बिहिबार , मंग्सिर १४, २०८०

भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ एक्स्पो सुरु

image

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ सुरु भएको छ । बिहीवार बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठले एक्स्पोको उद्घाटन गरेका हुन ।

एक्स्पो उद्घाटन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजार बिस्तार भइरहेको देख्दा खुसी लागेको बताए । फर्निचरजन्य उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा यसलाई थप तीव्रता दिनुपर्ने भन्दै उनले सरकार, व्यवसायी सबैले मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।

एक्स्पो आयेजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष शुभेन्द्र जोशीले व्यवसायीको पहलले मात्र निर्यातको बाटो पहिल्याउन सजिलो नभएको भन्दै राज्यले अग्रसरता लिनुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि नै एक्स्पो आयोजना गरिएको उनको भनाइ थियो ।

नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पोले फर्निचर तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिष्थापन गर्न टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

हरेक दिन बिहान १० बजेदेखि अवलोकनकर्ताका लागि एक्स्पोस्थल खुल्ला गरिने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । साँझ ६ बजेसम्म प्रवेशद्धार खुल्ला राखिनेछ ।

प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरु सञ्चालन गर्नेछन् । विभिन्न ब्राण्डका प्रदर्शकहरुले वस्तु तथा सेवा हेरी अवलोकनकर्तालाई फर्निचर तथा फर्निसिङ, होम अप्लाइन्सेज लगायतका सेवा तथा उत्पादन अफरमा उपलब्ध गराउने छन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

१०० भन्दा बढी प्रदर्शनी कक्ष रहेको एक्स्पो अवलोकनका लागि प्रवेश निशुल्क गरिएको छ । अवलोकनकर्ताले निशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत पनि निशुल्क प्रवेश पास पाउन सकिनेछ ।

Tags:

सम्बन्धित समाचार