काठमाडौं । पूर्वी युक्रेनी सहर डोनेट्स्कमा भएको शृङ्खलाबद्ध विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । यी क्षेत्रहरू रुसी समर्थित विद्रोहीको नियन्त्रणमा छन् ।
डोनेट्स्कमा सन् २०१४ देखि रुस समर्थित विद्रोहीले कब्जा जमाएको छ । स्थानीय अधिकारीहरूका अनुसार डोनेट्स्कको कुइबिशेभस्की जिल्लामा १५० एमएम गोलाहरु प्रहार गरिएको थियो । यो हमला सहरको पश्चिमी क्षेत्रको एउटा गाउँबाट गरिएको हो । स्थानीय नेता डेनिस पुशिलिनले युक्रेनले जानाजानी बस स्टप, पसल र बैंकमा सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएका छन् ।
फेब्रुअरीमा सुरु भएको लडाईमा रुसी सेनाले डोनेट्स्कको दक्षिण क्षेत्रसम्म कब्जा गरेको थियो, तर सहरको बाहिरी भागबाट युक्रेनी सेनाहरूलाई पछाडि धकेल्न उसले निकै संघर्ष परेको थियो । युक्रेनी सेनाले जवाफी कारबाहीमा रुसलाई दक्षिण र उत्तरपूर्वमा कडा टक्कर दियो ।
लुहान्स्क क्षेत्रका प्रमुख सेर्ही हाइडाईले युक्रेनी ट्याङ्कहरू पोन्टुन पुल पार गरेको भिडियो सार्वजनिक गरेका छन् । उनका अनुसार युक्रेनले अब ओस्किल नदीको बायाँ किनारा आफ्नो नियन्त्रणमा लिएको छ । यसलाई उत्तर(पूर्वी युक्रेनको फ्रन्टलाइनको रूपमा हेरिन्छ ।
यदि युक्रेनी सेनाले ओस्किलको पूर्वी भागमा आफ्नो पकड कायम राख्यो भने यो ठुलो सफलता हुनेछ । हाइडाईले अब उनीहरूको लक्ष्य लाइमन शहरलाई मुक्त गर्ने हो, जुन मे महिनामा रुसी सेनाले कब्जा गरेको थियो। ‘लुहान्स्क क्षेत्र नजिकै छ । यो क्षेत्र खाली गर्न धेरै गाह्रो छैन,’ उनले दाबी गरे ।
उता युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले भन्छन्, ‘हामीले अर्को चरणको तयारी गरेका छौँ । युक्रेन सम्पूर्ण रूपमा स्वतन्त्र रहनेछ।’
युक्रेनले सोमबार रुसले आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको आरोप लगाएको छ । यो केन्द्र युक्रेनको दक्षिणमा माइकोलीएभ क्षेत्रमा रहेको छ ।
बीबीसी