेत्रमा निरन्तर नेतृत्वदायी भूमिकामा नै छन् मुख्यमन्त्री जमरकट्टेलले ।

०७४ काे निर्वाचनमा नेकपा एमालेका भूमि त्रिपाठी प्रतिनिधिसभा सदस्य निर्वाचित भए । तर, उनले पनि त्यस भेगका जनताले अनुभूत गर्न सकिने काम गर्न सकेनन् ।

त्यस क्षेत्रका प्रतिनिधिहरूले पृथ्वी राजमार्ग वरिपरिका बजार क्षेत्रको विकासमा मात्रै ध्यान केन्द्रित गरेको र ग्रामीण भेगलाई बेवास्ता गरेको नेपाली काँग्रेस बागमती प्रदेश सदस्य श्याम लामाले बताए ।

“नेताहरू चुनावको बेला मात्रै गाउँ पसे, अरू बेला राजमार्ग परिसर बाहेक अन्त पुग्दैनन् । गाउँगाउँमा न सडक छ, न बत्ती छ, न विद्यालय छ, न अस्पताल छ । खानेपानीको हाहाकार उस्तै छ”, बेनीघाट राेराङ-१, जरुङ गाउँका स्थानीय समेत रहेका लामाले भने, “दुई जना मुख्यमन्त्रीसहित नेताहरू जन्माएको धादिङ-१, ले केही पाएको जस्तो देखिँदैन । यहाँका गाउँहरूले मुख्यमन्त्री, सांसदहरूलाई साँच्चै गिज्याइरहेका छन् ।”

भिडियो

सम्बन्धित समाचार