सोमबार , जेठ १४, २०८१

सम्भावना भएर पनि ओझेलमा ढोरपाटन

image

काठमाडौं । कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यसमाथि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि त्यहीँ रमाइरहन मन लाग्छ । ढोरपाटन त्यस्तै आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारी पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् ।

पश्चिम नेपालमा धौलागिरि हिमशृङ्खलाभित्र पर्ने ढोरपाटन समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटरदेखि पाँच हजार ५०० मिटर उचाइमा अवस्थित छ । सिकार आरक्षको केन्द्र रहेको ढोरपाटन बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन पूर्वाधारका हिसाबले भने पछि परेको छ ।

ढोरपाटन सिकार आरक्षको स्थापना वि.सं २०४० मा भए पनि वि.सं २०४४ मा मात्र सरकारी मान्यता प्राप्त गरेको थियो । त्यसयता विदेशीको आकर्षणको केन्द्र बनेको ढोरपाटनले अहिलेसम्म पनि पूर्वाधारमा फड्को मार्न सकेको छैन । आठ किलोमिटर क्षेत्रमा फैलिएको हरियाली उपत्यका, बुकी क्षेत्रमा फुलेका सुन्दर फूलहरू, ढोरबराहको मुटुभित्रबाट निस्किएको कञ्चन उत्तरगङ्गा नदीले हर कोहीको मन हर्ने गर्छ ।

श्री स्वस्थानी व्रत कथामा भने झैँ ढोरपाटनको सौन्दर्यताको बखान नगर्ने सायदै हुन्छन् । पर्यटन, सिकार र कृषिले परिचित नेपालको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत ढोरपाटन क्षेत्र विश्वमै परिचित गन्तव्य हो । केही पर्यटकीय गन्तव्य पूर्वाधारका कारण चर्चित छन् भने केही गन्तव्य सौन्दर्यताका लागि चर्चित छन् । बागलुङको ढोरपाटन साहसी पर्यटन र सौन्दर्यता अवलोकनका हिसाबले चर्चित छ । ढोरपाटन सिकार पर्यटकका लागि चाखलाग्दो गन्तव्य हो ।

भौगोलिक विकटता, सडक सकस र पर्यटकीय पूर्वाधारका कारण ढोरपाटनप्रति नेपालका अन्य गन्तव्यमा जस्तो पर्यटकको व्यापक आकर्षण भने छैन । सिकार पर्यटनमा विदेशी पर्यटकहरूले मात्रै पहुँच पुर्‍याउने गरेका छन् भने आन्तरिक पर्यटक सुन्दर ढोरपाटन अवलोकनमा सीमित मात्रामा आउने गरेका छन् ।

पछिल्लो समय पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ । ढोरपाटनको सौन्दर्यता र अपार सम्भावनालाई बाहिर ल्याउन आवश्यक रहेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बताए । “यहाँको सम्भावनाको उजागर गर्नसके ढोरपाटन पर्यटनबाटै समृद्ध बन्न सक्दछ” उनले भने, “ढोरपाटन ठुलो परियोजना भएकाले नगर एक्लैले धेरै काम गर्न सक्दैन, सङ्घीय सरकारले सय गन्तव्यमा सूचीकृत भइसकेको क्षेत्रलाई प्राथमिकतामा राखिरहेको छैन, नगरपालिकाबाट मोटर बाटो स्तरोन्नति, घरबास प्रवर्धन अभियान तथा तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।”

नगर प्रमुख नेपालीले चालू आर्थिक वर्षमा मात्रै ढोरपाटन क्षेत्रको विकासका लागि रु एक करोड बजेट कार्यान्वयनको चरणमा रहेको बताए । नगरपालिकाले ढोरपाटन उपत्यकामा रहेको नौवटै वडाको समन्वयमा कृषि पर्यटनसँग जोडेर विकास गर्नका लागि डिपिआर बनाउने कार्यमा लागेको बताए । नेपालको एकमात्र यस सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष पश्चिम नेपालमा धौलागिरि हिमशृङ्खलाभित्र रुकुम, म्याग्दी र बागलुङ गरी तीन जिल्लामा फैलिएको छ ।

बागलुङ बजारबाट एक दिनको यात्रामा पुग्न सकिने ढोरपाटन क्षेत्रमा बुर्तिवाङसम्म मध्यपहाडी लोकमार्ग र बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ । सिकारका लागि प्रख्यात यस आरक्षमा पेशेवर सिकारीको अनुमति पत्र प्राप्त सिकारीले नौ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रावधान रहेको छ । आरक्षमा रहेका हिउँचितुवा, घोरल, हिमाली कालो भालु, मृग र लङ्गुरे बाँदरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ ।

ढोरपाटन उपत्यकालाई पर्यटन प्रेमीले मिनी स्वीजरल्यान्डको उपनाम दिएका छन् । विशेष गरी हिमपात भएको समयमा स्वीजरल्यान्डको झल्को दिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । स्विजरल्यान्डमा हिउँले भरिँदा देखिने दृश्य र ढोरपाटनमा हिमपात हुँदाको दृश्य एकै लाग्ने पर्यटन व्यवसायी महादेव शर्मा बताउँछन् ।

थापिँदै होटल तथा होमस्टे

ढोरपाटन उपत्यकामा पछिल्लो तथ्याङ्कअनुसार २१ वटा होटल तथा घरबास (होमस्टे)हरू छन् । ठुलो सङ्ख्यामा पाहुना पुग्दा अझै पुग्ने गरी होटल सुविधा नभएको पर्यटनकर्मीले बताउँछन् । यहाँ २१ होटल तथा होमस्टेमा दुई सय ८१ पर्यटकको मात्रै क्षमता भए पनि होटल व्यवस्थित छैनन् ।

मौसमी पर्यटक मात्रै आउने भएकाले होटल व्यवसाय फस्टाउन नसकेको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेल बताउँछन् । पौडेल भन्छन्, “पर्यटक पछिल्लो दिनमा थपिएका भए पनि समयमा भरिभराउ हुने र अन्य समयमा खाली हुँदा होटल व्यवसायी हतोत्साही हुने गरेको पाइन्छ ।”

यहाँ विदेशी पर्यटक सोझै सिकार ब्लकमा पुग्ने गरेकाले आन्तरिक पर्यटक मात्रै होटलमा बस्न आउने गरेको पौडेलको भनाइ छ । अप्ठ्यारो सडक त्यसमाथि वि.सं २०७७ भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले सडकको विभिन्न ठाउँमा क्षतविक्षत बनाएको थियो ।

बर्खामा ठाउँ-ठाउँमा झरेको पहिराले ढोरपाटनका स्थानीय र आगन्तुक पर्यटक ठुलो मर्कामा पर्दै आएको स्थानीय कूलबहादुर सुनारले बताए । उनी भन्छन्, “ढोरपाटनमा आलु स्याउ धेरै फल्छ, बाटो नहुँदा गाउँलेले सधैँ बोकेर तल झर्ने गर्थे, अन्न, लत्ताकपडा बोकेरै ढोरपाटन पुर्‍याउँथ्यौँ, अहिले केही सहज भएको छ ।”

स्थानीय नरबहादुर घर्ती मगरले यहाँका अधिकांश स्थानीयको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै पछिल्लो समय उत्पादित वस्तुले बजार पाउन थालेको बताए । उनी भन्छन्, “अहिले बजारको समस्या छैन, उत्पादन जति गरेपनि बिक्री गर्न सकिन्छ, पहिलेको जस्तो घोडा खच्चडमा बोकेर बजारमा लैजानुपर्ने अवस्था छैन, अहिले त व्यापारीहरू यहीँ किन्न आउँछन् ।”

पत्तो छैन बुँकीको सौन्दर्यता

ढोरपाटन उपत्यका आउने अधिकांश पर्यटकलाई बुकीको सौन्दर्यताको जानकारी नै छैन । बुँकी सौन्दर्यताका लागि निकै आकर्षक गन्तव्य भए पनि प्रचारप्रसारको अभाव छ । ढोरपाटन उपत्यका पुग्ने पर्यटकको १० प्रतिशत पर्यटकसमेत बुकी पुग्न सकेका छैनन् । सडक मार्गले नछोएको बुकी भेडीखर्क हो ।

बुँकीमा स्थानीयले भेडा बाख्रा चरनका लागि लैजाने गर्दछन् । बुकी हुँदै गुरिल्ला पदमार्ग रुकुम र रोल्पा गए पनि पदमार्गको प्रवर्धन हुन सकेको छैन । ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले ढोरपाटन उपत्यकालाई एग्रो टुरिजमका रूपमा विकास गर्नका लागि नगरपालिका र सङ्घीय सरकारको सहकार्यमा गुरुयोजना बनाउन लागिएको जानकारी दिए ।

“ढोरपाटनलाई पर्यटन र कृषिका रूपमा परिचित गराउँदै कृषि पर्यटनको क्षेत्रका रूपमा विकास गर्ने गरी गुरुयोजना बनाउन थालिएको छ”, मगरले भने, “बस्ती विकास, खेतीयोग्य जमिन र सम्भावित बालीनालीको अवस्था चित्रण हुनेछ, उत्तरगङ्गा जलाशययुक्त आयोजनाको क्षेत्र, आरक्षको क्षेत्र र पर्यटकीय पूर्वाधारको क्षेत्र सबै समेट्ने गरी गुरुयोजना निर्माणमा जुटेका छौँ ।”

हालसम्म ढोरपाटन क्षेत्रसँग जोडिएको गाउँ मध्यवर्ती घोषणा हुन नसक्दा ढोरपाटन सिकार आरक्षमा सङ्कलित राजस्व केन्द्रमा गइरहेको छ । मध्यवर्ती क्षेत्र घोषणाका लागि आरक्ष र स्थानीयबिचको बुझाइमा एकरूपता नहुँदा मध्यवर्ती क्षेत्र घोषणामा ढिलाइ भइरहेको ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।

सिकार आरक्षले स्थानीय पालिकासँग समन्वय नगर्दा र मध्यवर्ती घोषणापछि स्थानीयवासीको आर्थिक तथा सामाजिक विकासमा पुग्ने फाइदाका बारेमा जानकारी नगराउँदा समस्या भएको वडाध्यक्ष मगरले बताए । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार यस वर्ष उत्तरगङ्गा नदीलाई व्यवस्थित गर्ने, बराह मन्दिरमा रहेका ढुङ्गाको बाजागाजा व्यवस्थापन र ढोरपाटन प्रवेशद्वारमा मन्दिर निर्माण गर्ने योजना बनाएको छ ।

उनले सडक निर्माण ढिलाइ हुँदा सोचेअनुसार ढोरपाटनको विकास हुन नसकेको र आगन्तुकलाई भित्र्याउन नसकेको बताए । पहिलेको तुलनामा पर्यटक बढे पनि अपेक्षाअनुसार भित्र्याउन नसकेको सुनाए ।

बढ्दै पर्यटक र राजस्व 

पछिल्लो समय ढोरपाटन आउने पर्यटकको तथ्याङ्क सङ्कलन गर्न थालिएको छ । ढोरपाटन सिकार आरक्षले ढोरपाटन उपत्यका प्रवेश गर्ने पर्यटकको आव २०७६/७७ बाट तथ्याङ्क सङ्कलन गर्न थालेको हो । यसअघि विदेशी सिकारी पर्यटकको मात्रै तथ्याङ्क सङ्कलन हुँदै आएको थियो ।

आरक्षमा आव २०७२/७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएकामा क्रमशः बढ्दै २०७७/७८ मा विदेशी र स्वदेशी गरी छ हजार सात सय तीन पर्यटकले भ्रमण गरेका थिए । त्यस्तै पर्यटकको आगमन शुल्क बर्सेनि रु छ लाखको हाराहारीमा हुने गरेकामा २०७७/७८ बढेर रु २० लाख पुगेको छ ।

आरक्षका अनुसार ढोरपाटन घुम्न आउने विदेशी र स्वदेशी दुवैको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । ढोरपाटन प्रवेश स्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७/७८ आन्तरिक पर्यटकले समेत रु एक सय प्रवेश शुल्क तिर्ने प्रावधान आरक्षले बनाएको छ ।

सोझै हेलिकप्टरमार्फत विदेशी सिकारी पर्यटक मात्रै ढोरपाटन सिकार आरक्ष पुग्ने भए पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसार हुन थालेपछि आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन् । ढोरपाटनमा सिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गर्दछन् ।

स्याउ र आलुको सम्भावना

ढोरपाटनको आलु देशभर चर्चित छ तर बजारीकरणका लागि अझै समस्या रहेको किसानहरूले बताएका छन् । आलु पकेट क्षेत्रका रूपमा रहेको ढोरपाटनको प्रमुख खाद्यान्न बाली आलु रहेको छ । स्थानीय कृषक देवबहादुर विक मौसममा आलु धेरै हुने भएकाले यसको निर्यातमा समस्या देखिएको बताउँछन् । आलु भण्डारण गृह नहुँदा किसानले थन्काएका आलु कुहिने गरेको उनको भनाइ छ ।

आव २०७५/७६ र २०७६/७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई समेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रम सञ्चालन गरी किसानलाई स्याउ खेतीप्रति जागरूक बनाइएको थियो ।

स्याउ राम्रो उत्पादन हुन नसक्दा धेरै किसान स्याउ खेतीभन्दा आलु खेतीतर्फ अग्रसर भएका छन् । पछिल्लो समय ढोरपाटन क्षेत्रमा इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिएकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि व्यावसायिक स्याउ खेतीतर्फ किसान खुसी भएका छन् ।

सडकले बदलियो जनजीवन

ढोरपाटन नगरपालिका–९ मा पर्ने ढोरपाटनको प्रवेशद्वारका रूपमा बुर्तिवाङ बजारलाई लिइन्छ । पर्यटकीय राजधानी पोखरादेखि बागलुङ हुँदै बुर्तिबाङसम्म पक्की सडकमा यात्रा गर्न पाइए पनि ढोरपाटनसम्म पुग्न सकस हुन्छ ।

राष्ट्रिय प्राथमिकताको आयोजना सालझन्डी–ढोरपाटन सडक बुर्तिवाङदेखि ढोरपाटन उपत्यकासम्मको स्तरोन्नति चलिरहे पनि अपेक्षित गतिमा काम हुन सकेको छैन । कच्ची सडकले भए पनि ढोरपाटन जोडिएपछि स्थानीय र आगन्तुकलाई केही सहज भने भएको छ ।

एक दशक अगाडिसम्म सडकले नजोडिँदा यहाँका स्थानीयवासी निकै सास्ती खेप्न बाध्य थिए । स्थानीय ६८ वर्षीय गोकुल अदैले सडकले ढोरपाटन जोडिएपछि यहाँको नागरिकको जीवनशैली र दैनिकी नै बदलिएको बताए ।

खासगरी घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय वर्षायाममा ढोरपाटन र हिउँदमा बोबाङ, अधिकारीचौरतिर झर्ने गर्छन् । यसरी घुम्ती बसाइँ गर्दा सामान ओसारपसार गर्दा निकै सास्ती खेपेको अदैको भनाइ छ । सडक सञ्चालनमा आएपछि भारी बोकेर ओसारपसारमा समस्या छैन ।

रासस

सम्बन्धित समाचार