बुधबार , जेठ ३०, २०८१

पर्यटकको मन जित्दै गलकोटको ‘मूर्तिकला’

image

काठमाडौं । तल गलकोटमाथि घुम्टे लेक, बिचमा छ टेउवा । तीन वर्ष अघिसम्म गुमनाम रहेको टेउवाले अहिले पर्यटकको मन जित्न थालेको छ । अहिले यस स्थानमा पर्यटकको चहलपहल दैनिक रूपमा बढ्दै गइरहेको छ । वि.सं २०७६ मा टेउवाको डाँडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिदिएको हो ।

एक हजार नौ सय ८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारहरूले शिलामा कुँदेर बनाएका आकर्षक मूर्ति हेर्न पर्यटक पुग्ने गरेका छन् । गलकोट नगरपालिका-५ मा पर्ने टेउवा ऐतिहासिक गलकोट दरबारको शिरमा पर्छ । शान्त वातावरण, स्वच्छ हावापानी, अनेक आकृतिका मूर्ति र यहाँबाट देखिने अनेकौँ दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ। प्रेमिल जोडीसँगै पारिवारिक घुमघामको लागि टेउवा उपयुक्त स्थान बन्दै गएको छ ।

सहज यातायात र गलकोटबाट नजिक रहेकाले बागलुङ आउने पर्यटक यहाँसम्म पुग्ने गरेका छन् । टेउवामा पुग्ने आगन्तुकलाई घुम्टे लेकले घुम्टो उघारेर स्वागत गरिरहेको हुन्छ । पर्यटकले हटियार बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना ‘प्याकेज’ मै एकै पटक घुम्न सक्ने भएकाले पर्यटकको सङ्ख्या बढिरहेको स्थानीयवासी बताउँछन् ।

गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाका अनुसार चाडपर्व र बिदाको दिन टेउवामा आउनेको भीड लाग्ने गर्छ । यहाँका स्थानीयवासीले पहिले यो ठाउँ यति धेरै लोकप्रिय बन्ला भनी सोचेका थिएनन् । अहिले पर्यटकले भरिभराउ हुँदा उनीहरू दङ्ग परेका छन् ।

रानाले भने “टेउवालाई थप व्यवस्थित बनाउन , मूर्ति बनाएका ठाउँमा ढलान गर्ने र बार लगाउने काम भइरहेको छ, यसको व्यवस्थापनपछि थप पर्यटक आउने अपेक्षा गरेका छौँ, यति छोटो समयमा यति धेरै मान्छे घुम्न आउलान् भन्ने थिएन, दिनप्रति दिन आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ, महिना झण्डै दुई हजार पर्यटक यहाँ आउने गरेका छन् ।”

टेउवामा वि.सं २०७६ फागुन ५ देखि २१ सम्म अन्तर्राष्ट्रियस्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा मूर्ति तयार गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारले बनाएका ती मूर्ति खुल्ला सङ्ग्रहालयमा राखिएका छन् । मूर्तिकारले ढुङ्गामा जल, जङ्गल, जमिन, पहाड, लगायतका आकृति तयार गरेका छन् । यहाँ बनेका मूर्ति र यस ठाउँले तनावबाट मुक्त बनाउने बुटवलदेखि घुम्न आएका विशाल रणपालले बताए ।

उनले भने, “यो ठाउँ र यहाँ बनेका मूर्तिकला साँच्चिकै मनमोहक छन्, पहाडै पहाडले घेरिएको यो ठाउँ, न यहाँ प्रदूषण छ, त्यो बजारको कोलाहलबाट यहाँ आउँदा निकै खुसी लाग्यो, बजारबाट यहाँसम्म आउने बाटो राम्रो बनाउन सके अझै सजिलो हुने थियो, तर पनि पहाडी क्षेत्रमा यत्तिको व्यवस्थापन धेरै राम्रो हो, फेसबुक, टिकटकमा यहाँको फोटो र भिडियो देखेका थियौँ, त्यही भएर साथी मिलेर गाडी लिएरै घुम्न आएका हौँ ।”

मूर्तिकला जोड्ने पदमार्ग निर्माण

पैदल यात्रामार्फत पर्यटकलाई टेवामा पुर्‍याउनका लागि गलकोट नगरपालिकाले कौलेनी–टेउवा पदमार्ग निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु तीन लाखबाट करिब दुई सय मिटर पदमार्ग निर्माण गरेको वडा नं ५ का अध्यक्ष पवन हमालले जानकारी दिए । टेउवामा पर्यटक आकर्षणका लागि यस वर्षदेखि पदमार्ग निर्माणको थालनी गरेको उनको भनाइ छ ।

मूर्तिकला हेर्ने आगन्तुकको आगमनमा वृद्धि हुँदै गएपछि पर्यटन प्रवर्धनका लागि पदमार्ग अनिवार्य रहेको उनले बताए । हटियाबाजरदेखि गाडीमा आएर हरिचौरदेखि पदमार्ग हुँदै टेउवा पुग्न सकिने गरी काम भएको अध्यक्ष हमालको भनाइ छ ।

हरिचौरदेखि टेउवा जोड्ने सडक पनि स्तरोन्नति भइरहेको, नाली निर्माण, सडक चौडा गर्ने काम भइरहेको र  सडकलाई व्यवस्थित गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिने अपेक्षा लिएको उनले बताए ।

टेउवा प्रवेशद्वारका रूपमा रहेको हरिचौर बजारलाई थप व्यवस्थित गराउन थालेको हमाल बताउँछन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखले बजार क्षेत्र ढलान गर्ने काम भएको उनको भनाइ छ ।

“यस वर्षदेखि हरिचौर बजारलाई थप व्यवस्थित गर्न थालेका छौँ, यो बजार टेउवा मात्रै नभएर गाईघाट झरनाको प्रवेशद्वार पनि हो, त्यसले गर्दा यहाँको सौन्दर्यीकरण गर्ने, बजार क्षेत्रमा फूलहरू लगाउने र सरसफाइलाई जोड दिएका छौँ” अध्यक्ष हमालले भने, “पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्धनका लागि प्रचारप्रसारलाई पनि ध्यान दिएका छौँ।” टेउवाबाट माछापुच्छ्रे अन्नपूर्ण लगायतका दर्जनौँ हिमशृङ्खला नियाल्न सकिन्छ भने बागलुङ गुल्मीलगायतका ठाउँ पनि यहाँबाट देख्न सकिन्छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ४५ किलोमिटरमा गलकोट पुग्न सकिन्छ भने गलकोटदेखि हरिचौर हुँदै करिब एक घण्टाको यात्रामा टेउवा पुग्न सकिन्छ । खोलानाला, पाखा पखेरा र गाउँले जनजीवन नियाल्दै पैदल यात्राबाट झण्डै दुई घण्टामा यहाँ पुग्न सकिन्छ ।

रासस

सम्बन्धित समाचार