शुक्रबार , मंग्सिर २३, २०७९

अघिल्लो चुनावभन्दा यसपालि करिब ७ प्रतिशत कम मतदान

निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक ६१ प्रतिशत मतदान भएको छ । यो निर्वाचन आयोगको अपेक्षाभन्दा कम हो ।

image

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यसपालि २०७४ को निर्वाचनको तुलनामा कम मतदान भएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक ६१ प्रतिशत मतदान भएको छ । यो निर्वाचन आयोगको अपेक्षाभन्दा कम हो ।

अघिल्लोचोटि २०७४ मंसिर १० र २१ गते गरी दुई चरणमा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६८.६७ प्रतिशत मतदान भएको आयोगको विवरण छ । यसपटकको निर्वाचनमा भएको मतदानको प्रारम्भिक विवरण हेर्दा अघिल्लो पटकभन्दा ७.६७ विन्दुले कम मतदान भएको देखिएको हो ।

त्यस्तै, यो निर्वाचनमा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको तुलनामा पनि कम मतदान भएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा ६६.८६ प्रतिशत मत खसेको थियो ।

२०७४ को चुनावमा अन्तिम मतदाता नामावलीमा नाम रहेका मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ९ सय ३८ थियो। तीमध्ये १ करोड ५ लाख ९३ हजार ९ सय ९१ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

यसपटकको चुनावमा अन्तिम मतदाता नामावलीमा रहेका मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० थियो । प्रतिनिधिसभा र प्रदेशसभाको अघिल्लो चुनावभन्दा यसपटक थपिएका मतदाता संख्या २५ लाख ६० हजारभन्दा बढी छ ।

निर्वाचन आयोगका अनुसार आइतबार केही स्थानको चुनाव स्थगित भएको छ। नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौर लगायत अन्य आठ स्थानसमेत गरी कुल १५ मतदान स्थलमा मतदान स्थगन भएको आयोगले जनाएको छ ।

Tags:

सम्बन्धित समाचार