सोमबार , जेठ १४, २०८१

बडादशैंको पहिलो दिन घटस्थापना: विधि सहित यसको महत्व

यस पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि विजयको प्रतीकका रूपमा मनाउनुपर्छ ।

image

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नेपालीको महान् पर्व बडादशैं शुरु हुँदैछ । पहिलो दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पादन गरिन्छ । पहिलो कृत्य यस दिन जमरा राखिन्छ भने अर्को कृत्य यसै दिन घटस्थापना गरी देवी-देवताको आवाहन पनि गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला,  वगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई पनि मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुशी पार्नको निम्ति जमरा उमार्ने प्रचलन प्रारम्भ भएको हो ।

घरको पुजाकोठा या अन्य पवित्र स्थानमा माटोको विशुद्ध जलपूर्ण घडा (कलश) को वरिपरि नौवटा देवीको प्रतिमूर्ति (प्रतिमा) स्थापित गरी घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचार अथवा षोडशोपचारले पूजाआजा गरिन्छ ।

बड़ादशैंको पहिलो दिन घर-घरमा वैदिक विधिपूर्वक दियो,  कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनादेखि घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । घटस्थापनाको बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमाथि जौ छरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर भगवती दुर्गाको प्रिय वस्तु भएकोले जौ छरी भगवती दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेंलो जमरा ग्रहण गरिन्छ ।

घटस्थापनाको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले सो दिनलाई घटस्थापना भन्ने गरिएको हो । सो दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा भगवती दुर्गाको प्रसाद ग्रहण गरिन्छ । भगवती दुर्गाका तीनरूप महाकाली,  महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको,  महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा नेपाली समाजमा रहेको छ ।

भगवती दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गापक्षका अवसरमा विशेष पूजा-आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ । उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी-नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो ।

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकीर्तिता: ।

दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजाआराधना गर्ने शास्त्रीय विधान छ । दुर्गापूजा र दशैं पर्व कुनै जात एवं धर्मविशेषको भनी शास्त्रीय रूपमा प्रमाण उपलब्ध छैन । यो मानवमात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ । यस पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउनुपर्छ ।

भगवती दुर्गाको प्रतीकका रूपमा घटस्थापनाको भोलीपल्टदेखि महानवमीसम्म प्रत्येक दिन फरक-फरक गरी नौ कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ । बड़ादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले शक्तिपीठमा बलिसहित विशेष पूजा-अर्चना पनि गर्ने गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवीसूक्त एवं स्तोत्रहरुको पारायण पनि गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड़ लाग्छ । परम्परानुसार काठमाण्डौको हनुमानढोका दरबारमा रहेको दशैंघरमा घटस्थापनादेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा भगवती दुर्गाको पूजा आराधना प्रारम्भ हुन्छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास रहेको छ ।

घटस्थापना गर्ने विधि

लिपपोत गरी चोख्याइएको शुद्ध स्थान अथवा मंदिरमा घटस्थापना गर्नुपर्छ । प्रारम्भमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आवाहन गर्न जौ, गहुँ आदि छरी त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गर्नुपर्छ । थालीमा देवीयन्त्र वा अष्टदलकमल बनाई दुर्गायन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुनिर्मित देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित भगवती दुर्गाको पूजा प्रारम्भ गर्नुपर्छ ।

यसै विधिलाई घटस्थापना भनिन्छ । यसपछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने गरिन्छ । यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवीभागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ । नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शन आदि गरिन्छ । यही दिन सामाजिक तथा राष्ट्रियस्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ ।

पूजनीया जनैर्देवी स्थाने स्थाने पुरे पुरे ।

गृहे गृहे शक्तिपरैर्ग्रामे ग्रामे वने वने ।।

स्नातैः प्रमुदितैर्हृष्टैर्ब्राह्मणै: क्षत्रियैः नृपैः ।

वैश्यैः शूद्रैर्भक्तियुक्तैर्म्लेच्छैरन्त्यैश्च मानवैः ।।

नवरात्रमा सबै मानवले देवीको पूजा गर्न सक्छन् र सबैले गर्नुपनि पर्दछ । नवरात्रको पूजापाठ नित्य भएकाले नगर्दा दोष लाग्छ भने गर्दा विशेष फलप्राप्ति हुन्छ । नित्यकर्म जस्तै नियमित पूजापाठ गर्नुपर्छ । कुनै तिथि क्षय भएको भए कुनै दिन दोहोर्याएर उक्त तिथिको पूजासमेत पूरा गर्नुपर्छ ।

भगवती दुर्गाको षोडशोपचार पूजाविधि-

ध्यानमन्त्र

आगच्छ वरदे देवि दैत्यदर्प निषूदिनी ।

पूजां गृहाण सुमुखि  नमस्ते शंकरप्रिये ।।

सर्वतीर्थमयं वारि सर्वदेव समन्वितम् ।

इमं घटं समागच्छ तिष्ठ देवगणैः सह ।।

 

ध्यानं समर्पयामि, सपरिवारयुतायै साङ्गायै दुर्गादेव्यै नमः ।

दुर्गाका चारैतिर रहने देवताहरूको पूजा-

बीचमा सिंहासनको पूजा गरी ईशानकोणबाट क्रमश: पूजा गर्ने-

ॐ विष्णवे नमः । ॐ शिवाय नमः । ॐ विनायकाय नमः । ॐ सूर्याय नमः । दुर्गा देव्याः सर्वेभ्यो परिवारेभ्यो नमः ।

(वैदिक मन्त्र, तान्त्रिक मन्त्र, दुबै मन्त्र मिलाएर वा नाम मन्त्रले मात्र पनि देवीको पूजा गर्न सकिने भएकाले यहाँ नाममन्त्रद्वारा पूजा विधि प्रदर्शन गरिएको छ)

१. आसनं समर्पयामि,  दुर्गादेव्यै नमः । (आसनका लागि देवीलाई कुश तथा फूल चढाउने)

२. पाद्यं समर्पयामि,  दुर्गादेव्यै नमः ।

३. अर्घ्यं समर्पयामि,  दुर्गादेव्यै नमः ।

४. आचमनीयं समर्पयामि,  दुर्गादेव्यै नमः ।

५. स्नानीयं समर्पयामि,  दुर्गादेव्यै नमः ।

६. पञ्चामृतस्नानं समर्पयामि,  दुर्गादेव्यै नमः ।

७. शुद्धोदकस्नानं समर्पयामि,  दुर्गादेव्यै नमः ।

८. वस्त्रं,  यज्ञोपवीतं उपवस्त्रं च समर्पयामि,  दुर्गादेव्यै नमः ।

९. श्रीखण्डादि चन्दनं समर्पयामि,  दुर्गादेव्यै नमः ।

१०. अक्षतान् समर्पयामि,  दुर्गादेव्यै नमः ।

११. पुष्पं,  पुष्पमालां,  सौभाग्यद्रव्याणि च समर्पयामि,  दुर्गादेव्यै नमः ।

(सिन्दुर,  गाजल,  टीका,  मंगलसूत्र आदि सबै चढाउने र आवरण पूजा पनि यहीं गर्नुपर्दछ)

१२. धूपं आघ्रापयामि,  दीपं च दर्शयामि, दुर्गादेव्यै नमः ।

१३. नानाविधानि नैवेद्यानि, फलानि च समर्पयामि, दुर्गादेव्यै नमः । आचमनीयं च समर्पयामि, दुर्गादेव्यै नमः ।

१४. ताम्बूलं समर्पयामि, दुर्गादेव्यै नमः । सुगन्धिद्रव्यं च समर्पयामि, दुर्गादेव्यै नमः ।

१५. न्यूनतातिरिक्तये द्रव्यदक्षिणां समर्पयामि, दुर्गादेव्यै नमः ।

१६. आरार्तिक्यं, पुष्पाञ्जलीं, प्रदाक्षिणां, क्षमापनं च समर्पयामि, दुर्गादेव्यै नमः ।

अनेन यथा उपलब्धवस्तुद्वारा पूजनेन दुर्गादेवी प्रियताम् न मम ।

(षोडशोपचार अथवा पंचोपचार विधिले दैनिक रूपमा पूजा गर्नुपर्छ । चण्डीपाठ गर्ने भए ब्राह्मणवरण, पुण्याहवाचन आदि गरेर पुस्तकको पूजा गरी पाठ गर्नुपर्दछ)

माधव प्रसाद गर्तौला

सम्बन्धित समाचार