बिहिबार , मंग्सिर १४, २०८०

आज २१०‍ औँ भानु जयन्ती, विभिन्न कार्यक्रम गरी स्मरण गरिँदै

image

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदै छ ।

२०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते (आजकै दिन) नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो ।

तनहुँको चुँदी रम्घामा जन्मिएका धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।

भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए । उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन् ।

उनको निधन १९२५ मा भएको थियो । भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष भानु जयन्तीमा काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ , भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।

काे हुन् भानुभक्त ?

भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सं. १९२५ असोज ६) नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिहरू लाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।

भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे ।

१९५ वर्षअघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनवास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देश प्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन् ।

सम्बन्धित समाचार