सोमबार , जेठ १४, २०८१

९ रोपनीमा फैलिएको एउटै विशाल ढुङ्गामाथि अवस्थित गलेश्वरधाम

रहुनदी र कालीगण्डकीको पवित्र संगममा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ गलेश्वरधाम ।

image

धार्मिक मूल्य र मान्यतामा लामो इतिहास बोकेको नेपालमा ८५ प्रतिशत नेपालीहरू वैदिक सनातन हिन्दु धर्म, धार्मिक मूल्य, मान्यता, संस्कृति र संस्कारमा ठूलो आस्था र विश्वास राख्दछन् । अनेकन् पवित्रतम् तीर्थ, नदी, पर्वत र हिमश्रृंखलाहरूले भरिभराउ यो भूमिमा ऋषिमुनिहरूले अनन्तकालसम्म तपस्या, योग साधना, भगवत्पूजन र समाधिस्थल बनाएर पवित्र तुल्याएका थिए यो धर्तीलाई । त्यस्तै, योग साधना र तपस्याका लागि सिद्धपीठको रूपमा रहेको पवित्र तीर्थस्थल हो ‘गलेश्वरधाम’

धार्मिक, ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्त्वपूर्ण मानिएको गलेश्वरधाम रहुनदी र कालीगण्डकीको पवित्र संगममा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित छ । पूर्वमा कृष्णागण्डकी, गायत्री मन्दिर, पश्चिम कालान्जरवन, पुलहाश्रम, उत्तरमा सप्तऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमश्रृंखला र मुक्तिनाथ, दक्षिण म्याग्दी सदरमुकाम बेनीबजार र म्याग्दी नदी रहेका छन् । बेनीबजारबाट तीन कि। मि। उत्तरतर्फ मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको यो धाम मुक्तिद्वारको नामबाट पनि चिनिन्छ ।

नेपाल र भारतको सीमाक्षेत्र र राजधानी काठमाडौँ हुँदै पोखराबाट गाडीमा दुई घण्टा र बेनीबजारबाट पैदल ३० मिनेट, गाडीमा १० मिनेटमा पुगिन्छ । गलेश्वरधाम नामकरणः श्रीभद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी नदीको किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गला पतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरूपले रहनुभएकोले यो तीर्थको नाम ुगलेश्वरधाम रहन गएको विश्वास गरिन्छ । साथै, गालव ऋषिले यसै धाममा शिवजीको तपस्या गरेकाले पनि ‘गलेश्वर नामले प्रसिद्ध हुन गएको भन्ने विश्वास गरिन्छ ।

स्कन्दपुराणको केदारखण्डअन्तर्गत श्रीस्वस्थानी व्रतकथामा यसै स्थानमा गला पतन भएको लेखिएको पाइँदैन र पनि सतिदेवीका साढेसात करोड पीठहरूमध्ये केही पीठहरूको मात्र कथामा उल्लेख हुनुले सतिदेवीको गला पतन भई गलेश्वर ज्योतिर्लिङ्गेश्वर महादेव उत्पत्ति भएको विश्वास गरिन्छ । साथै, श्रीमद्भागवत् पुराणअनुसार कपिलमुनि र भगवान् श्रीकृष्णका दाजु बलरामसमेतले गलेश्वर ज्योतिर्लिङ्गेश्वरको दर्शन गरेको भनिन्छ ।

ऐतिहासिक, पौराणिक धार्मिक महत्त्व

गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शंखचक्रहरू, नागमणि आदि चक्राकाररूपी चिह्नहरू मानवनिर्मित नभई स्वयं उत्पन्न नित्य सनातन हरिहरस्वरूप भएकाले यो धामको उत्पत्तिलाई कुनै कालखण्डमा सीमित गर्न मिल्दैन । यो अनादि र अनन्त वैदिक सनातन धर्मको धरोहर र राष्ट्रको अमूल्य निधि हो ।

भगवानको अवतार मानिने ऋपवदेवका जेष्ठ पुत्र राजा भरत समुद्रकिनारदेखि हिमालयसम्मको समग्र भू(भागमा विश्वकै पवित्र तीर्थस्थलको खोजी गर्दै गर्दा यो धाम नै उत्तमोत्तम भएकोले राजा भरत जड भरतले यसै धाममा तपस्या गर्नुभएको र ब्रह्माजीका मानसपुत्र महर्षि पुलस्त्य पुलह, राजा रहुगण, गालव, वशिष्ठ, कपिलमुनि, ब्रह्मनिष्ठ योगीराज स्वामी ईश्वरानन्द ब्रह्मचारी ‘गलेश्वरबाबा’ जस्ता कैयौं सिद्ध महात्माहरूले यसै तीर्थमा तपस्या गरी सिद्धि प्राप्त गरेकाले गलेश्वरधाम ऋषि महर्षिहरूको तपस्थली साधकहरूको साधनाभूमि मानिन्छ । यो तीर्थलाई भगवानको कण्ठ भनिएको छ ।

दामोदरकुण्ड शिर, मुक्तिनाथ मुख, गलेश्वर गलो, देवघाट नाभी र त्रिवेणीलाई पाउ मानिएकोले पनि गलेश्वरधाम पौराणिक, धार्मिक, अध्यात्मिक, सांस्कृतिक र पर्यटकीय हिसावले अति महत्त्वपूर्ण छ ।

अलौकिक धाम

विश्वमै कहीँ कतै फेला नपरेको कृष्णागण्डकीको तटबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चक्र शिवशिलामाथि स्वयं प्रकट ज्योतिर्लिङ्गेश्वर महादेव, शिलाको उच्च भागमा कस्तै सुख्खा याममा पनि नसुक्ने जलबराह कुण्ड, गणेश शिवलिङ्ग, शालिगाम, शंखचक्र, नागदेवता र भगवानका पाउ चिह्नहरू स्वयं प्रकट भएको प्रत्यक्ष दर्शन पूजन गर्न सकिने कहिले ढुङ्गा टुसाउने कहिले हराउने हुँदा यस धामलाई विश्वकै अद्भूत र अलौकिक तीर्थस्थल भनिएको हो ।

धार्मिक विश्वास एवं मान्यता 

भक्तहरूले चाहनाले भाकल गरी यस तीर्थमा दर्शन, पूजन, यज्ञयज्ञादि गर्दछन्, उनीहरूको मनोकामना भएका अनगिन्ती उदाहरणहरू पाइन्छ। सन्तान नहुनेलाई सन्तान, विद्या, वृद्धि, द्रव्य प्राप्ति, बेपत्ता भएकाहरू घर फर्केका, महारोग निवारण र पारिवारिक सुख, शान्ति, समृद्धिलगायतका मनोकामना पूरा हुने हुँदा ठूलो आस्था र विश्वासका साथ दर्शनार्थीहरूले पूजा अर्चना गर्छन् ।

पौराणिककालदेखि गलेश्वरधाममा रोट चढाउने चलन रहेको र बाच्छी, बहर र सुनचाँदीका १०८ बेलपत्र चढाउनेहरूको भाकल पूरा भएको भक्तहरू आफै बताउँछन् । शिवालय क्षेत्र विकास कोषले शिवालयको चौतर्फी विकास गर्ने उद्देश्यले सुरु गरेको सम्भव( असम्भव योजनाहरू तथा कार्यक्रमहरू शिवशक्तिकै कारण पूरा हुँदै आएका छन् । राज्यका तर्फबाट भन्दा पनि शिवभक्त दाताहरूको सहयोगमा धेरै कार्य सम्पन्न भएको शिलालेखबाट अवगत गर्न सकिन्छ । गलेश्वर भगवानले भक्तहरूको मनकामना त पूरा गर्दछन् नै तर, देवाधिदेव महादेवप्रति अनास्था, अपहेलना, अपमान गर्ने, शिवस्वको नाजायज फाइदा उठाई लोभानी पापानी गर्ने जो कोहीलाई प्रत्यक्षरअप्रत्यक्षरूपमा हानि नोक्सानी, अकाल र अल्पमृत्यु भएको समेत प्रमाणहरू धेरै छन् ।

जहाँ शिव त्यहाँ शक्ति हुने हुँदा यस धाममा पनि श्री नवदुर्गा भवानी माताको मूर्ति स्थापना गरी पूजा आराधना गरिन्छ ।

ज्योतिर्लिंग चक्रशिला

गलेश्वरधामको अर्को अनौठो विशेषता हो, कृष्णागण्डकीबाट उठेर नौ रोपनी क्षेत्रफलमा फैलिएका एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मूल मन्दिरभित्र स्वयं उत्पत्ति भएका छन् जोतिर्लिङ्गेश्वर महादेव । चक्राकार शिलाको उच्च भागमा पातालमा पुगेकी पृथ्वीलाई जलमध्यबाट श्री विष्णु भगवानले बराह अवतार लिए उद्धार गर्नुभएको स्मरण गराउने पानीको स्रोत नभएर पनि जस्तै सुख्खा याममा पानी नसुक्ने जलबराहकुण्डलाई दैवीक चमत्कारको रूपमा लिइन्छ ।

चक्राकार जलबराहकुण्डको दर्शन पूजन, अभिषेक गर्नाले समस्त पाप र ताप नाश भई त्रितापबाट मुक्ति मिल्दछ । चक्राका शिलामाथि ठाउँठाउँमा शिवलिङ्ग, शालिग्राम, शंखचक्र, श्रीगणेश र नागमणिका आकृतिह स्वयं प्रकट भएका हुँदा चक्राकार शिला नै शंकर र विष्णुका चरणचिह्न हरिहर स्वरूप हुन् । विश्वमा कहीँ पनि फेला नपरेको नौ रोपनी क्षेत्रफलको विशाल चक्रशिलामाथि सबै देवीदेव उत्पत्ति भएकाले यो अद्भुत र अलौकिक चक्रशिलामाथि लक्ष्मी-नारायण, पाञ्चायन देव २०८ शिवलिङ्ग, यज्ञमण्डप, हवनकुण्ड, राधाकृष्ण र जडभरतद्वारा राजर्षि रहुगणलाई उप दँदै गरेको मूर्ति, राजाभरत, मृर्गरूपी भरत, नवदुर्गा भवानी, कामधेनु गाई नवनिर्मित राधाक मन्दिर, गलेश्वरबाबाका मूर्तिहरूलगायत अन्य मठमन्दिर अवस्थित छन् ।

चक्रशिलामा रहेका शिवलिङ्ग देवी देवताहरूको दर्शनपूर्व शिलाको पूर्वी पथमार्गबाट राजा भरतको तपस्थली गुफा हुँदै कृष्णागण्डकी स्नान गर्न जान सकिन्छ।

दर्शन, पूजा विधि र व्यवस्था

गलेश्वर ज्योतिर्लिङ्ग स्वयं उत्पन्न भएकाले यसको उत्पत्ति र ऐतिहासिकता, नित्य जन परम्पराबारे कहीँ किटानी भएको पाइँदैन। नाथ नामका व्यक्तिले खरको पहिलो मन्दिर बनाएको भन्ने गलेश्वरको झुत्रो लालमोहरमा उल्लेख छ । शिवालयमा प्रत्येक वैदिक विधि विधानअनुसार नित्यपूजा, अर्चना र शिवस्तोत्रका साथै रुद्राभिषेक, हवन, पुष्पाञ्जलि गरिन्छ । नित्य पूजापश्चात् मात्र भक्तहरूका लागि दर्शन पूजन गराइन्छ ।

यज्ञ(यज्ञादि, जपपाठ गर्ने कार्यहरू नित्य निरन्तर भइरहन्छन् । साँझमा पनि नित्यपूजा, अर्चना, आरती, पुष्पाञ्जलिपछि मन्दिर बन्द गरिन्छ । यस धामको स्थायी आयस्रोत केही नभएकोले शिवालयको नाममा विभिन्न ठाउँमा रहेको १२५ रोपनी जग्गा २०४६ सालमा मोहीले रैतानीमा दर्ता गरिसकेका, रैतानी गरेबापतको रकम गुठी संस्थानमा जम्मा भए पनि हालसम्म साँवा( ब्याजवापत केही प्राप्त नभएको, हाल शिवालय परिसर क्षेत्रमा ६० रोपनी जग्गा रहेको छ र मन्दिरको पूजा अर्चना, पूजारी कर्मचारीको पारिश्रमिक र अन्य खर्च दर्शनार्थीहरूले चढाएको भेटीबाट चलेको छ ।

शालिग्रामी कृष्णागण्डकी

नेपालको शिरोभाग दामोदरकुण्ड र भगवान् विष्णुलाई शंकर भगवानले वरदान दिएको स्थल मुक्तिनाथबाट जलप्रवाहित हुँदै बगेकी कृष्णागण्डकी र सप्तऋषिहरूको तपोभूमि रिखार धौलागिरि हिमशृंखलाबाट बगेकी रहुनदीको संगमस्थल यो धामलाई त्रिवेणीधाम पनि भनिन्छ । कृष्णागण्डकीले नाना प्रकारका चक्रमय शालिग्राम उत्पादन गर्ने हुनाले यी नदीलाई चक्रनदी र सधैँ कालो पानी बग्ने हुँदा कालीगण्डकी पनि भनिन्छ ।

विष्णु भगवानको अवतार मानिएको शालिग्राम उत्पादन गर्ने विश्वको एउटै मात्र पवित्र कृष्णागण्डकी नदीले गलेश्वर भगवानको पाउ हुँदै बग्ने हुँदा कृष्णाका तटका ढुङ्गा देवता कहलाउँछ भनिएको छ । जसले कृष्णागण्डकी स्नान गरी ज्योतिर्लिङ्गेश्वर महादेवको दर्शन, पूजन, यज्ञयज्ञादि र पितृतर्पण गर्ने गर्दछन्, उसलाई उत्तमोत्तम पुण्य मिल्नुका साथै पुनर्जन्म लिनु नपर्ने विश्वासले पनि यो क्षेत्रको ठूलो महिमा रहेको छ ।

नवदुर्गा भवानी

स्वयम्भू ज्योतिर्लिङ्ग गलेश्वरधाममा भगवान् श्री शङ्कर महादेव शिवशक्ती स्वरुपले रहनुभएकाले शिवालय मुल मन्दिरको दक्षिणतर्फ नवदुर्गा भवानीको स्थापना गरी पुजा अर्चना दर्शन गर्ने गरिन्छ । यस शक्तीपिठमा सर्व प्रकारका बलि प्रथालाई निषेध गरिएको छ ।

राजा भरत कसरी भए जडभरत ?

राजाभरत महान् भगवद्भक्त थिए । आफ्ना पिता ऋषभदेवले पृथ्वीको रक्षार्थ भरतलाई राजकाज सुम्पनुअघि भारतवर्षलाई अजनव वर्ष भनिथ्यो । पछि राजाभरतको नामबाट भरतवर्ष हुन गएको भन्ने श्रीमद्भागवतको पञ्चमखण्ड भरत चरित्रमा उल्लेख भएको पाइन्छ ।

राजा भरत सबै विषयको ज्ञाता भएकाले उनको राज्यमा कोही दुःखी, दरिद्र थिएनन्, सबैलाई सुख शान्ति समृद्धि प्राप्त थियो । सयौं वर्षको राज्य भोगपछि आफ्ना छोराहरूलाई राज्य सुम्पेर बाँकी जीवन संसारकै पवित्र तीर्थस्थलमा तपस्या गरी मुक्ति पाउने उद्देश्यले हिमालयतर्फ लाग्दै गर्दा चक्रनदी (कालीगण्डकी)को तटमा प्रसिद्ध चक्राकार शिव शिलामा स्वयं प्रकट ज्योतिर्लिङ्गेश्वर महादेव शालिग्राम रहेको गलेश्वरधामको गुफामा बसेर दैनिक कृष्णागण्डकी स्नान र शंकर भगवानको आराधना तपस्या गर्दै सूर्यलाई जल अर्पण गर्दा राजा भरतको हातमा मृग सावक (बच्चा) पर्यो । त्यो मृगसावकको पालनपोषण गर्दै गर्दा राजा भरतको मृगसावकप्रति आसक्ति बढ्दै जपतप साधनाभन्दा पनि सावकप्रति ध्यान जान थाल्यो । एकदिन नजिकै रहेको कालन्जर वनमा आएका मृगको बथानमा मिसिएर मृगसावक आश्रममा नफर्किएपछि राजा भरतको उकक्त मृग बच्चाप्रति चिन्ता बढ्दै गयो र यही चिन्ताले अन्त्यमा उनलाई चितासम्म पुर्याइछाड्यो ।

त्यसपछि, दोस्रो जन्ममा राजा भरतले मृग योनिमा जन्म लिई यसै कालन्जरवनमा मृगरूपी जीवन व्यतित गर्दै गर्दा आफू राजा भरत भएको र मृग आसक्तिका कारण मृगयोनिमा जन्म लिनुपरेको स्मरण भएपछि कृष्णगण्डकीमा देहत्याग गरी विप्रवर नामका उच्चकोटिका ब्रह्माणको कान्छी पत्नीको गर्भबाट पुत्रका रूपमा भरतले पुनर्जन्म लिए । यसरी ब्राह्मणत्व प्राप्त गरेका राजा भरतलाई पूर्वजन्मको स्मरण भएकाले फेरि कुनै योनिमा जन्म लिनु नपरोस् भनी जडस्वरूप दिनचर्या बिताउँदै पहिलो जन्ममा तपस्या गरेको यसै गलेश्वरधाममा ‘जडभरत’ नामले तपस्या साधना गरी बसेको अवस्थामा ज्ञानपिपासु राजर्षि रहुगणले जड भरतबाट दिव्य उपदेश लिए । राजर्षि रहुगणले जडभरतबाट शिष्यत्व समेत ग्रहण गरे ।

यसरी राजा भरत, मृगरूपी भरत र जडभरतले तीनै जन्ममा तपस्या गरी अमरत्व प्राप्त गरेको र राजा रहुगणले ज्ञान पाएको ज्ञानभूमि र सिद्ध भूमि मानिन्छ गलेश्वरधाम ।

संस्कृत विद्यालय

धर्म, संस्कृति र संस्कारको जगेर्ना गरी वैदिक सनातन धर्मको संरक्षण संवर्द्धन गर्ने उद्देश्यले यस धाममा धेरै वर्षअगाडिदेखि सञ्चालन हुँदै आएको शालिग्राम गण्डकी संस्कृत वेद विद्यालयलाई निरन्तरता दिँदै विद्यालयमा अध्यनरत छात्र र छात्रा अध्यापकहरूलाई आवास, भोजन, लत्ताकपडा र औषधी उपचार निःशुल्क प्रदान गरिँदै आएको छ । हाल २५ जना विद्यार्थीहरू (बटुक) ले संस्कृत र नेपाली, गणित अंग्रेजी, लगायत सबै विषय अध्ययन गरिरहेका छन् ।

धर्मशाला यात्री निवास

शिवालय मन्दिर परिसर, अन्नदान क्षेत्र, राधाकृष्ण मन्दिर क्षेत्रमा निःशुल्क र सशुल्क एटेच्ड वाथरुमसहितको शौचालय पार्किङको सुविधासम्पन्न यात्री निवास धर्मशाला उपलब्ध छन् । एकैदिनमा ३०० जना भन्दा बढी दर्शनार्थी तीर्थयात्रीहरूलाई खान बस्नको व्यवस्था उपलब्ध छ ।

गौशाला

मन्दिरको आवश्यकतानुसार हाल अस्थायी गौशालामा ५ वटा गाई र बाच्छी रहेका छन् । भविष्यमा स्थायी गौशाला निर्माण गर्ने लक्ष्य राखिएको छ । प्रत्येक दिन शिवालय देवालय मठमन्दिरमा गाईको दुग्धधारा अर्पण गरिन्छ ।

तीर्थयात्री व्यवस्थापन

गलेश्वरधाम, मुक्तिनाथ, दामोदरकुण्ड, पुलहाश्रमलगायतका तीर्थस्थिलहरूमा आगमन गर्ने हजारौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीहरूलाई आवास, भोजनको व्यवस्थाका साथै आवश्यक सुझाव, सल्लाह र सम्बन्धित स्थानमा पुग्न गाडी, टिकटलगायत अन्य सेवा सुविधा प्रदान गरिन्छ ।

धार्मिक पुस्तकालय

विगत केही वर्षयता सनातन वैदिक, धार्मिक, सांस्कृतिक र आध्यात्मिक विषयका पुराण शास्त्रहरूका पुस्तकहरू क्रमशः लोप हुँदै गएकाले गलेश्वरधाम परिसरमा धर्मिक आध्यात्मिक पुस्तकालय स्थापना र सञ्चालन गरिएको छ । लोप हुन लागेका हस्तलिखितलगायत धेरै पुस्तक संकलन भइसकेको र वैदिक सनातन सबै विषयका पुस्तक संकलन गरी भविष्यमा धार्मिक पुस्तक, शास्त्र एवं पुराणहरूको अभाव नहोस् भन्ने उद्देश्यले स्थापना गरिएको यस पुस्तकालयका लागि इच्छुक महानुभावहरूबाट तत्सम्बन्धी पुस्तक पुस्तकालयलाई उपहार स्वरूप प्राप्त भइरहेका छन् ।

पितृ श्राद्ध

शालिग्रामरूपी कालीगण्डकीको तटमा रहेको यस धाममा वैदिक विधिअनुसार पितृतर्पण श्राद्ध गर्नाले पितृहरूको उद्धार हुनुका साथै मुक्ति प्राप्त हुने हुँदा पितृतर्पणस्थलको व्यवस्था गरिएको छ । मुक्तिद्वारको रूपमा रहेको गलेश्वरधाममा पितृपूजा श्राद्ध गरेमा काशी गयाजीमा तर्पण श्राद्ध गरेकोभन्दा उत्तम फल मिल्ने भएकोले स्वदेशरविदेशका हजारौं भक्तहरूले यहाँ आई पितृतर्पण श्राद्धका साथै मातापिताको मुख हुने औँशीमा पनि धेरै भक्तहरू पितृ पूजाका लागि भेला हुने गर्दछन् । त्यहाँ पितृहरूलाई अर्पण गरिएको जल पुनः सीधे कालिगण्डकीमा जाने व्यवस्था मिलाइएको छ ।

कर्ताबेगरको पूजा

गलेश्वरधाममा रुद्राभिषेक, पूजापाठ, जन्मोत्सव, तर्पण यज्ञ गर्ने चाहना र भाकल गरेका तर कर्ता स्वयं उपस्थित हुन नसकेको अवस्थामा कर्ताको इच्छाअनुसार फोन सम्पर्कबाट पाठपूजा यज्ञयज्ञादि, वृद्धभोजन गरी गराई सम्भव भएसम्म प्रसाद पुण्याइदिने र पूजाखर्च बैंक, मनी ट्रान्फरमार्फत पठाउन सकिने व्यवस्था छ ।

फलफूल बिक्री तथा चमेना गृह

गलेश्वरधाममा दर्शन, पूजन, यज्ञयज्ञादि, पूजा अर्चना गर्न आउने श्रद्धालु भक्त सज्जन तीर्थयात्रीहरूका लागि फलफूल प्रसादको सहजताका लागि शिवालय मूल प्रवेशद्वारअगावै पसल कवलमा पूजा साम्रगी व्यवस्था र शाकाहारी चमेनागृहमा चिया नास्ता र सात्विक भोजनको व्यवस्था गरिएको छ । स्वयं पाक्यहरूका लागि र यज्ञ(यज्ञादि गर्न आउने भक्तजनहरूलाई अन्न क्षेत्रमा प्रसादि बनाइदिने साथै आवश्यक सामान उपलब्ध गराइने गरिन्छ ।

शिवालय क्षेत्रमा निषेधित वस्तुहरू

शिवालय क्षेत्र परिसरमा धुम्रपान, मद्यपान, मांस एवं लागू पदार्थ निषेध छ । छालाका सामान, जुत्ता चप्पलहरू भित्री द्वारभन्दा बाहिरै राख्ने व्यवस्था गरिएकोले चक्रशिला क्षेत्रमा निषेधित वस्तुहरू लैजान, खानपान गर्न नपाइने र मूल मन्दिरभित्र क्यामरा वा मोबाइल फोनबाट फोटो खिच्न निषेध छ । शिवालय मन्दिरभित्र वैदिक सनातन धर्मालम्बीहरूलाई बाहेक अन्यलाई प्रवेश निषेध छ ।

अष्टसिद्धि प्राप्त स्वामी गलेश्वरबाबा (ईश्वरानन्द)

शिवालय मन्दिरदेखि उत्तरपूर्वी कोण रहुनदी र कृष्णागण्डकीको संगमस्थलमा शंकर भगवानको तपस्या र गायत्रीको साधना गरी बसेका नाङ्गाबाबाको आश्रम गायत्री तीर्थस्थलले प्रसिद्ध छ । गलेश्वर शिवालयको दर्शन गर्दा बाघको छाला ओढ्ने, अन्य समय लगौटीमात्र लगाउने बाबालाई सबैले नाङ्गाबाबा नामले चिन्दथ्ये । नाङ्गाबाबाले नाम, उमेर र जन्मस्थल कसैलाई नभन्ने हुँदा धेरै समयपछि मात्र उहाँको नाम ईश्वरानन्द बाबा भनी थाहा भएको हो । शंकर भगवान् र गायत्रीको साधनाले उहाँलाई अष्टसिद्धि प्राप्त भएको थियो ।

श्रावणरभदौको भेलमा पनि काठको खराउ लगाई गण्डकी नदीमाथि हिँड्ने, कहिले बाघको रूप धारण गर्ने, कहिल्यै भिक्षा नमाग्ने, कसैलाई चेली, चेला नबनाउने, बाबाको आश्रममा आउने सबैले भोकै बस्नु नपर्ने, अद्भूत शक्ति थियो बाबाको । नाङ्गाबाबा कहिलेदेखि गलेश्वरमा बस्न थाल्नुभयो भन्ने कहीँ उल्लेख भएको पाइँदैन । गलेश्वर बाबा आश्रम देवघाटमा बस्ने मैयादेवी श्रेष्ठ २०२२ सालमा मुक्तिनाथबाट फर्कँदा गलेश्वरमा बाबालाई भेटी देवघाटमा जान आग्रह गरेअनुसार बाबा देवघाट जानुभएको मैयादेवी बताउनुहुन्छ । मैयादेवीका पिताले बाबाको सेवा गरी बस्दाको समय मैयादेवीलाई चिनेको कुरा उनी बताउँछिन् ।

नाङ्गाबाबा देवघाट जानुअघि देवघाटको महत्त्वबारे मानिसहरूलाई धेरै जानकारी थिएन होला, बाबाको सिद्धि र शक्तिले देवघाटको विकास गरी देवघाटधामलाई नेपालका चार धाममध्ये एक धामको रूपमा विकास गर्नुभयो । वि।सं। २०३० सालमा पशुपतिक्षेत्रमा भएको विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दा बाबाले आफ्नो नाम गलेश्वरबाबा भनी उद्घोष गर्नुभएदेखि उहाँको नाम गलेश्वरबाबा रहन गयो त्यस बखत उहाँलाई १२५ वर्षका गलेश्वरबाबा भनी प्रचार गरियो ।

यसरी गलेश्वरधाममा लामो समयसम्म शिवशक्ति र गायत्रीको उपासना गरी गलेश्वरबाबा नामले विश्वप्रसिद्धि पाउनुमा गलेश्वर भगवानकै आशिर्वादकै कारण भएकोमा दुईमत हुन सक्दैन । मैयादेवीको भनाइअनुसार गलेश्वरबाबाले २०३२ सालमा स्वइच्छाले देवघाटधाममा समाधि लिनुभएको थियो । बाबाले अष्टसिद्धि प्राप्त गरेको गलेश्वरधाम र समाधि लिएको गलेश्वरबाबा आश्रम देवघाट नेपालका प्रमुख तीर्थस्थलका रूपमा प्रसिद्ध छन् । अनभिज्ञतावश कसै(कसैले देवघाटधामलाई गलेश्वरधाम भन्ने गरेको पनि सुनिन्छ, तर वास्तविकता गलेश्वरधाम म्याग्दीकै हो, देवघाट धाम गलेश्वरबाबा आश्रममात्र हो। यसमा दुविधामा नपर्न आग्रह गर्दछौँ ।

बालाचतुर्दशी मेला

बालाचतुर्दशी पर्वमा सतबीज छर्नाले पितृहरूको उद्धारका साथै पति पत्नीको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै श्रद्धालुहरूले सतबीज छर्ने, यज्ञयज्ञादि, दानद्रव्य धातुका सामान चढाउने, गण्डकीमा तोरण तार्ने, भजन कीर्तन, नाचगान गरी २(३ दिनसम्म ठूलो मेला लाग्दछ मेलामा विवाह व्रतवन्धलगाएतका यज्ञहरू गर्ने गर्दछन् । उक्त मेलामा धेरै टाढाबाट पनि व्यापारीहरू आउने गर्दछन् ।

महाशिवरात्रि पर्व

शंकर भगवान् प्रकट हुनुभएको दिन महाशिवरात्रिमा शिवजीको दर्शन पूजन यज्ञयज्ञादि गर्ने महाबत्ती बाल्ने, रातभरि जाग्राम बस्ने र कृष्णगण्डकी स्नान गरी शिवलिङ्गको पूजापाठ गर्न यढाटाढाबाट ठूलो संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । शिवरात्रिको रातमा शिवजीको दर्शन गरेमा हिंसक जातिले पनि मुक्ति पाउँछन् । गलेश्वरधाममा श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी पूजा गर्ने र अक्षय तृतीयामा तुलादान गर्ने कार्यक्रम निरन्तर चलिरहन्छ यस अवसरमा वृद्ध तथा बटुकहरूलाई नगदी जिन्सी सहयोग गर्नेहरू पनि प्रशस्तै आउने गर्दछन् ।

गलेश्वरधाम आसपासका तीर्थस्थलहरू

गलेश्वरधामका चारै दिशामा ऐतिहासिक, धार्मिक र पौराणिक महत्व बोकेका देवालय, शिवालय देवीदेवता, मठमन्दिर र धेरै आश्रमस्थलहरू अवस्थित छन् । यी देवीदेवता, मठमन्दिर र आश्रमहरूमा आ(आफ्नो संस्कृति, संस्कारअनुसार पूजा अर्चना र बलि चढाउने गरिन्छ । केही शिवालय, देवालयहरूको महत्त्वबारे श्रीमद्भागवतमा समेत उल्लेख हुनुले यस्ता तीर्थस्थलले अझ बढी महत्त्व राखेका छन् । यी तीर्थस्थलहरूको दर्शन, पूजन र पाठ गरेमा भाकलअनुसारको फल प्राप्त भएका दर्शनार्थीहरू बताउँछन् । यस्ता मठमन्दिरहरूको विकासका लागि विभिन्न व्यवस्थापन, सञ्चालक समिति, कोष आदिद्वारा भौतिक, धार्मिक र आध्यात्मिक विकास कार्य भइरहेका छन्।

पूर्वमा गायत्री, गलेश्वरबाबा मन्दिर, राममन्दिर, खरीवराह, अन्नपूर्ण हिमाल, कर्याकाली बाबा, हम्मालधुरी, गिद्धेश्वर र सिद्धेश्वर । पश्चिममा पुलहाश्रम, कपिलाश्रम, जगन्नाथ, कालान्जर वन, सिद्धाश्रम, देके धुरी र मालिकादेवी उत्तरमा सप्तऋषिहरूको तपोभूमि रिखार, धवलागिरि हिमशृंखला, मुक्तिनाथ र दामोदरकुण्ड दक्षिणमा म्याग्दी सदरमुकाम, बेनी( शिवालय, लक्ष्मीनारायण, महारानीस्थान, दोबिल्ला भगवती र बाग्लुङ कालिका देवी आदि ।

पुलस्त्य पुलाश्रम

गलेश्वरधामदेखि ४ कि।मि। पश्चिम उच्च चुचुरोमा बेनी न।पा। ११ पुलहाश्रममा ब्रह्माजीका मानसपुत्र पुलस्त्य पुलहा ऋषिले तपस्या गरेको स्थानलाई ुपुलाश्रमु नामले चिनिन्छ पुलाश्रमसम्बन्धमा श्रीमद्भागवत र अन्य धेरै भागवत् तथा पुराणहरूमा वर्णन गरेको पाइन्छ ।

त्यसैले, पुलस्त्य पुलाश्रम विश्वकै अत्यन्त पवित्र पुण्यभूमि कहलिन्छ । पुलहा ऋषिले हवन गरेको चरुभस्म हवनकुण्ड ढाकेको चट्टानमुनि अद्यापि पाइन्छ । पुलस्त्य पुलहा ऋषि लंकेश्वर रावणका हजुरबुबा भएको र लकेश्वर रावणको यसै पुलाश्रम क्षेत्रमा जन्म भएको हो भन्ने किंवदन्ती पनि छ । गलेश्वरधाम र पुलाश्रम धामको एकै साथ दर्शन गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ। वैदिक सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पावन तपोभूमि भएका कारण नेपालीहरूले भन्दा भारतबाट आउने तीर्थयात्रीहरूले पुलाश्रम दर्शनबारे बढी जानकारी र खोजीनीति गर्ने गर्दछन् यस्ता तीर्थस्थलको विकास गर्न राज्य र निजी क्षेत्रको ध्यान जानु जरूरी देखिन्छ ।

गलेश्वरधाम र सदरमुकाम बेनीबाट गाडीमा एक घण्टा र पैदल दुई घण्टामा पुलाश्रम पुग्न सकिन्छ ।

पर्यटनस्थल

गलेश्वरधाम धार्मिक दृष्टिले मात्र नभएर वाह्य पर्यटकीय दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण स्थल हो । म्याग्दी जिल्लाका तातोपानी, घोरेपानी, मुक्तिनाथ, पुनहिल, मुस्ताङ जिल्लामा आवागमन गर्ने पर्यटकहरूको मुख्य प्रवेशद्वार हो गलेश्वरधाम ।

त्यस्तै, गलेश्वरबाट बाँसखर्क, राम्चे हुँदै घोरेपानी, पुनहिलतर्फको पर्यटन पदमार्गको केन्द्रबिन्दु पनि गलेश्वरधाम नै हो । अर्को महत्त्वपूर्ण पदमार्ग गलेश्वरधामदेखि पश्चिमतर्फ ठूलो सल्लेरी वन, घतान नेप्टेचौर, कपिलाश्रम, पुलहाश्रम, ढोल्ठान, जगन्नाथ हुँदै टोड्के धुरीतर्फको नयाँ पदमार्गमा धार्मिक र वाह्य पर्यटकहरूका लागि हिमालय शृंखला, पहाड, नदीनाला, झरना, हरियाली डाँडा र सुन्दर गाउँ बस्तीको दृश्यावलोकनका लागि उपयुक्त स्थलहरू रहेका छन् ।

गलेश्वरधाममा धार्मिक तथा बाह्य पर्यटकहरूको सुविधाका लागि क्याम्पिङ क्षेत्र, वन भोजस्थल, युवा, वृद्ध लगायत सबै उमेरकाहरूलाई पार्क तथा खेल मैदानको सुविधा उपलब्ध छ ।
मेला चाड पर्व

आमाबुवाको मुख हेर्ने दिनमा आमाबुवा नहुनेहरूले सामूहिक पूजा अचर्ना श्रद्धा तर्पण गर्ने गर्छन र आमाबुवा हुनेहरूले पूजा, अर्चना र चिरायुको कामना तथा वृद्धाहरूलाई भोजन गराउने चलन रहेको छ । अक्षय तृतीयाका दिन श्रीमहादेव र पार्वतीको विवाह भएको शुभ दिन भएकाले उक्त दिन यस शिवालयमा गरेका दान, तुलादान, दर्शन, पूजन कहिल्यै नाश नहुने हुँदा उक्त दिन हजारौं हजार भक्तजनहरूले जलार्पण र दर्शन, पूजन, सुन चाँदीका बेलपत्र चढाउने गर्दछन् त्यस्तै हरितालिका तीज ऋषिपञ्चमी, जनैपूर्णीमा, सोहश्राद्ध, नवरात्रि, विजयादशमी, लक्ष्मीपूजा आदि पर्व अनुसारका पूजा अर्चना हुन्छन् ।

यसका अतिरिक्त गलेश्वरधाम बाह्रै महिना पुजा अर्चना यज्ञ यज्ञादीहरू निरन्तर चलिरहन्छन् वर्षको फागुनदेखि मंसिरसम्म मुक्तिनाथ, दामोदर कुण्ड दर्शन गर्न जाने स्वदेशी तथा विदेशी यात्री तथा भक्तजनहरूले सर्वप्रथम गलेश्वरधामको दर्शन पूजन गरी मुक्तिनाथमा दर्शन पुजापश्चात पुनः गलेश्वरधाममा पूर्णाहुति गरेमा मात्र मुक्तिनाथ तीर्थाटन पूरा हुने र मोक्ष प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

सम्बन्धित समाचार