शुक्रबार , मंग्सिर २३, २०७९

२०२४ को राष्ट्रपतीय निर्वाचनमा लड्ने ट्रम्पको घोषणा

image

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् ।

अमेरिकालाई गौरवशाली र महान मुलुक बनाउन २०२४ को निर्वाचनमा उम्मेदवारी दिने घोषणा ट्रम्पले गरेको सिएनएनले जनाएको छ ।राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीका लागि आवश्यक कागजात उनले संघीय निर्वाचन समितिलाई  मंगलबार नै बुझाएका छन् ।

हालै सम्पन्न मध्यकालीन निर्वाचनमा रिपब्लिकनले उत्साही परिणाम ल्याउन नसकेको र आफूनिकट उम्मेदवार पराजित भएको अवस्थामा ट्रम्पले उम्मेदवारीको घोषणा गरेका हुन् ।

रिपब्लिकनले सिनेटमा बहुमत ल्याउन सकेन भने प्रतिनिधिसभामा सामान्य बहुमतको स्थितिमा छ । मध्यकालीन निर्वाचनमा उत्साही परिणाम नआउँदा रिपब्लिकन रक्षात्मक अवस्थामा पुगेको छ ।

उम्मेदवारी घोषणा गर्दै ट्रम्पले २०२२ को मध्यकालीन निर्वाचनको परिणामप्रति पनि असन्तुष्टि जनाएका छन् ।

‘मतदाताहरूले अझै पनि राष्ट्रको पीडालाई बुझ्न सकेनन् । उनीहरूले २०२४ मा आफ्नो मत परिवर्तन गर्नेछन्,’ ट्रम्पले भनेका छन् । ट्रम्पले उम्मेदवारी घोषणा गरिरहँदा उनीमाथि संसदमा भवनमा तोडफोड गराएको अभियोगमा अनुसन्धान भइरहेको छ ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचन परिणामलाई अस्वीकार गर्दै ट्रम्प समर्थित कार्यकर्ताले संसद भवनमा हमला गरेका थिए ।

सम्बन्धित समाचार