मंगलबार , साउन ८, २०८१

भिँ द्य: (भीमसेन महाराज) महाभारतकालिन ‘भीम’ होइनन् !

उपत्यकाका व्यापारीहरूले पुज्दै आएको भिँ द्य: (भीमसेन) माहाभारतकाे कुनै पात्र नभई मल्ल राजकुमारीको सेवककाे रूपमा नेपाल मण्डल प्रवेश गरेका एकजना ज्यापू किसान थिए । जसलाई हामी मन्दिर प्रवेश गर्ना साथ देख्ने सक्छौँ ।

image

नेपाल मण्डलका विशेष गरी नेवार समुदायका व्यापारीहरूद्वारा आफ्नो आराध्य देवको रूपमा पुजिँदै आएको देवता भिँ द्य: (असल देवता) भीमसेन महाराज बुङ्ग द्य: पद्मपाणी लोकेश्वर करुणामय (रातो मच्छिन्द्र नाथ) को एउटा अवतारको रूपमा पुजिने गरिन्छ ।

भिँ द्य: अर्थात् भीमसेन भन्नसाथै मानिसहरूको सोचाइमा अजंगको जीऊडाल भएको क्रोधित मुद्रामा विराजमान हुनुहुन्छ भन्ने साेचाई हुने गर्दछ । तर नेवा समुदायले आफ्नो आराध्य देवको रूपमा पुज्ने गरेको आराध्य देव भिँ द्य: अत्यन्तै शालीन र शान्त मुद्रामा विराजमान हुनुहुन्छ ।

भिँ द्य: अर्थात् (असल देवता), बुङ्ग द्य: अर्थात् सहकालको देवता, यी दुवै एकै भएको कारण दुवै देवताहरू रक्त वर्णमा विराजमान हुनुहुन्छ भने एक हातमा कमलको फुल र अर्को हातले गधा धारण गरेको पाउँछौँ । अर्को तर्फ भिँ द्य: लाई महेश्वर ( महादेव )को रूपमा पनि पुज्ने गरिन्छ ।

किम्बदन्ती अनुसार आदिकालमा नेपाल मण्डलको पूर्वी सिमाना भाेत: (हालको बनेपा) का रैथाने किसानको छोरा रोजगारीको सिलसिलामा द्वा लुखा [पूर्वको द्वार] हालको दोलखा पुगे । यही समयमा नेपाल मण्डलका राजकुमार त्वय: मल्ल नामका थकु (ढकुरी) जुजु (मल्ल राजकुमार) र द्वा लुखा [पूर्वको द्वार] द्वाल्खा (दोलखा) का शक्तिशाली सामन्त अभय देवकी छोरी कुमारी पद्मावतीसँग विवाह बन्धनमा बाँधिदा उनीले पाएको दाइजोको भारी बोकेर नेपाल मण्डल प्रवेश गरेका एकजना ज्यापू किसान थिए । समयक्रम सँगसँगै थकु जुजु (मल्ल राजा) को खेत हालको छाउनी बा:हिती भिमढुंङ्गा स्युचातारमा खेतीपाती तथा हेरचाहको जिम्मा तिनै ज्यापू पहलमानलाई दिइयो ।

हरेक वर्षझैँ असार महिनाको समय थियो । सबै किसानहरू खेतीपातीमा व्यस्त थिए । कतिपयले त धान नै रोपी पनि सकेका थिए, कोही राेपाँईकाे तरखरमा थिए । तर थकु जुजु (मल्ल राजा) को खेत भने बाँझै थियो । त्यो ज्यापू किसान प्राय: दिन जसो खेतमा आउने गर्दर्थ्याे, दिनभरि यताउता डुल्थ्यो । खाजासाजा खान्थ्यो,  साँझ परेपछि आफ्नो घर फर्कने गर्दथ्यो । यो देखेर एक दिन सँगैको सँधियार छिमेकी किसानले त्यस ज्यापूको बारेमा थकु जुजुलाई उजुरी गरीदिए । त्यसपछि थकुजुजु स्वयम् त्यस ज्यापूको चालढाल बुझ्न राजा स्वयम् भेष बदलिएर आफ्नो खेत हालको छाउनीमा पुगे । थकु जुजुले सबैकाे खेतमा रोपाइँ सकिसकेको तर आफ्नो खेत भने बाँझै देखेर थकु जुजु (मल्ल राजा) रिसले चुर भई त्यस ज्यापूलाई नाना तरहले गाली गर्न थाले । खेती किन भएन ? भनी हप्काउनुका साथसाथै नाना तरहले गाली गर्न थाले । क्रोधित अवस्थामा रहेका थकु जुजुकाे नाना थरीको गाली ती ज्यापूले अत्यन्तै शालीन र शान्त भएर सुनी रहे ।

केही समयपश्चात् अत्यन्तै क्रोधित मुद्रामा रहेका थकु जुजु (मल्ल राजा) लाई ज्यापू किसानले सम्झाउन थाले ।

ज्यापू किसान- महाराज ! एकै क्षण शान्त रही बक्सियाेस । त्यो आक्रोशपूर्ण आँखा एकै क्षण बन्द गरी मनलाई स्थिर बनाई बक्सियाेस भनी सम्झाउन थाले । तिनै ज्यापूको आग्रह मुताबिक आफ्नो आँखा केही क्षण बन्द गरी थकु जुजुले आफ्नो आक्रोशित मनलाई स्थिर बनाए र केही समयपश्चात् जब आँखा खोलेर हेरे, तब खेतमा पुरै धान रोपी सकेको अवस्थामा पाए । यो देखेर थकु जुजु (मल्ल राजा) आश्चर्य चकित भए । सपना हो कि यथार्थ ठम्याउन नै सकेन । र राजाले ती ज्यापू किसानलाई आश्चर्यचकित हुँदै सोध्न थाले ।
थकु जुजु- के हो यो ” ?
ज्यापू किसान- महाराज हजुरको खेत हो यो !
थकु जुजु- त्यो त मैले देखेँ ! तर केही क्षण अगाडि सम्म त बाँझै थियो त !
ज्यापू किसान- यो एकजना किसानको मेहनत हो । करामत हो ।

थकु जुजु यो सबै देखेर अक्क न बक्क भए । त्यत्तिकैमा ज्यापुले थकु जुजु (मल्ल राजा) लाई पुनः आँखा बन्द गरी मन र आँखालाई शान्त र स्थिर बनाउन आग्रह गरे, ज्यापूको आग्रह मुताबिक पुनः आफ्नो आँखा बन्द गरे । र केही क्षणपछि आँखा खोली हेर्दा धान पाकेर झुलिरहेको अवस्थामा पाए । यो देखेर थकु जुजु (मल्ल राजा) झन् आश्चर्यमा परे । ओठ मुख सुक्न थाले, आश्चर्य मान्दै ज्यापुलाई हेरेको हेरै भए । अनुहार रातो पिरो पारेर मौन भई उभिइरहे । ज्यापुले पुनः आँखा बन्द गर्न आग्रह गरे । थकु जुजु (मल्ल राजा) ले त्यसै गरे र फेरि आँखा खोलेर हेर्दा मेघ गर्जन सहित घनघोर वर्षा भए ।यो सबै देखि थकु जुजु (मल्ल राजा) अत्तालिन थाले । अनेक तरहले बिन्तिभाव गरी क्षमायाचना गरी ज्यापुलाई सोध्न थाले,

थकु जुजु- तपाईं को हुनुहुन्छ ? राजकुमारी पद्मावतीकी सेवककाे रूपमा नेपाल मण्डल प्रवेश गरेका एक जना व्यक्तिको यो अलौकिक शक्तिको राज के हो ? यी सबै कसरी सम्भव भयो ? कि त तपाईं देवता हुनुपर्छ । कि त तपाईं तान्त्रिक हुनुपर्छ ? को हुनु हुन्छ तपाईं ? मर्जी होस्। आफ्नो वास्तविक रूपको दर्शन पाउँ भनी बिन्तीभाव गरे ।

थकु जुजुकाे यति बिन्ती सुनिसकेपश्चात् ज्यापु किसानले आफ्नो वास्तविकता बुझ्ने प्रयास नगर्न आग्रह गरे । ‘यदि मैले मेरो वास्तविकता तपाईं सामु राखेँ भने म तपाईँको दरबारमा आश्रित भई बस्न मिल्दैन ।’

आश्चर्य बाट भयभीत भएका राजाको जिद्दी र आग्रहको सामु ज्यापु पहलमानको केही लागेन, अन्ततोगत्वा ज्यापु किसानले आफ्नो विशालकाय वास्तविक रूपको दर्शन दिए ।

एक हातमा कमलको फुल, अर्को हातमा सुनकाे गधा धारण गरेका गलामा स्वयम् वर्णको गाैमन सर्पको माला लगाएका, विभिन्न रत्न जडित स्वस्तिक अङ्कित सुनकाे मुकुट पहिरिएका, स्वर्ण अलङ्कारले सजिएका रक्त वर्णको त्यो विशालकाय भव्य रूपको दर्शन दिए र थकु जुजुलाई आफू पद्मपणी लोकेश्वर करुणामय (रातो मच्छिन्द्र नाथ) को एउटा अवतार भएको भएको र नेपाल मण्डलका बासिन्दाहरूको उद्धार र उत्थान गर्नको निम्ति एक जना ज्यापु किसानको रूप धारण गरी राजकुमारीको सेवककाे रूपमा नेपाल मण्डल प्रवेश गरेको कुरा बताए ।

ज्यापू अर्थात् पद्मपाणी लोकेश्वर करुणामयको यस्तो कुरा सुनी सकिए पश्चात् अब भिँ द्य: लाई आफ्नो दरबारमा राख्न उपयुक्त नहुने थाने । किनभने दरबारमा अरूले नाघ्ने वर्ने सम्भावना र जुठाेचाेखे बार्न नसकिने कारण बताए । थकुजुजुकाे यस्तो कुरा सुनेर ज्यापू किसान अर्थात् पद्मपाणी लोकेश्वर करुणामयले जुन ठाउँमा आफ्नो तेस्रो पाइला पर्छ, त्यसै स्थानमा चाेखाेनिधो पारी विधिविधान पूर्वक आफूलाई प्रतिष्ठापन गर्न आग्रह गरे र ज्यापू पहलमान अर्थात् पद्मपाणी लोकेश्वर करुणामयको आदेश अनुरूप नै चाेखाेनिधो पारी ज्यापु पहलमानको तेस्रो पाइला परेको स्थान (उपत्यका प्रवेश गर्ने मूल द्वार) विष्णुमती नदीको पूर्व किनारमा पूर्व दिशा मुखाकृत हुने गरी विधिविधान पूर्वक प्रतिष्ठापन गरिदिए ।

हरेक दिन साँझपख करुणामय सहरका विभिन्न स्थानमा डुल्न जान्थे । डुल्न जाने क्रममा जुन जुन पसलहरूमा उनको नजर (दृष्टि) पर्थ्यो त्यस पसलहरूमा ग्राहकहरूको घुइँचो लाग्न थाले । व्यापारीहरूको व्यापार दिन दुई गुणा, रात चौगुना हुँदै व्यापार फस्टाउन थाले । सबै व्यापारीहरूले उनिलाई भिँम्ह द्य: अर्थात् असल देवताको रूपमा पुजिन थाले । नेपाल भाषाबाट भिँ म्ह भन्नाले ‘असल’ भन्ने बुझिन्छ भने द्य: भन्नाले ‘देवता’ भन्ने बुझिन्छ । यिनै देवतालाई प्रतिष्ठापन गरेको टोललाई भिँ द्य:त्वा अर्थात् ‘असल देवताको टोल’ भनिन थालियो । जुन हाल काठमाडौंकाे भीमसेन स्थान २० वडा अन्तर्गत रहेको छ ।

नेपाल संवत् ६६० सम्म एक तल्ले मात्र रहेको उक्त मन्दिरलाई नेपाल संवत् ६८४ मा थकुजुजु महेन्द्र मल्लले शिखर शैलीको तीन तल्लाको भव्य मन्दिर निर्माण गर्न लगाएको वंशावली उल्लेख भएको पाइन्छ र विक्रम संवत् २०१६ साल माघ महिनामा थकु जुजुका वंशज पन्नामान सिंह मल्ल यस वडाका अध्यक्ष रहँदा स्थानीय बासिन्दाहरूको सक्रियतामा राजा महेन्द्र वीरविक्रम शाहदेवले पूर्ण जिर्णद्वार गराएका थिए । जुन मन्दिर हाल काठमाडौं वडा नं २० मा अवस्थित भीमसेनस्थान (भिँ द्य: त्वा: ) असल देवताको टोलको नामले प्रसिद्ध भए ।

पाटनस्थित भीमसेन मन्दिर

भिँ द्य: (भीमसेन महाराज) आफ्नो घर जाने प्रथा 

हरेक १२ वर्षको एक पटक अन्य देवी देवता जस्तै भिँ द्य: (भीमसेन महाराज) पनि आफ्नो घर जाने परम्परा रहँदै आएको छ । देवी देवताहरू पनि १२ वर्षको एकपटक आफ्नो घर जाने परम्परा रहँदै आएको छ, जसलाई ‘क्लेवर फेर्ने परम्परा’ भनिन्छ । यो परम्परा भिद्य:मा पनि रहँदै आएको छ । पछि गएर यस प्रथालाई ‘भीमसेनकाे गुप्तवास’ भनिन थालियो । भि द्य: आफ्नो घर जानका लागि सर्व प्रथम साल्मी (मानन्धर) समुदायका गुठियारहरूले विशेष पूजा गरी सकिए पश्चात् गुरुज्यूबाट शुभ साइत हेरी पूजाआजा गरी मध्यरातमा मूर्ति मन्दिर बाहिर ल्याउने परम्परा रही आएको छ । घरजाने (गुप्तवास) भनेर मन्दिरभन्दा करिब ४० मिटर दक्षिणतर्फ रहेको भिँ द्य: फल्चा (पाटी )मा लगेर राखिने परम्परा रहँदै आएको छ । पहिले भि द्य: (भीमसेन) को मात्र मूर्ति रहेको उक्त मन्दिरमा पछि नेपाल संवत् ७९३ मा कान्तिपुरका राजा प्रताप मल्लले आफ्नो दरबार (हनुमान ढोका दरबार) स्थित मोहन चोकमा लगेर देवी (द्राेपदी) को पनि मूर्ति बनाउन लगाई १२ वर्षको एक पटक क्लेवर फेर्ने चलन चलाए । कालान्तरमा यसलाई भीमसेनकाे गुप्तवास भनिन थालियो । वास्तवमा यो गुप्तबास नभई भिँ द्य: (भीमसेन महाराज) आफ्नो घर जाने परम्परा थियो । । जुन पाटी हालसम्म पनि यथा स्थानमा नै रहेको छ । यसै अवसर पारेर मन्दिरका रँग रोगन तथा जिर्णद्वार मर्मत कार्यहरू गरिन्छ ।

भिँ द्य: (भीमसेन) गणेश

धर्मप्रति आस्था राख्ने नेपाल मण्डलका बासिन्दाहरू विशेष गरी जहाँ-जहाँ नेवार समुदायको बस्ती हुन्छ, त्यहाँ त्यहाँ भीमसेन र गणेशको पूजा आजा गर्ने गरेको पाइन्छ । सबै समुदायले दैनिक कार्य सिद्धिको कामना गर्दा पूजाआजा गर्न आ-आफ्नै स्थानमा (टोल छिमेक) मा भगवान् गणेशको मन्दिर बनाएको पाउँछौ । त्यसै गरी भिँ द्य: (भिम्सेन) ले पनि आराधना गर्ने भगवान् गणेश रहेको छ । हाल उक्त मन्दिर एउटा मूर्तिमा मात्रै सीमित रहेको छ । भिमसेनकाे पूजा गर्नु पूर्व उक्त गणेशको पूजा गर्ने परम्परा रहँदै आएको छ । जुन मूर्ति हाल पनि भिमसेनकाे मन्दिरको करिब ४० मिटर दक्षिण तर्फ रहेको भिं द्य: फल्चा (भिम्सेन गुप्त बास बस्ने) पाती (पाटी)सँगै रहेको अहिले पनि हामीले देख्न सक्छौ । यसै अर्थले पनि उक्त पाती भिँ द्य: (भिम्सेन) घर हो भन्ने आकलन गर्न सक्छौ ।

भिँ द्य: (महाराज भिम्सेन) १२ वर्षको एक पटक घर जाँदा त्यस क्षेत्रका (भिम्सेनस्थानका ) विभिन्न जात जातिको भूमिका

भिँ द्यः हरेक १२ वर्षको एक पटक आफ्नो घर जाने प्रथा रहँदै आएको छ । यो घर जाने भनेर भिं द्य: मन्दिर छोडेर मन्दिर भन्दा करिब ४० मिटर दक्षिण तर्फ रहेको ऐतिहासिक भिं द्य: फल्चा (पाटी) मा लगेर केही समय राख्ने चलन छ । यो चलनलाई पछि गएर भिम्सेनकाे गुप्तवास भनिन थालियो । यसै समयमा त्यसै स्थानका बसोबास गर्ने विभिन्न जात जातिहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । जस्तै पुँ (चित्रकार), साल्मी (मानन्धर), ज्यापू (महर्जन), सि क:मी (स्थापित), त: म्व: (ताम्राकार), नेव: शाक्य समुदायको भूमिका महत्त्वपूर्ण रहेको पाइन्छ ।

(१) पुँ ( चित्रकार )

भि द्य: आफ्नो घर जाँदा चित्रकार समुदायको भूमिका महत्त्वपूर्ण रहन्छ । भि द्य: को मूर्ति तथा मन्दिरमा रँगरोगन गर्ने चित्र कोर्ने देखि लिएर भिमसेनकाे मूर्तिमा दृष्ठीलाेचन गर्ने कार्य यिनै चित्रकार समुदायले नै गर्ने गर्दछ । जब सम्म चित्रकारहरूले दृष्ठीलाेचन गरिँदैन तबसम्म मूर्तिले पूर्णता पाएको मानिदैन् ।

(२) साल्मी ( मानन्धर )

भि द्य: आफ्नो घर जाँदा मानन्धरहरूका भूमिका पनि महत्त्वपूर्ण रहेको पाइन्छ । यतिबेला भूमिका भनेको भिद्य: (भिम्सेन ) मन्दिरबाट बाहिर ल्याउन ठुलाे ठुलाे काठकाे भर्याङकाे निर्माण गर्न, भिँ द्य: को पत्नीको (जसलाई हामीले द्राेपदी भन्ने गर्छौँ) मूर्तिमा चाँदीको पाउ राख्ने धुने (चम्काउने) देखि भिँ द्य: को पत्नीको (जसलाई हामी द्राेपदी भन्ने गर्छौ) लागि सम्पूर्ण शृङ्गार पटारका सामग्रीहरू मानन्धर गुठियारहरूले नै व्यवस्था गर्ने गरेको पाउँछौँ  । राजकुमारीको दाइजोको भारी बोकेर नेपाल मण्डल प्रवेश गरेको भिँ द्य:ले समय समयमा उद्दण्ड मच्चाउने गरेको र पुनः द्वा:लुखा (दोलखा) फर्केर जाला भन्ने डरले त्यतीबेलाकाे थकु जुजु (मल्ल राजा) ले बनेपा (भाेत:) र नेपाल मण्डलका सीमामा पर्ने साल्मी (मानन्धरहरूको बस्ती) साल्मी गाँ (कालान्तरमा गएर साँगाको नामले चिनिन थालियो) । यसै साँगाकी साल्मी (मानन्धर) कन्या जो भिं द्य:काे प्रेमिका थिइन् । उनीसँग विवाह गरिदिएर उपत्यकामा नै अल्झाई राखेको हो भन्ने जनश्रुति रहेको पाइन्छ । यसै कारणले पनि भिमसेनकाे क्लेवर फेर्दाको समयमा मानन्धरहरूका भूमिका विशेष रहेको पाउँछौँ । भिँ द्य:काे क्लेवर फेरिदा (आफ्नो घर जाँदा) मन्दिरको सुरक्षार्थ पाला (कुरुवा) बस्ने कार्य यिनै मानन्धर समुदायका विभिन्न गुठीका गुठियारहरूले गर्ने गरेको पाइन्छ ।

जानकारहरूको भनाई भनाई अनुसार जब भि द्य:काे क्लेवर फेर्ने अवसरमा (आफ्नो घर जाँदा) मन्दिरमा गरिने नित्य पूजाको लागि आवश्यक पूजाको लागि आवश्यक सामग्री फुल/ नैवैध्य जसलाई नेपाल भाषामा काेत: त्यगु भनिन्छ । त्यो कार्यमा पनि मानन्धर गुठियारहरूको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । हनुमानढोका दरबारबाट प्राप्त पूजा सामग्रीहरू यसै खु कुँ ढुकु सत: (छ कुन्ना भएको भण्डार पाटी )मा राखिन्छ र दैनिक नित्य पूजाको लागि पूजा ज्वलं राखेर पठाउने कार्य यिनै अगीं मथ: साल्मी गुठीका गुठियार हरूले गर्ने गर्दथियाे । नित्यपूजाकाे लागि जुठाेचोखाे बार्नु पर्ने र अत्यन्तै सजगता अपनाउनु पर्ने भएको कारण मन्दिरको ठिक सामु रहेको तीन मुखे पाटी जसलाई खु कुँ ढुकु सत: (छ कुना भएको भण्डार पाटी) भन्ने गरिन्छ, यसै पाटीमा भण्डारण गर्ने गरिन्छ र यस भण्डार पाटीको सुरक्षा र संरक्षण हालसम्म पनि अगीं मथ: साल्मी (मानन्धर) गुठीका गुठियारहरूले नै गर्दै आएको छ । यस अर्थले भि द्य: आफ्नो घर जाँदा आवश्यक पूजा सामग्रीको भण्डारण गर्ने पवित्र भण्डार रहेको भन्ने पुष्टि हुन्छ । झिँगटी छानाले छाएको अत्यन्तै कलात्मक आँखीझ्याल जडित दुई तल्ले उक्त खु कुँ ढुकु सत: २०१५ सालकाे दैवी प्रकोपका कारण जीर्ण हुँदा हालकाे अवस्थामा रहेको छ । जुन हाल सम्म पनि अगीं मथ: साल्मी गुठीका गुठियारहरूले नै संरक्षण गर्दै आइरहेको छ । (स्रोत : थकुजुजुका वंशज स्व पन्ना मान सिं मल्ल , स्व जगत ब.बहादुर सुवाल, स्व ईन्द्र नारायण मानन्धर)

(३). ज्यापू (महर्जन)

भि द्य: (भिम्सेन) आफ्नो घर जाँदा र घरबाट मन्दिर फर्कँदा ज्यापू (महर्जन) समुदायको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । बज्राचार्य गुरुज्यूबाट साइट जुराई सकिए पश्चात् मध्यरातमा मूर्तिलाई बाहिर निकालिन्छ । यस ल्याउने र पुर्‍याउने कार्य यिनै ज्यापू समुदायले गर्ने गर्दछ । शारीरिक रूपमा हृष्टपुष्ट हुने भएको र भिँ द्य: स्वयम् ज्यापू समुदायको भएको हुनाले हुन सक्छ अरू कुनै जात जातीलाई छुन दिइँदैन । यस कार्यमा विशेष गरी भीमसेन स्थानकै याे:बहा ज्यापू खल:, को त:बाे ज्यापू खल: र भिँ द्य: त्वा सा गुठी खलका ज्यापू समुदायका गुठियारहरूको महत्त्वपूर्ण भूमिका रहेको थियो । साथै, मन्दिरको रेखदेख गर्ने पालो ( कुरुवा ) बस्ने कार्य ज्यापू र मानन्धर समुदायका गठियाहरू बस्ने चलन छ ।

(४).  सिक: मी: (स्थपित )

ज्यापु तथा मानन्धर समुदायको महत्त्वपूर्ण भूमिका भए जस्तै त्यस क्षेत्रका सिकर्मी (स्थापित समुदायको भूमिका पनि महत्त्वपूर्ण रहेको पाइन्छ । कुशल कालिगढी हुनुको कारण भि द्य: (भिम्सेनकाे ) मन्दिर तथा भिम्सेन राखिने पाती ( भिमसेनकाे घर ) को सम्पूर्ण काठकाे कार्य यिनै समुदायले गर्दै आइरहेको पाइन्छ ।

(५.) त:म्व: (ताम्राकार)
ताम्राकारकार समुदायको भूमिका पनि पनि महत्त्वपूर्ण रहँदै आएको पाइन्छ । भि द्य: आफ्नो घर जाँदा भि द्य:काे पाउ बनाउने तथा अन्य धातुका कार्य यसै समुदायले गर्ने गर्दछ ।

(६). नेव: शाक्य
भि द्य: अर्थात् भिम्सेन महाराज गुप्तवास जाँदा माटोको मूर्ति बनाउने मर्मत गर्ने कार्य यिनै समुदायले गर्दछन् ।

(७). भिँ द्य: र बज्राचार्य गुरूज्यकाे भूमिका

आदिकाल देखि नै थकु जुजु ( मल्ल राजा ) हरू ले गरिने सम्पूर्ण पूजाआजा देखि कर्मकाण्डहरू राजोपाध्याय ब्राह्मणले गर्ने चलन रही आएको छ भने भि द्य: अर्थात् महाराज भिमसेनकाे सम्पूर्ण पूजाआजा बज्राचार्य गुरुज्यूहरूले गर्ने परम्परा रहँदै आएको छ । यस अर्थले पनि भि द्य: बौद्ध धर्म प्रति आष्ठावान रहेको बुझिन्छ ।

(८). कपाली

कपाली समुदायको भूमिका भिँ द्य:काे नित्य पूजा गर्ने समयमा नगरा बजाउने कार्य यी नै कपाली समुदायले गर्ने गर्छन् ।

विभिन्न धर्म प्रति आस्था राख्ने नेपाल मण्डलका बासिन्दाहरूले मनाइने चाड पर्व , भि द्य: महाराज भिम्सेनकाे मा पनि गर्ने परम्परा रहँदै आएको छ । जस्तै दिल्लाथ्व षष्ठीका दिन जन्म दिन मनाउने, वैशाख शुक्ल पूर्णिमाको दिन द्य: पूजा (देवाली ) पूजा गर्ने , म्ह पूजादेखि विभिन्न चाड पर्व मनाउने परम्परा छ ।

विशेष गरी नेवारी परम्परा अनुसार नेपाल संवत्को  पहिलो दिन म्ह: पूजा गर्ने भनेर आफूले आफ्नै शरीरको पूजा गरेर वर्ष भरी सुख स्वास्थ्य र समृद्धिको कामना गरिन्छ भने वैशाख शुक्ल पूर्णिमाको दिन भिँ द्य:काे दय् पूजा ( देवाली )मनाइन्छ ।

त्यसैगरी दिल्लथ्व षष्ठीको दिन भि द्य:काे (भिम्सेन महाराजको) जन्म दिन मनाइन्छ भने नेवार समुदायले मान्ने विशेष पर्वहरू जस्तै स्वाँया पुन्हि (वैशाख शुक्ल पूर्णिमा) गुन्हु पुन्हि (जनै पूर्णमा), यँ न्या पुन्हि (ईन्द्र जात्रा) र पाहाँ च-र्हे को दिन स्वर्ण जडित तासको वस्त्र लगाई दिने परम्परा रही आएको छ भने आश्विन शुक्ल महानवमी र सिल्लाथ्व एकादशीको दिन भिं द्य: निराहार व्रत बस्नु हुन्छ र भिँ द्वादशीकारे दिन ठुलाे मेला लाग्ने गर्दछ ।

धर्म प्रति आष्थावान् नेपालीहरूले भगवान्लाई पनि विभिन्न रूपमा पुज्ने गर्दछन् । कोहीले माहाभारतकाे महाबली भीमसेनकाे रूपमा पुज्ने गर्छन् त कोहीले आफ्नो आराध्य देवको रूपमा पुज्ने गर्छन् । तर वास्तवमा उपत्यकाका व्यापारीहरूले पुज्दै आएको भिँ द्य: माहाभारतकाे कुनै पात्र नभई मल्ल राजकुमारीको सेवककाे रूपमा नेपाल मण्डल प्रवेश गरेका एकजना ज्यापू किसान थिए । जसलाई हामी मन्दिर प्रवेश गर्ना साथ देख्ने सक्छौँ ।

मन्दिरको भित्र पट्टी प्रवेश गर्ना साथ मन्दिरको गर्भ गृहमा पाँच वटा मूर्तिहरू देख्न सक्छौँ । जसमा दुई वटा विशालकाय मूर्ति देख्छौँ जसलाई भीमसेन र अर्जुन भन्ने गर्छौँ तर यी दुवै विशालकाय मूर्तिहरू भीमसेन र अर्जुनको नभई दुवै मूर्ति हरू भिँ द्य: को मूर्ति हो । यी दुवै विशालकाय मूर्तिहरूको बिचमा एउटी देवीको मूर्ति रहेको छ । जसलाई द्रौपदी रानी भन्ने गर्छौ । तर वास्तवमा त्यस मूर्ति द्रौपदीको नभई भि द्य:काे पतरानीकाे हो (जुन माथि उल्लेखित साँगाकी साल्मी कन्या) को मूर्ति हो ।

यिनै मूर्तिहरूको दायाँ र बायाँ झुकेर बसेको दुई वटा मूर्तिहरू पनि छन् । जसलाई नकुल र सहदेव भन्ने गर्छौँ तर, वास्तवमा ती दुई मूर्तिहरू नकुल र सहदेव नभई ढुसी आजु, ढुसी माजुकाे हो । जब मानवीय शरीरको कम्मर भन्दा माथिको अङ्गमा शारीरिक पीडा हुने गर्छ तब यिनै ढुसी आजु ढुसी माजुकाे पूजा गर्ने चलन रही आएको छ । यो हाल सम्म पनि कायम नै रहेको छ ।

नेवार समुदायका व्यापारीहरू व्यापारको सिलसिलामा जहाँ जहाँ जान्छन्, त्यहाँ त्यहाँ श्री गणेश भगवान् र आराध्य देव भिमसेनकाे मूर्ति सँगै लाने र स्थापना गर्ने गरेको उदाहरणहरू धेरै ठाउँमा पाउँछौँ । यस अर्थले पनि जहाँ जहाँ श्री गणेश र भिँ द्य: को पूजा आराधना गरिन्छ, त्यो नेवारहरूको बस्ती हो भन्ने बुझिन्छ र बुझ्नु पर्दछ ।

माथि उल्लेखित मेरो लेख मैले २०६४ साल देखि अध्यनकाे सिलसिलामा विज्ञहरू, विभिन्न विद्धानहरू एवं थकु जुजुका वंशजहरू सँग सोधखोज एवं छलफल गरी तपाईँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गरेको छु । मैले मेरो अध्ययन कार्यलाई सुरु गर्ने क्रममा कति ले सहयोग गर्नु भयो कतिले अन्यथा सोचेर यस कार्यमा रुचि देखाउनु भएन । यसै कारण कहीँ कतै कोही कुनै व्यक्ति विशेष वा समुदाय छुट्टिन गएमा वा त्रुटि हुन गएमा छलफल गरी संशोधन गर्न सकिने छ । धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्नुको साथसाथै धर्म प्रतिकाे आस्थाको अभिवृद्धि गर्ने वा होस भन्ने उद्देश्यको साथ मैले आफ्नो अध्ययनलाई अधि बढाउने प्रयास गरेको थिएँ । मेरो यो लेख नै अन्तिम रूप नभएको कारण अझ विस्तृत जानकारी एवं सुझावको अपेक्षा राखेको छु ।


लेखक तथा अनुसन्धानकर्ता: सरोज मानन्धर
भि द्य: त्वा येँ ( भिम्सेन स्थान काठमाडौं नेपाल )
ने सँ ११३६ दिल्लाथ्व षष्ठी ( २०७३ )
भिम्सेन महाराजको जन्म दिनको असरमा

स्रोत-सन्दर्भ :
स्व पन्ना मान सिं मल्ल ( थकुजुजुका वंशज )
स्व ईन्द्र नारायण मानन्धर ( नातीदाई )
स्व जगत बहादुर सुवाल ( दारीवाल )
स्व प्रेम मान पुँ चित्रकार
थकु जुजुका वंशज जय राम मल्ल तथा स्याम कृष्ण मल्ल तथा प्राप्त विभिन्न कालखण्डहरूका स्थापित गरिएका अभिलेख तथा वंशावलीहरू बाट साभार गरिएको
आरध्य देव भिँ द्य: स्तुति
भिम भिमेस्वर छि हे बलवान्
करुणामय नं छि हे ।।२।।
दुःखी पिनिगु , दुःख तंका बिईम्ह
मुक्ति दाता नं छि हे ख: ।।२।।
सकल जनया कल्याण यायत्
दाेलखाँ बिज्याम्ह छि हे ख: ।।२।।
गथे याना भाव भक

  • सरोज मानन्धर

सम्बन्धित समाचार