शुक्रबार , अषोज १४, २०७९

संस्कृतिलाई पर्यटनसँग जोडौँ 

जातिगत विविधता अनुसार सांस्कृतिक सङ्ग्रहालय, होमस्टे, सांस्कृतिक नृत्य, परम्परागत खानपान र भेषभुषाको विकास  र संवर्द्धन गर्दै तिनलाई पर्यटनसँग जाेड्न सकिए नेपाल पर्यटकीय गन्तव्य मात्रै नभएर अध्ययन र अनुसन्धान गर्ने थलाेको रूपमा समेत विकसित हुने देखिन्छ ।

image

नेपाल सांस्कृतिक हिसाबले अत्यन्तै धनी देश हो । यहाँ सयौँ जातजाति छन्, दर्जनौँ धर्मावलम्बी छन्, त्यत्तिकै सङ्ख्यामा भाषा, संस्कृति, विशिष्ट जीवनशैली, रहनसहन, भेष-भूषा, सामाजिक मूल्यमान्यताहरू रहेका छन् । ती हाम्रा संस्कृति हुन् । संसारका मानिसहरूलाई अनौठो लाग्ने, रमाइलो लाग्ने कयौँ संस्कृतिहरू रहेका छन् । नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण रहेको छ । तिनलाई पर्यटनसँग जोड्न सकिएको छैन । पर्यटकीय आकर्षण बनाउन सकिएको छैन । नेपालमा पर्यटकीय सम्भावनाका महत्त्वपूर्ण क्षेत्रहरूमध्ये सांस्कृतिक पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । तर, नेपालमा सांस्कृतिक पर्यटन अर्थात् संस्कृतिलाई पर्यटनसँग जोड्ने विषयमा पर्याप्त बहस भएको पाइँदैन । पर्यटन व्यवसायीहरूले पनि सांस्कृतिक पर्यटनलाई खासै महत्त्व दिएको देखिँदैन ।

हाम्रा संस्कृतिलाई अब पर्यटनसँग जोड्न आवश्यक छ । संस्कृतिलाई पर्यटन मार्फत आम्दानीको स्रोत बनाउन सकिन्छ । पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्न संस्कृतिलाई देखाउन सकिन्छ । त्यसो गर्दा पर्यटकहरूलाई आनन्द प्रदान हुनुका साथै संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धनमा समेत टेवा पुग्दछ । नेपालका गाउँ टोलमा सीमित समुदायभित्र रहेका संस्कृतिले विश्वभर फैलिने अवसर प्राप्त गर्दछन् । संस्कृतिलाई देखाएर पर्यटकलाई भुलाउन सकिन्छ । पर्यटकको बसाइ अवधि लम्बिँदा हाम्रो आम्दानी समेत बढ्न जान्छ ।

हालसम्म हामीले प्राकृतिक पर्यटनलाई प्राथमिकता दिइरहेका छौँ । यहाँका हिमाल, डाँडा पाखा पखेरा, खोला, नदीनालालाई मात्रै हामीले पर्यटकीय आकर्षण मानिरहेका छौँ । विश्वभरका पर्यटकहरू केवल नेपालको प्राकृतिक सौन्दर्य हेर्नका लागि आइरहेका छन् । नेपालको प्राकृतिक विविधताका जानकार विदेशी पर्यटकहरू नेपालको सांस्कृतिक विविधताका बारेमा भने अनभिज्ञ छन् ।

प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक् मानवीय चालचलन, संस्कार, भाषा, भेष-भूषा, संस्कृतिलाई घुम्न आउने पाहुनाहरूले चासोको साथ लिनु र त्यसबाट मनोरञ्जन, आनन्द लिनु तथा खोजी गर्नुलाई सांस्कृतिक पर्यटन भनिन्छ । सांस्कृतिक पर्यटनले पर्यटकहरूलाई स्थानीय अनुष्ठान र दिनचर्यामा डुबाइदिन्छ, केवल प्राकृतिक सुन्दरता मात्र हैन, अनौठा नयाँ अनुभवहरूको सम्झनाहरू पनि साझेदारी गर्दछ । त्यस्ता पर्यटकीय गन्तव्यले स्थानीय समुदायहरूलाई आफ्नो संस्कृतिको महत्त्व दर्साउँछ । आर्थिक वृद्धि र विकासमा सहयोग पुग्दछ ।

सांस्कृतिक सम्पदाको मूल्य र महत्त्वको अनुभूति दिलाउँदै संस्कृतिको संरक्षण गर्न र सांस्कृतिक विविधतालाई प्रचारप्रसारमा प्रोत्साहन दिन्छ । यसले सामूहिक पहिचान र सांस्कृतिक सम्पदामा टेवा पुग्छ । पाहुनाहरूबाट संस्कृति आदान प्रदान र सिक्ने सिकाउने अवसर प्राप्त हुन्छ । फलस्वरूप पर्यटनलाई थप आकर्षण गर्दछ र आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्नुका साथै रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । तसर्थ, हरेक भाषा संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक छ ।

हालसम्म नेपालमा पर्यटनको मुख्य आधार प्राकृतिक सुन्दरता  र विविधतामा सीमित हरेको छ । पर्यटन क्षेत्रलाई थप आर्थिक समृद्धिको रूपमा हासिल गर्ने हो भने, यहाँको प्राकृतिक विविधता र सांस्कृतिक विविधतालाई एकै सिक्काको दुई पाटाको रूपमा विकास गर्नु जरुरी छ ।

जातिगत विविधता अनुसार सांस्कृतिक सङ्ग्रहालय, होमस्टे, सांस्कृतिक नृत्य, परम्परागत खानपान र भेषभुषाको विकास  र संवर्द्धन गर्दै तिनलाई पर्यटनसँग जाेड्न सकिए नेपाल पर्यटकीय गन्तव्य मात्रै नभएर अध्ययन र अनुसन्धान गर्ने थलाेको रूपमा समेत विकसित हुने देखिन्छ ।

प्रकृति र संस्कृतिको वरदानको संरक्षण एवं व्यवस्थापन, सरकारको नीति, निजी र व्यवसायीहरू बीचको समन्वय, सहकार्य र मानसिकतामा व्यापक परिवर्तन हुनु पर्दछ । सांस्कृतिक, भेष-भूषा, परम्परागत विविधतालाई पर्यटन प्रवर्द्धनको अवसरको रूपमा विकास गरिनु पर्दछ । सरकारी, निजी तथा व्यावसायिक कम्पनीहरूमार्फत प्रवर्द्धित पर्यटन विकासमा सम्बन्धित समुदायहरूको सहभागितामा जोड दिनु पर्दछ । प्राकृतिक सौन्दर्यतासँगै सांस्कृतिक विविधताले सुनमा सुगन्ध थप्ने निश्चित छ ।

यसरी संस्कृतिलाई पर्यटनसँग जोडेर सांस्कृतिक पर्यटन विकास गर्न सके नेपालका लोप हुँदै गएका संस्कृतिले जीवन पाउनेछ । नेपालले आफ्नो मौलिक पहिचान सहितको समृद्धि हासिल गर्नेछ ।

संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए अस्तित्व लोप हुन्छ । संस्कृतिको संरक्षण तथा संवर्द्धनसँगै समृद्धि हासिल गर्न सांस्कृतिक पर्यटनलाई जोड दिन आवश्यक छ । हाम्रा संस्कृतिलाई पर्यटनसँग जाेडाैँ ।

सम्बन्धित समाचार