बिहिबार , मंग्सिर १४, २०८०

राष्ट्रियसभाबाट पुनः पारित भयो नागरिकता विधेयक

image

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पारित भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक प्रस्तुत रूपमा पुनः बहुमतले पारित गरेको हो ।

विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाणले नेपालमा रहेका सबै नेपाली नागरिकलाई अनागरिकबाट नागरिक बनाउन विधेयक ल्याइएको प्रष्ट पारे ।

नेपालको राष्ट्रियतालाई बलियो पार्ने सरकारको सदाशयता रहेको जनाउँदै उनले नागरिकता समस्या समाधान गर्नु सबैको साझा दायित्व भएको बताए । २०६३ को अन्तरिम संविधानमै भएको व्यवस्थाअनुसार २०७२ सालको संविधानमा नागरिकतासम्बन्धी प्रावधान राखिएको र संविधान निर्माण हुँदा सबै दलको सहमति रहेको उनको स्पष्टोक्ति थियो ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको भन्दै गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकि थिइन् ।

राष्ट्रपतिबाट फिर्ता आएको सो विधेयक यही भदौ दुई गते प्रतिनिधिसभाबाट बिना संशोधन पुनः बहुमतबाट पारित भएको थियो । प्रतिनिधिसभामा उपस्थित एक सय ९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा एक सय ३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो । राष्ट्रियसभाको अर्को बैठक आजै नौ मिनेटपछि बस्नेछ ।

सम्बन्धित समाचार