बुधबार , साउन ९, २०८१

चिसो स्ट्रे उर्फ उँट

सबै पक्ष राम्रो भइकन पनि समग्रमा चिसो स्ट्रे 'उँट' बन्न पुग्यो ।

image

Photo by: Himal Darpan

यहाँ जो आउँछन् 
मुटुभरि आगो,  ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरू र ठुटा सपनाहरू सोहोरेर जान्छन् 

यस्तो छ यो चार भञ्ज्याङ् खाल्टो
एउटा चिसो एस्ट्रे जस्तो छ

यो चार भञ्ज्याङ् खाल्टो । ( भूपी शेरचन, कविता)

यसै कवितामाथि आधारित रहेर बनेको चिसो स्ट्रे नामैको फिल्म नेपाली हलहरूमा लागि रहेको छ । फिल्मको निर्देशन – गज्जब । निर्देशक दिनेश पाल्पाली (दिन्स) को मेहनतको प्रशंसा गर्नमा कुनै कन्जुस्याइँ गर्नुहुन्न । 

पाल्पालीको निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रवीन तामाङको मुख्य भूमिका छ। छायाङ्कनमा भने उज्ज्वल बस्ताकोटीले आफ्नो क्षमता देखाएका छन् । 

कलाकारहरूको कुरा गरौँ । हरेक कलाकारले आफ्नो भूमिका जीवन्त बनाएर निभाएका छन् । फिल्म सकिएपछि तपाईँले सम्झिने भनेकै कलाकारको अभिनय हो । अभिनयबाहेक फिल्मको स्मरणयोग्य पक्ष के छन्, त्यसको चर्चा गरौँ । तर, त्यहि सकिएन । स्मरणयोग्य कुरा स्मरण गर्न सकिएन ।

भूपीलाई पढेका हुँ भन्नेहरूले चोकतिर हल्ला फिँजाएका छन् – ‘चिसो एस्ट्रे : काठमाडौंमाथि एउटा ‘क्लासरुम’ फिल्म’, ‘चिसो शहरमा छरिएका काँटीहरू गन्ने ‘चिसो एस्ट्रे’ र आदिइत्यादी । स्याबासी, वाहीवाही र तारिफैतारिफ ।..

सबै कुरा यति राम्रो रहेको फिल्म एक हप्ता पनि नपुगी हल बाहिर निस्किन किन हतार गरिरहेको छ ?  एउटै कारण हो – फितलो स्क्रिप्ट । भूपी शेरचनको मात्र ४६ शब्दको कवितालाई दुई घण्टा लगाएर पनि फिल्मले ‘चिसो स्ट्रे’ प्रमाणित गर्न सकेन । भूपीका शब्दको अर्थ खुलेन । 

दिनेश पाल्पालीको निर्देशनमा भविष्य छ । पटकथामा अझै मेहनत गर्नुपर्ने देखिन्छ । चिसो स्ट्रेको अर्थ खुलाउनका लागि । प्राय सबै पात्र बीपी (BP) छन् । अर्थात् बाबू पीडित । तर कसरी बाबू पीडित, त्यो कसैलाई थाहा छैन । न कलाकारलाई, न दर्शकलाई । सायद पटकथाकार/ निर्देशक लाई मात्रै थाहा छ कि ?

कथा काठमाडौंकै हो तर, फिल्म खै कसरी काठमाडौंलाई चिसो स्ट्रेको बिम्बमा देखायो ? मैले बुझ्न सकिनँ । पहाडबाट चिसो स्ट्रे (काठमाडौं ?) मा आएको केटो काठमाडौं आउनासाथ फरर ‘इङ्लिश’ बोल्न थाल्छ । सरर गाडी चलाउन थाल्छ । पाखे केटाको असाधारण क्षमता देखाउनु स्क्रिप्टको कमजोरी हो । वा पटकथाकारको पहाडमा त्यो क्षमताका मान्छे छन् ?

स्क्रिप्ट अनगिनत समस्याहरू छन् । स्क्रिप्ट यतिसम्म फितलो भयो कि पाखे केटो ‘सिटी(city) भनिरहेको छ, फ्रान्सबाट आएकी केटी ‘सहर’ भनिरहेकी छ । म जस्तो दर्शकले यस्तो कसरी भयो भनेर कारणको सोधीखोजी गर्नु स्वाभाविक नै हो । 

फिल्म कस्तो छ भनेर प्रश्न गर्नुहुन्छ भने मेरो जवाफ हुनेछ, ‘चिसो एस्ट्रे नामको सुप्रसिद्ध (?) फिल्म ठ्याक्कै जनावर ‘उँट’ जस्तै छ ।’ उँट किन जोडिएको भन्नुहोला ? एउटा कथा छ, सुन्नुहुन्छ ? पटकथा होइन, यसैले सुन्नुहोस् । समय खेर नजाने कुरामा ढुक्क हुनुहोस् ।

कथाअनुसार, भगवान्ले यस संसारको निर्माण गरिसकेपश्चात् एक दिन सोचछन्, एउटा सुन्दर जीव बनाउनुपर्यो । तर कसरी ? उपाय निकालेछन् । उपायअनुसार, ‘संसारका सम्पूर्ण जीवजन्तुमध्ये हरेकबाट एक-एक वटा सुन्दर कुरा थुत्ने । यसपछि एउटा सुन्दर जीवको निर्माण गर्ने ।’ यसैअनुसार, भगवान्ले मृगका आँखा, बाख्राको थुतुनो, हात्तीका खुट्टा, मजबुत ढाड, जिराफको जस्तो घाँटी हालेर जनावर बनाउँदै जाँदा ‘उँट’ बन्न पुगेछ ।.. 

सबै पक्ष राम्रो भइकन पनि समग्रमा चिसो स्ट्रे ‘उँट’ बन्न पुग्यो ।

नेपाली दर्शकलाई सुझाव । फिल्म पटकथा मात्रै हैन । दृश्य र सङ्गीत पनि हो । त्यसैले बाकी कथाबारे म केही बोल्दिनँ । हजुरहरू नेपाली फिल्मलाई माया गर्नुहुन्छ भने एकपल्ट फिल्म हल पुग्नुस् । फिल्म हेरिरहँदा चाहिँ फिल्मले तानीरहन्छ । निर्माता महेश बाबू तिमल्सिनालाई बधाई । उँट भित्राउनु भयो । 

अन्त्यमा, सम्पूर्ण टिमको मेहनतलाई सलाम । आगामी फिल्म कमीकमजोरी रहित हुनेछन् । हामी यही आस गरौँ ।

Tags:

सम्बन्धित समाचार