शुक्रबार , मंग्सिर २३, २०७९

नेपालमै बन्दै ‘चन्द्रागिरी वारियर्स’ एनिमेटेड फिल्म

image

काठमाडौं । विश्वभरमा कम्प्युटर एनिमेटेड फिल्मको बजार फैलिँदो छ । ‘द लायन किङ’, ‘टोय स्टोरी’, ‘मिनियन्स्’ जस्ता हलिउडका एनिमेटेड फिल्मले विश्वभर अर्बौं कमाई गरेका छन् ।

अब नेपालमा पनि एनिमेटेड निर्माण हुने भएको छ । माया एनिमेसन एकेडेमीले ‘चन्द्रागिरी वारियर्स’ (चन्द्रागिरी योद्धाहरु) शीर्षकमा एनिमेटेड फिल्म बनाउन लागेको हो ।

अनुमानित ५ करोडको लागतमा नेपालकै जनशक्तिबाट एनिमेटेड फिल्म बनाउन लागिएको फिल्मका निर्देशक इन्द्र बलामीले जानकारी दिए ।

‘अहिले हामी प्रि–प्रोडक्सनकै चरणमा छौं । कथावस्तु भने फाइनल भइसकेको छ’ बलामीले भने, ‘अबको एक–दुई हप्तामा क्यारेक्टर डिजाइनको काम पूरा हुनेछ ।’ १५ देखि २० जना जनशक्तिलाई फिल्म तयार गर्न डेढ–दुई वर्ष लाग्ने उनको अनुमान छ । फिल्मको सम्पूर्ण एनिमेसनको काम नेपालमा नेपालकै जनशक्तिबाट गर्ने बलामीले जानकारी दिए । फिल्म ९० मिनेटको हुनेछ ।

फिल्मलाई विश्व प्रख्यात ओटीटी प्लेटफर्ममा रिलिज गर्ने बलामीको योजना छ । तर, अहिलेसम्म कुनै ओटीटी प्लेटफर्मसँग छलफल नभएको उनले उनले सुनाए । ओटीटीसँगै फिल्मलाई हलमा पनि रिलिज गरिने बलामीको भनाई छ । उनका अनुसार, फिल्म नेपाली, हिन्दी, नेवारी र अंग्रेजी गरी चार वटा भाषामा बन्नेछ ।

‘चन्द्रागिरी वारियर्स’ तयार भए यो नेपालकै पहिलो एनिमेटेड फिल्म हुनेछ ।

सम्बन्धित समाचार