शुक्रबार , अषोज १४, २०७९

दोलखा भिमसेनमा पाण्डवहरू गुप्तवास बस्दा बोलेको भाषा नै ‘नेपाल भाषा’ हो

मल्लकालसम्म तिब्बतको व्यापारको नाकाको रुपमा रहेको यस जिल्ला नेवार समुदायको उद्गमस्थलको रुपमा रहेको मान्यता रहेको छ । पौराणिक कालमा दोलखा जिल्ला एक देशको रुपमा विकास भएको थियो ।

image

  • जीआर रञ्‍जित

बागमती प्रदेशको पूर्वी जिल्लाहरु मध्य एकको नाम दोलखा हो । यो जिल्ला राजधानी काठमाडौंबाट १३३ कि. मी. पूर्वमा पर्दछ । यस जिल्लाको सदरमुकाम चरिकोट हो भने दोलखा नामाकरण यहाँ अवस्थित दोलखा भिमसेनको नामबाट रहन गएको हो ।

दोलखा भिमसेनलाई ‘दोलखा भिमेश्वर’ पनि भन्ने गरिन्छ । तिब्बती भाषाका तीन शब्दहरु मिलेर दोलखा रहन भएको भन्ने पनि गरिन्छ । तिब्बती भाषा अनुसार “दो”को अर्थ ढुङ्गा, “ल”को अर्थ मन्दिर र “खा”को अर्थ घर हो । यस जिल्लामा प्रशस्त मात्रामा ढुङ्गा पाइने भएकोले यहाँका हरेक घर तथा मन्दिरहरु ढुङ्गाबाट बनाइएको हुन्छ । ढुङ्गाका मन्दिर र घरहरू भएकोले दोलखा नामाकरण भएको हो भन्ने गरिन्छ ।

मल्लकालसम्म तिब्बतको व्यापारको नाकाको रुपमा रहेको यस जिल्ला नेवार समुदायको उद्गमस्थलको रुपमा रहेको मान्यता रहेको छ । पौराणिक कालमा दोलखा जिल्ला एक देशको रुपमा विकास भएको थियो । त्यस समय पाण्डवहरू गुप्तवास बसेको र सो गुप्तावास बस्दाको समयमा प्रयोग गरिएको सांकेतिक भाषा नै हाल ‘दोलखाली नेवारहरूले बोल्ने नेपाल भाषा’ हो भन्ने किम्बदन्ती रहेको छ । पछि विस्तारै यसै स्थानबाट अन्यत्र स्थानान्तरण भएको भन्ने गरिन्छ ।

सदरमुकाम चरिकोटबाट ४ किमी उत्तरपूर्वमा रहेको ऐतिहासिक सहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । तिब्बतको व्यापार नाका र व्यापारको देव भिमसेन भएकै कारण यहाँ पुजा गर्न आउने व्यापारीहरुको घुइँचो लाग्ने गर्दछ । एकै शिलालाई भीमेश्वर, भीमसेन वा भैरवको रुपमा पुजिन्छ । त्यसैले एक शीला तीन अवतार मानिने भएकोले बलि दिने कार्य भने बिहानको समयमा मात्र हुने गर्दछ । दिउँसो १२ बजे पछि भिमेश्वरको रुप धारण गर्ने मान्यता समेत रहेको छ ।

यस मन्दिरको स्थापना किराँतकालमा नै भएको अनुमान छ । हालसम्म पनि वडा दशैमा पुजा संकल्प गर्दा किराँतकालिन राजा महाराजाहरुको नाम लिने चलन रहेको छ । लिच्छवीकालिन, मल्लकालिन, शाहकालिन राजाहरु समेतको नाम लिने गरिन्छ ।

यस मन्दिरमा नित्य पूजा बाहेक भिम एकादशी, वालाचर्तुदशी, चैतेदशै, बडादशै इत्यादिमा मेला लाग्ने गर्दछ । देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रूपमा पसिना आउने गर्दछ । पसिना आएपछि पसिना पुछेको कपास पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि पुजा पठाउने चलन थियो भने हाल नेपाल सरकारबाट उक्त पुजा हुने गर्दछ ।

Tags:

सम्बन्धित समाचार