शुक्रबार , अषोज १४, २०७९

पालिका र पर्यटन : धार्मिक पर्यटनको विशेष सम्भावना बोकेको चौतारा साँगाचोकगढी

सदरमुकाम समेत रहेकाे नगरपालिका भएकाले पनि यहाँ पर्यटन व्यवसायको राम्रो सम्भावना छ ।

image

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा चौतारा साँगाचोकगढी नगरपालिका पर्दछ । यो नगरपालीका जिल्लाको सदरमुकाम पनि हो । यसको कुल क्षेत्रफल १६५.२५ वर्ग कि.मी. छ भने यो नगरपालीका दश वटा साविकका गाविसहरू मिलेर बनेको छ । जसअन्तर्गत चौतारा, पिपलडाँडा, कुविण्डे, सानोसिरुवारी, स्याउले, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठुलोसिरूवारी गा.वि.स पर्दछन् ।

यस नगरपालिकामा विभिन्न धर्म मान्ने जातजातिहरूको बसोबास रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक पर्वहरू हो । यहाँ विभिन्न धर्मका अनुयायीहरू जस्तै हिन्दु, बौद्ध र क्रिश्चियनहरूको बसोबास रहेको छ । यहाँको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ, नेवारी र अरू भाषा पनि यहाँ बोलिने गरिन्छ ।

समुद्रको सतह देखि १४१८ मीटर उचाईमा रहेको यो नगरपालीकामा २ वटा निर्वाचन क्षेत्र रहेको छ । यसको पुर्वमा बलेफी तथा सुनकोशी गाउँपालिका पर्दछ भने पश्चिममा इन्द्रावती गाउँपालिका पर्दछ । त्यस्तै उत्तरमा जुगल गाउँपालिका र पाँचपोखरी गाउँपालिका पर्दछ भने दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ ।

यस नगरपालीकाको प्रमुख नदीनालाहरू : सुनकोशी, बलेफी खोला, कुविण्डे खोला, इन्द्रावती, कुम्बेश्वोर खोला, झ्याडी खोला, मगुवा खोला हुन् भने यहाँको प्रमुख धार्मिक स्थल तथा  पर्यटकीय स्थलहरू अन्तर्गत गौरती भिमेश्वोर मन्दिर (पीपलडाँडा), भदौरे गणेश मन्दिर (सनोसिरुबरी), हर्लङ्ग बर्लंङ्ग महादेव मन्दिर (स्याउले), साँगाचोकगढी (साँगाचोक), गणेश र भिमसेन मन्दिर (चौतारा), कृष्ण मन्दिर १०७ वर्ष पुरानो (चौतारा), चण्डेश्वरी मन्दिर (सनोसिरुबरी), दक्षिणकाली मन्दिर (पीपलडाँडा), देवीथान १२२ वर्ष पुरानो (गिदाने), नारायण स्थान, रक्तकालिका मन्दिर (स्याउले) आदि पर्दछन् ।

यस नगरपालिकामा रहेको पर्यटकीय सम्भावनाको अवस्था, विकास र विस्तारमा आधारित रहेर हामीले चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर सीता थापा सँग कुराकानी गरेका छौँ ।

१) चौतारा साँगाचोकगढी नगरपालिकामा पर्यटनको के कस्तो सम्भावना छ ?

सदरमुकाम समेत रहेकाे नगरपालिका भएकाले पनि यहाँ पर्यटन व्यवसायको राम्रो सम्भावना छ । यहाँ रहेको सुकुटे विच, रानीपोखरी, साँगाचोकगढी, ओखरेनी होमस्टे, हर्लङ्ग बर्लंङ्ग, बुद्ध गुम्बा लगायतका अन्य विभिन्न मन्दिरहरूले पनि राम्रो पर्यटन व्यवसायको सम्भावना बोकेका छन् ।

पर्यटन सँग जोडिएर पनि सुकुटे क्षेत्रले र्याफटिङको सुविधा मार्फत अन्तराष्ट्रिय पर्यटकलाई समेत आकर्षित गरेको छ भने यहाँको चर्चित मन्दिर गौरतीमा पनि विभिन्न मेला लाग्दछ जसले स्थानीय व्यवसाय फस्टाउन मद्दत गरिरहेको छ ।

यो सँगै यस नगरपालिका भित्र भूत छाँगा पनि पर्दछ । जसको नामाकरण स्थानीयले घाँस काट्न जादाँ भूतले तर्साउने, डर देखाउने जस्तो भ्रम हुने आधारमा बनेको भनिने गरिन्छ ।  यो चौताराबाट ४ किलोमिटरको दुरीमा अवस्थित छ ।

यी लगायत चौतारा क्षेत्र भित्रै पनि १२२ र १०७ वर्ष पुरानो मन्दिरहरू रहेकाले हाम्रो यस चौतारा साँगाचोक नगरपालिका पर्यटकीय हिसाबले  महत्त्वपूर्ण रहेको छ ।

२) पर्यटकलाई आकर्षित गर्न केकस्ता योजनाहरू छन् ?

सामान्यतया: जुन संचालनमा रहेका र परम्परागत रूपमा चलिरहेका ठाउँहरू आफ्नै ढंगले चलिरहेका छन् । यी चलिरहेका ठाउँहरुलाई पनि हामीले समय र आवश्यकता अनुसार केही परिमार्जन गर्न खोजेका छौँ भने साथै हामीले सुकुटेबाट पैदल मार्ग हुँदै रानीपोखरी साँगाचोकगढी पुग्ने मार्ग संचालन गर्न खोजेका छौँ ।

यस्तै चौतारा भित्रकै कृष्ण मन्दीर, रंगशालामा केही काम गरिरहेका छौँ भने यस सँगै हामीले हर्लङ्ग बर्लंङ्ग, गौरतीको मन्दिर हुँदै ओखरेनी र चियाबगानमा पुग्नको निम्ति के कसरी हुन्छ गुरू योजना बनाई रहेका छौँ । यी लगायत अन्य क्षेत्रमा पनि काम गरिरहेका छौँ ।

३ ) पर्यटकीय क्षेत्रमा बाटो, होटेल र होमिस्टेको कस्तो सुविधा छ ?

सडकमार्गको लगभग सबै क्षेत्रमा व्यवस्था छ । नभएका ठाउँहरूमा पनि हामीले स्थरउन्नतीका निम्ति पहल गरिरहेका छौँ । यहाँ अरनिको रिसोर्ट, जुगल, लामटाङ, नमस्ते लगायतका होटेलहरू छन् । होमिस्टे अन्तर्गत चौतारा होमिस्टे र ओखरेनी होमिस्टेहरू छन् ।

४ ) यस नगरपालिकाको सबैभन्दा चर्चित पर्यटकीय स्थल कुन होला ?

यस नगरपालिकाको सबैभन्दा चर्चित पर्यटकीय स्थल अन्तर्गत धर्मिक हिसाबले हेर्ने हो भने गौरती मन्दिरलाई लिन सकिन्छ । अर्को मनोरञ्जात्मक हिसाबले हेर्ने हो भने सुकुटे क्षेत्र पर्दछ ।

५) यहाँको विशेष खाना ?

यहाँको विशेष खाना टिपिकल नेपाली खाना नै हो । जसमा ढिँडो अलि बढी फेमस छ ।

६) जुगल हिमाललाई पर्यटकीय हिसाबले कसरी लिनुभएको छ ?

जुगल हिमाल जुगल गाउँपालिकामा पर्दछ । हिमाल हेर्ने भएकोले चौतारा क्षेत्रलाई नै केन्द्रित गर्ने हो भने पनि यहाँ बाट हिमाल सजीलै देख्न सकिन्छ । अन्य हिमाल देखिने क्षेत्रहरू पनि हामीले स्थलगत भ्रमण गरिरहेका छौँ ।


(पर्यटकीय सम्भावना बोकेको मुलुक नेपालका स्थानीय तहहरूले पर्यटकीय क्षेत्रको उत्थान, विकास र विस्तार गर्नका निम्ति केकस्ता गतिविधिहरू गरिरहेका छन् ? स्थानीय तहका सम्भावना र समस्याहरू केके छन् ? पर्यटकीय गुरुयोजनाहरू केकसरी अघि बढिरहेका छन् ? लगायतका विषयवस्तुहरूमा केन्द्रित भई तयार पारिएको यो दोस्रो अंक हो । -सम्पादक )

पहिलो अंक :  पालिका र पर्यटन : खाद्य पर्यटनको विशेष सम्भावना बोकेको कटहरिया

सम्बन्धित समाचार