काठमाडौं । चार वर्ष अघिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलाचौकामै व्यस्त हुन्थे । वि.सं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरवास’ (होम–स्टे) सञ्चालनमा ल्याए । घरवास सञ्चालनमा ल्याएपछि उनीहरूको दैनिकी फेरिँदै गएको थियो । तर, एक वर्षमै विश्वभर कोरोना महामारी फैलियो । जसको प्रत्यक्ष असर यहाँका घरवास सञ्चालकलाई समेत पर्यो ।
करिब दुई वर्ष कोरोनाका कारण ठप्प भएको घरवास पुनः सञ्चालनमा आयो । गत असोज महिनासम्म तोरीखोला घरवासमा पाहुनाको चाप राम्रैसँग बढेको थियो । टाढा–टाढाबाट गलकोट घुम्न आउने आन्तरिक पर्यटकको वासस्थान तोरीखोला घरवास नै हुन्थ्यो । पाहुनाको आकर्षण बनेपछि घरवास सञ्चालकको आयआर्जन र जीवनशैली परिवर्तन हुँदै गएको थियो । तर, जब बजारमा महँगी बढ्यो र तरलता अभाव हुन थाल्यो त्यसपछि घरवासमा आउने पाहुना क्रमशः कम हुँदै गए । आर्थिक मन्दीले गर्दा पाहुनाको आगमन घटेपछि घरवास सञ्चालक पनि समस्यामा पर्न थालेका छन् ।
कुनै समय दैनिक ५० जनाभन्दा बढी पाहुना आउने तोरीखोला घरवासमा अहिले महिनामा पचास पाहुना पनि पुग्दैनन् । यातायात र इन्टरनेटको सहज पहुँच रहे पनि पाहुना भित्र्याउन कठिन भइरहेको छ । पहिलाको जस्तो पर्यटकीय ठाउँमा घुम्नेको सङ्ख्या घटेपछि घरवासमा बास बस्न आउने पनि घटेको सञ्चालकको भनाइ छ । पाहुनाका लागि पालेका स्थानीय जातका कुखुरा घरवास सञ्चालकले बाहिर बजारमा लगेर बेच्न बाध्य भएका छन् ।
घरवास सञ्चालक सीता पुनले भने, “सबै व्यवस्थापन राम्रो गर्दै गएका थियौँ, दैनिक पाहुनाको चाप पनि बढेको थियो, चार-पाँच महिना भयो, यहाँ आउने पाहुना निकै कम छन्, हाम्रो कमी कमजोरीको कारणले त होइन होला, सबैले राम्रो छ भन्नुहुन्थ्यो, अहिले पाहुना ह्वात्तै घटेपछि हामीहरूलाई पनि अचम्म लागेको छ ।”
चार वर्षदेखि सञ्चालनमा आएको तोरीखोला घरवास गलकोटको हटिया र नरेठाटी बजारबाट नजिकै रहेको छ । हटिया बजारबाट एक घण्टा र नरेठाटी बजारबाट आधा घण्टामा यहाँ पुग्न सकिन्छ । स्थानीयले पाँच घरमा घरवास सञ्चालन गरिरहेको पुनको भनाइ छ । शान्त वातावरण, गाउँले हावापानी र लोकल खानाको स्वाद लिनका लागि पर्यटक यहाँ आउने गरेको सञ्चालक पुनको भनाइ छ ।
गलकोट क्षेत्रमा तोरीखोला घरवाससँगै वडा नम्बर १० को पाण्डपखानीमा सिद्धथान सामुदायिक होमस्टे, वडा नम्बर ६ मा ‘स्टोन भिलेज’ सामुदायिक होमस्टे र वडा नम्बर ११ मा रिघा सामुदायिक होमस्टे सञ्चालनमा रहे पनि पाहुना नआएको सञ्चालक बताउँछन् । यी घरवास सुरुआती चरणमा रहेको हुँदा प्रचारप्रसारलाई जोड दिएको सिद्धथान सामुदायिक होमस्टेका अध्यक्ष खिमबहादुर पुन मगरले बताए ।
वि.सं २०७५ मा गण्डकी प्रदेश सरकारको १० लाख सहयोगमा स्थापना गरेको यो घरवास कोरोना महामारीअघि निकै चलेको बताउँदै अहिले सुस्ताउँदै गएको अध्यक्ष पुन मगर सुनाउँछन् । प्रदेश सरकारले दिएको अनुदानले घरवासमा इन्टरनेट जडान, बिस्तरा तथा शौचालय व्यवस्थापन गरेको सुनाउँदै पछिल्लो समय पाहुनाको कमी हुँदै गएको उनले बताए ।
उनले भने,“होम–स्टे सञ्चालनमा आएपछि यहाँका दिदीबहिनीहरूले रोजगार पाउनुभएको थियो, यहाँका कला, संस्कृति र मौलिक परम्पराको प्रचार भएको थियो, अर्ग्यानिक उत्पादनले मूल्य पाएका थिए, खोलेको एक वर्षमै कोरोना आयो, अहिले बजारमा पैसाको अभाव छ भन्छन्, बैङ्कमा पैसा पनि पाइँदैन रे त्यही भएर होला पर्यटक घुम्न पनि आउन छोडे ।”
पाहुनाले लोकल कुखुरा, कोदोको ढिँडो, रक्सी, भाँगोको अचार मन पराउने गरेको हुँदा आफूहरूले उत्पादन बढाएको तर पाहुना कम हुँदा उत्पादन खेर जाने अवस्था आएको पुन मगरले दुखेसो पोखे । घरवासलाई थप पाहुनामैत्री बनाउन स्थानीय जुटेको उनको भनाइ छ । स्थानीय पालिकाले घरवाससम्म पुग्ने सडक र त्यस क्षेत्र वरपर रहेका धार्मिक तथा पर्यटकीय स्थललाई व्यवस्थित गर्न थालेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।
उनले पाहुना भित्र्याउनका लागि घरवास सञ्चालकको व्यवहार, यहाँ पाइने परिकार र सरसफाइ मुख्य विषय रहेकाले त्यसलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले सहयोग गरिरहेको बताए । घरवास सञ्चालनसम्बन्धी तालिम, खाना पकाउने तरिका आदि विषयमा थप तालिम प्रदान गर्न आवश्यक रहेको बताउँदै नगरपालिकाले त्यसको व्यवस्था गर्ने भण्डारीको भनाइ छ ।
“अहिले यहाँ जति पनि होम–स्टे छन्, ती ठाउँ पर्यटकीय स्थल वरपर छन्, खास गरी यी ठाउँमा पर्यटक आउँछन् र उनीहरूलाई खाना बस्नको समस्या नहोस् भन्ने हिसाबले होम–स्टे सञ्चालन भएका हुन्”, उनले भने, “स्थानीय सरकारले पर्यटन प्रवर्धन गर्ने र ती स्थानसम्म पुग्ने सडकलाई व्यवस्थित गर्ने जिम्मा हाम्रो हो, होम–स्टे सञ्चालकले आवश्यक सहयोग माग्ने र सेवालाई गुणस्तरीय बनाउन सके राम्रोसँग चल्छन् भन्ने हामीहरूलाई लागेको छ ।”
उनले पर्यटनमार्फत गलकोट समृद्ध बनाउने लक्ष्य लिएको बताउँदै पर्यटन प्रवर्धनमा नगरपालिकाले काम गरिरहेको बताए । गाईघाट झरना, टेउवाको मूर्तिकला, गलकोट दरबार, घुम्टे लेकलगायत धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि विगतका वर्षदेखि पूर्वाधार निर्माण गर्दै आएको प्रवक्ता भण्डारीको भनाइ छ ।
रासस