बिहिबार , जेठ १८, २०८०

पुनर्निर्माणको पर्खाइमा ऐतिहासिक ज्यामरुङ दरबार

करिब तीनसय वर्ष पहिले (वि.सं. १७६०-१७७०) निर्माण गरिएको ज्यामरुङ दरबार वि.सं. २०५९ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्धको क्रममा जलाएका थिए । दरबार जलेर ध्वस्त भएपछि त्यहाँ रहेका ऐतिहासिक सामानहरू खण्डहरमा परिणत भएका छन् ।

image

  • सिर्जना लामिछाने

राजधानीसँग जोडिएको धादिङ जिल्ला ऐतिहासिक, सामाजिक, धार्मिक एवं पर्यटकीयस्थलहरूले सुसम्पन्न जिल्ला हो । सोलुखुम्बुपछि धेरै पर्यटन व्यवसायी भएको जिल्लाको रूपमा  धादिङको नाम आउने गर्दछ । विडम्बना ! राजधानीसँग सीमाना जोडिए पनि प्रचारप्रसारको अभावका कारण जिल्लामा पर्यटकीय गतिविधिहरू बढ्न सकेको छैन । सोही कटुयथार्थतालाई मध्यनजर गर्दै आज हामीले धादिङको ऐतिहासिक ज्यामरुङ दरबारको बारेमा चर्चा गर्न गइरहेका छौँ ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. ११ (साबिक ज्यामरुङ गाविस वडा नं. ८) मा रहेको ऐतिहासिक ज्यामरुङ दरबारले धादिङको प्रमुख पर्यटकीयस्थलमध्ये एक बन्न ल्याकत राख्दछ । यहाँबाट मनै लोभ्याउने ग्रामीण दृश्यहरूको अलावा कलकल बगिरहेको नेत्रावती खोला, पारि पहाडका टुप्पाहरूमा सेता मजेत्रो गुथेजस्ता देखिने हिमाच्छादित शृङ्खलाहरू, कृषि पर्यटनका अनगिनत सम्भावनाहरू देख्न सकिन्छ । गङ्गाजमुना मन्दिर, त्रिपूरासुन्दरी माई मन्दिर, नेपालकै ठूलो टारहरूमध्ये एक सल्यानटारको रमणीय दृश्य एवं सांस्कृतिक विरासतका विभिन्न पहेलुहरू यहाँको मौलिकता हो ।

करिब तीनसय वर्ष पहिले (वि.सं. १७६०-१७७०) निर्माण गरिएको ज्यामरुङ दरबार वि.सं. २०५९ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्धको क्रममा जलाएका थिए । दरबार जलेर ध्वस्त भएपछि त्यहाँ रहेका ऐतिहासिक सामानहरू खण्डहरमा परिणत भएका छन् । माओवादी द्वन्द्वताका जलाइएका दरबारलाई भुईँचालोले थप दक्खल पुर्‍याए पनि पुनर्निर्माणको कामले गति लिन सकेको छैन ।

दरबारभित्र मौजुदा रहेको पुरानो-पुस्तौनी गरगहना, ऐतिहासिक सैनिक हातहतियार, प्रयोगमा नरहेको अवस्थाको कालीनाल भरुवा बन्दुक, निशान, शिलापत्र, देवताका चाँदीका गरगहना, पूजाका सामग्री, पानस, सानदार डोली, छाता, पुराना मुद्रा, धान, मकै, गहुँ लगायतका खाद्य सामग्री समेत नष्ट भएको थियो । ज्यामरुङ दरबारकै हकाधिकार सम्हाल्दै आएका हरिहर विक्रम शाहले नष्ट भएका सम्पूर्ण सामग्रीको ८५ लाख बराबर मूल्य पर्ने यसअघि नै सार्वजनिक रूपमा बताइसकेका छन् । नेपालकै प्राचीन कला र संस्कृति झल्काउने दरबार मास तोलिया इट्टा एवं लाहा प्रयोग गरी निर्माण गरिएको थियो । हाल तबेला घरबाहेक अरू अवशेषहरू खण्डहरमा परिणत भएका छन् ।

दरबारको इतिहास :

वि.सं. १७६०-१७७० को बिचमा तत्कालीन गोरखा राज्यका राजा नरभूपाल शाहले कलात्मक बुट्टा कुँदेर यस दरबारको निर्माण गरेका थिए ।

दरबार निर्माण भएको करिब ५२ वर्षपश्चात् (नेपाल एकीकरणको क्रम, वि.सं. १८२२ साल आसपास) पृथ्वीनारायण शाहले प्रथमपटक ज्यामरुङ दरबारमा पाइला टेकेका थिए, यसपश्चात् पटकपटक उनी यहाँ आएका थिए । यसताका  बाबु पृथ्वीनारायण शाहलाई सहयोग गर्न उनका छोरा सिंहप्रताव शाह लामो समय यही दरबारमा बसेका थिए । तत्कालीन चौतरिया नरु शाहलाई नेपाल एकीकरणका बेला विभिन्न युद्धमा सेवा पुर्‍याएबापत ज्यामरुङ दरबार जिम्मा लगाइएको बताइने गरिएको छ, तर कहिले दिएको भन्नेबारेमा तिथिमिति भने प्रस्ट छैन ।

एकीकरणको समयमा ज्यामरुङ दरबारमा त्रिपुरा सैनिक दल कम्पनीको निशान एवम् सैनिक हातहतियार भण्डारण गर्ने गरेको इतिहास भेटिन्छ । एकीकरणको समयमा सैनिक तालिम शिविरको रूपमा पनि यस दरबारलाई प्रयोग गर्ने गरेको पाइएको छ । दरबारको पश्चिमतर्फ रहेको अग्लो डाँडा तत्कालीन सैनिकले बुर्जाघरका रूपमा प्रयोग गरेको र बुर्जाघर दुश्मनसँग लड्न प्रयोगमा ल्याइएको बताइन्छ । यस डाँडाका ढुङ्गाहरू अझै पनि गोली लागेको निशानाहरू भेटिने गर्दछ, सोहीकारण यस डाँडाको पनि संरक्षण गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ ।

पछि, पृथ्वीनारायण शाह काठमाडौँको दह चोकमा र छोरा सिंहप्रताव शाह नुवाकोट बस्न थालेपछि यस दरबारमा शाही चहलपहल कम हुन् गएको अनुमान गर्न सकिन्छ । यसक्रममा दरबारको भौतिक संरचना केही खस्किएको अनुमान पुनः निर्माणको लागि तत्कालीन राज ज्ञानेन्द्र वीरविक्रम शाहसँग हरिहर विक्रम शाह लगायतले चढाएको बिन्ती पत्रबाट थाहा हुन आएको छ । पछि, राजा त्रिभुवनको पालामा ज्यामरुङका शाही ठकुरीको दरबारसँग वैवाहिक सम्बन्ध समेत गाँसिएको थियो ।

वडाध्यक्ष रामबहादुर श्रेष्ठका अनुसार एकसमय यस दरबारमा राजा गर्भे शाहीको बसोबास रहेको थियो । त्यसपछि राजा रेशम विक्रम शाह र क्षेत्र विक्रम शाह लगायत अरू शाहहरूले दरबार भोगचलन गरे । श्रेष्ठले बताएका यी राजाहरू नरु शाहको सन्तति हुन् या होइनन् यकिन गर्नुपर्ने भएको छ ।

साथसाथै, ‘आर्खेत बजार र ढुंगेफाँटका दुई बस्ती अझै पनि ज्यामरुङ दरबारका राजा लीलाविक्रम शाहको नाममा रहेको छ’ भनेर  स्थानीय ईश्वरी लामिछानेले मिडिया बोलेको समेत पाइएकाले ‘लिलाविक्रम शाहको बारे’मा पनि खोजी गर्न आवश्यक छ । कुन-कुन राजाले कुन-कुन समयमा दरबार भोगचलन गरे भन्नेबारे जानकारी प्राप्त गर्नुपर्ने भएको छ ।

दरबार पुनर्निर्माण समस्या:

४४ फिट उचाइ र २८० फिट चौडाइ रहेको दरबारको खण्डहरमा हाल शाह वंशीय राजाका पूजासम्बन्धी कार्य सञ्चालनमा हुँदै आएको पाइन्छ । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व राख्ने ज्यामरुङ दरबारको अहिलेसम्म पुनर्निर्माण भएको छैन । यति ठुलो ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको ज्यामरुङ दरबार पुनर्निर्माण र पहलकर्ताको पर्खाइमा बसिरहेको छ । हाल यहाँ एउटा सानो गुठी जस्तो मात्र बनाइएको पाइन्छ।

जलेर ध्वस्त भएको दरबारको भग्नावशेषको रूपमा टुटेफुटेका केही इट्टाका टुक्रा मात्रै देखिनुले दरबारको पुनर्निर्माण कार्य स्थानीयस्तरबाट मात्रै सम्पन्न हुने अवस्था पनि देखिँदैन । फेरी, यता पुनर्निर्माणको कार्यमा पनि जग्गा सम्बन्धी विवाद निम्तिएको पाइएको छ ।  ज्यामरुङ ८ ग २२९ नं. कित्ताको ६-८-३-२ क्षेत्रफल व्यक्तिको नाममा रहेकाले पुरातात्त्विक विभागले पनि पुनर्निर्माण कार्य सम्पन्न गर्न कानुनी समस्या देखाएर पन्छिएको अवस्था छ । तर, दरबार भोगचलन गर्दै आएको हरिहरविक्रम शाह र उनका भाइ राजेन्द्रविक्रम शाह भने दरबारको कुल क्षेत्रफलमध्ये पूर्वतर्फको केही क्षेत्रफल आफूहरूकै हुने र पहिले दरबार रहेको क्षेत्रफल पुनर्निर्माणका लागि दिइने बताउँदै आइरहेका छन् ।

ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको दरबार भएकोले भोगचलन गर्दै आएकालाई मुआब्जा दिइएर भए पनि दरबार पुनर्निर्माण गर्नुपर्ने स्थानीयवासी बताउँछन् । यस भेगमा नेपालको थुप्रै गढीहरूमध्ये महत्त्वपूर्ण गढीसमेत मानिएको हुँदा यथाशक्य पुनर्निर्माण कार्य सुरु गर्नुपर्ने स्थानीयवासीको ठहर छ । यसो हुन् सकेमा पालिकाले आन्तरिक पर्यटनबाट मात्रै पनि मनग्य आम्दानी गर्न सक्दछ ।

कसरी पुग्न सकिन्छ ? 

तपाईँ धादिङको सदरमुकाम धादिङवेशीसम्म आई पुगिसक्नुभएको छ भने दरबार पुग्न तपाईँलाई धेरै समय लाग्दैन । धादिङवेशीबाट करिब २५ किलोमिटरको दुरीमा रहेको यस दरबार पुग्नको लागि पुछार बजारबाट बस अथवा बाइकको प्रयोग गर्न सक्नुहुनेछ । सार्वजनिक बसको यात्रा गर्दै हुनुहुन्छ भने तपाईँलाई ३५ मिनेटको समय लाग्ला, बाइकमा हुनुहुन्छ भने त १५ मिनेटको छोटो समयमै तपाईँ दरबार पुगिहाल्नु हुनेछ ।

(यहाँ प्रयोग भएका फोटोहरू सन् २०१६ मा ज्यामरुङ दरबार नामक फेसबुक पेजबाट सार्वजनिक भएका फोटोहरू हुन्।)


स्रोत-सन्दर्भ :

दुई गाउँ अझै ‘श्री ५’ कै नाममा, अन्नपूर्ण पोस्ट
नेत्रावती अनलाइन
राजु झल्लु प्रसाद र विविध स्रोत

सम्बन्धित समाचार