बुधबार , जेठ ३०, २०८१

अगाडी बढ्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम

image

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अगाडी बढ्ने भएको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको रङ्गशाला धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर भरतपुर महानगरपालिकाले कामलाई अघि बढाउन लागेको हो । महानगरपालिका प्रमुख रेणु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने जनाएकी छिन् । विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको फाउन्डेसनले जनाएको छ ।

भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको दाहालले जनाएकी छिन् । उनले भनिन्, ‘रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो ।’

खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ । समितिले प्राविधिक र आर्थिक प्रतिवेदन समेत बुझाइसकेको छ ।

तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाइने दाहालले जनाएकी छिन् । रङ्गशाला निर्माणका लागि पहल कदमी गर्ने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसद समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन् । जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उनको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पुर्‍याउन प्रधानमन्त्री दाहालको समेत चाहना रहेको छ ।

भुक्तानीको टुङ्गो लागेपछि यसै आर्थिक वर्षबाट बहु वर्षीय आयोजनाभित्र पारेर रङ्गशालाको काम सुरु हुने प्रमुख दाहालको भनाइ छ । रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोग चलन गरेको  २० बिघा छ कट्ठा जग्गा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको थियो ।

वि.सं २०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबिच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ । फाउन्डेसनले महानगरपालिकालाई हस्तान्तरण गर्दा निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको जनाएको थियो । निर्माणका क्रममा ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जनाएका छन् ।

जसमध्ये नगद र जिन्सी गरी ३९ करोड ८० लाख रुपैयाँ उठेको कट्टेल बताउँछन् । रकम तिर्न नसके पछि वि.सं २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको हो । निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । सहमति विपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै महानगरपालिकाले विमति जनाउँदै आएको छ ।

सम्बन्धित समाचार