शुक्रबार , अषोज १४, २०७९

बाबा विश्वकर्मा: इन्द्रको अस्त्र बज्रदेखि रावणको लंकासम्म बनाउने कुशल इन्जीनियर

भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए । उनी भगवान ब्रम्हाका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।

image

आज  कन्या संक्रान्ति अर्थात् आश्विन सङ्क्रान्ति । आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ । ज्योतिष  विद्याका अनुसार यो दिन सूर्य कन्या राशिमा प्रवेश गर्छन् । सूर्यको गति अंग्रेजी तारिखसँग सम्बन्धित हुन्छ । त्यसैले कन्या संक्रान्ति पनि प्रत्येक वर्ष १७ सेप्टेम्बरमा पर्छ । प्रायः यही दिन पर्ने भएकाले विश्वकर्मा जयन्ती पनि १७ सेप्टेम्बरमा मनाइन्छ । हाम्रो नेपालमा १ असोजमा मनाउने परम्परा रहेको छ ।

विश्वकर्मा पूजा र धार्मिक विश्वास :

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा र अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिँदैन भन्ने मान्यता छ । आफूले प्रयोग गर्ने कुनै पनि मेसिनरी सामग्रीलाई राम्रोसँग सफाई गरेमा नै विश्वकर्मालाई खुसी तुल्याएको ठहर्ने जनविश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद  द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगडहरूले आज भव्य रूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ ।

वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

विश्वकर्मा को हुन् ?

सृष्टिको रचनाको प्रारम्भमा भगवान विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुकोे नाभी–कमलबाट ब्रह्मा उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ । ब्रह्मा पुत्रको नाउँ धर्म थियो, जसको विवाह वस्तु नाउँका महिलासँग भएको थियो । धर्म र वस्तुको संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातै पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारागंत थिए । वास्तुको एउटा छोरा भयो जसको नाउँ यसै कारणले भगवान विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मेसिनका देवता भनिन्छ । भगवान विश्वकर्माको अनेक रूप रहेको बताइन्छ । दुई बाहु भएका, चार बाहु एवं दस बाहु भएका तथा एक मुख, चार मुख एवं पंचमुख भएका । उनको मनु, मय, त्वष्टा, शिल्पी एवं दैवज्ञ नाउँका पाँच पुत्र थिए ।

यस्तो पनि मान्यता छ कि पाँचै छोरा वास्तु शिल्पको छुटटाछुटटै विधामा पारगंत थिए र उनीहरुले धेरै कुरोको आविष्कार गरेका थिए । यस प्रशंगमा मनुलाई फलाम, मयलाई काठ, त्वष्टालाई ताम्बा, शिल्पी इँट र दैवज्ञलाई सुन–चाँदीले जोडिन्छ ।

विश्वकर्माले के-के बनाएका थिए ?

भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए । उनी भगवान ब्रम्हाका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए ।

इन्द्रको सर्वाधिक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । शास्त्रका अनुसार भगवान विश्वकर्माले सृष्टिको रचना गर्न ब्रह्मालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए ।

उनको अनन्त र अनुपम कृतिको रुपमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् ।

रामायणमा वर्णन गरिएअनुसारको रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । त्यसैले शिवले सो लंका रावणलाई दिएका थिए । सीताको खोजीमा लंका जादा हनुमानले उक्त सुनको लंका जलाइदिएका थिए । त्यसपछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएका थिए ।

इन्द्रप्रस्थ जुन महाभारतका पाण्डवको भव्य महल थियो, द्वारका भगवान कृष्णको नगरी थियो, यी पनि विश्वकर्माले नै निर्माण गरेको मानिन्छ । पुष्पक विमानको निर्माण पनि भगवान विश्वकर्माले नै गरेको विभिन्न ग्रन्थमा उल्लेख छ । यसका अतिरिक्त देवताहरुको दैनिक उपयोगमा आउने समानहरु जस्तै: कर्णको कुण्डल, विष्णु भगवानको सुदर्शन चक्र, शंकर भगवानको त्रिशूल र यमराजको कालदण्ड आदि उनैले निर्माण गरेका थिए ।

विश्वकर्मा पूजा कति सान्दर्भिक ?

देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि व्यक्तिले बिहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, मोबाइल, पानी तान्ने मोटर, मिल, टिभी अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै व्यक्तिहरुका लागि देवता हुन् । यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्त्व पनि उत्तिकै बढी छ ।

यो सृष्टिमा जुन कर्म सृजनात्मक हो, जुन कामले जीवको जीवन सञ्चालित हुन्छ, उनीहरु सबैको मूल विश्वकर्मा हो । ‘त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ,’ सांस्कृतिवद् डा. भोगेन्द्र झा भन्छन् ।


स्रोत :
किन गरिन्छ विश्वकर्मा पूजा ? सुजीतकुमार झा
रासस

Tags:

सम्बन्धित समाचार