सोमबार , जेठ १४, २०८१

वैकुण्ठ गाउँमा यही वैशाख २३ र २४ गते घाटु नाच मेला लाग्दै, आँखा चिम्लेर नाच्ने घाटु नाच के हाे ?

तामाङ समुदायले घाटु नाच्ने नेपालकै एक मात्र ठाउँ: वैकुण्ठ

image

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ स्थित वैकुण्ठ गाउँमा यही वैशाख २३ र २४ गते घाटु नाच मेला लाग्दै छ । प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता र ऐतिहासिकताले भरिएको वैकुण्ठ गाउँमा प्रत्येक वर्ष चण्डी पूर्णिमा/वैशाख पूर्णिमाकाे अवसरमा भव्य मेलाबीच घाटु नाच देखाइँदै आएको छ ।

घाटु गुरुङ र मगर समुदायमा प्रचलित लोक नृत्य हो । विशेष गरी श्री पञ्चमीमा विधिपूर्वक पूजार्चना गरी सुरु गरिने घाटु नाच मातातीर्थ औँसीदेखि वैशाख पूर्णिमासम्म नाचिन्छ । घाटु एक शास्त्रीय नाच हो । घाटु गुरुङ र मगर समुदायको लोक संस्कृतिमा आधारित एउटा गीति नाटक हो ।

घाटु नाच मेलामा अन्य विविध सांस्कृतिक कार्यक्रमहरू पनि रहेको घाटु नाच मेला व्यवस्थापन समितिका संयोजक यम बहादुर मुक्तानले बताए । घाटु नाचसँगै ठुलो मेला पनि लाग्ने गरेको छ । मेलामा स्थानीय परिकारहरूको स्वाद चाख्न पाइने उनले बताए । अन्त लोप हुन लागेको घाटु नाचको अवलोकन गर्न, वैकुण्ठ गाउँको प्राकृतिक सुन्दरता, संस्कृति र इतिहासबारे थाहा पाउन यो मेला सुनौलो अवसर भएको बताउँदै मेलामा सहभागी हुन संयोजक मुक्तानले निम्तो दिए । वैशाख २२ गते पूर्णिमाका दिन नाचकाे तयारी सुरु गर्ने, २३ र २४ गते नाच देखाउने उनले बताए ।

तामाङ समुदायले घाटु नाच्ने नेपालकै एक मात्र ठाउँ: वैकुण्ठ

घाटु नाच खासगरी गुरुङ समुदायमा प्रचलित छ । मगर समुदायले पनि यसलाई आफ्नो संस्कृतिको रूपमा अङ्गालेको पाइन्छ । तर, वैकुण्ठ गाउँमा भने परापूर्वकालदेखि तामाङ समुदायले घाटु नाच देखाउँदै आएको छ । तामाङ समुदायले घाटु नाच्ने नेपालकै एक मात्र गाउँ वैकुण्ठ नै भएको कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले बताए ।

कैलाश–२ को तल्लो भेगमा गुरुङ समुदायको बसोबास रहेको छ । तर, घाटु नाचमा उनीहरूको संलग्नता रहँदैन । वैकुण्ठ गाउँका तामाङ समुदायले नै गाउने र नाच्ने गरेका छन् । तामाङ समुदायका आमाहरूले नै घाटु गीत, नाच एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण गर्दै आएका छन् ।

वैकुण्ठमा सतीको चिहान अझै संरक्षित छ

घाटु नाच राजा परशुराम र रानी यम्फावती (कतै यम्बावती कतै चम्पावती पनि भन्ने गरिएको पाइन्छ) बीचको प्रेम, विवाह, गृहस्थी, राजकाज, जङ्गल प्रस्थान, सिकार, मरण अनि मृत्यु संस्कार आदीमा आधारित छ । किंवदन्ती अनुसार आज भन्दा करिब तीन सय वर्ष अगाडि वैकुण्ठ गाउँमा एक जना राजा थियो । राजाको नाम परशुराम थियो । रानीको नाम यम्फावती थियो । एक दिन सिकार खेल्न जाँदा राजा परशुरामको मृत्यु भयो । राजाको मृत्यु भएपछि रानी पनि राजासँगै सती गइन् । रानी यम्फावतीको चिहान अहिले पनि संरक्षित रहेको छ । वैकुण्ठ गाउँमाथि रहेको चिहान डाँडामा सतीघाट रहेको छ । सतीको चिहानलाई अहिले काँडेतारले घेरेर राखिएको छ ।

सतीघाट क्षेत्र अहिले डाँफे–मुनाल पार्कको नामले पर्यटकमाझ परिचित छ । सतीघाटसँगै रूखमा डाँफे र मुनालको बसेको आकृतिसहितको पार्क बनाइएको छ । पार्कसँगै विष्णुकुण्ड पनि रहेको छ । कुण्डको बीचमा गुरु पद्म सम्भवको प्रतिमा स्थापना गरिएको छ ।

घाटु नाचकाे किंवदन्ती भने स्थानविशेष अनुसार फरक फरक पाइन्छ । गुरुङ समुदायमा प्रचलित किंवदन्ती अनुसार परशुराम र यम्फावती १६औँ शताब्दीका लमजुङको कुनै गाउँका राजारानी हुन् । घाटु नाच उनीहरू को माया, प्रेम, विवाह, गृहस्थी, जङ्गल प्रस्थान, सिकार र मृत्यु संस्कारसम्मका कथावस्तुमा आधारित छ ।

तर, वैकुण्ठ गाउँमा सतीको चिहान अझै पनि संरक्षित रहेको, घाटु नाच संस्कृति जस्ताको तस्तै जीवित भएको र सो क्षेत्रमा परापूर्वकालदेखि नै गुरुङ समुदायको बसोबास समेत रहेको हुनाले घाटु नाचको उद्गम थलोबारे खोजको विषय भएको वडाध्यक्ष घिसिङको भनाइ छ । वैकुण्ठ गाउँमा नै घाटु नाचको सुरुवात भएको हुनसक्ने वडाध्यक्ष घिसिङ अड्कल काट्छन् ।

अन्त लोप हुँदै, वैकुण्ठमा जस्ताको तस्तै घाटु नाच

घाटु नाचको उद्गम थलो र इतिहासको विषयमा फरक-फरक किंवदन्तीहरू प्रचलित रहेपनि यो तीनसय देखि चारसय वर्ष पुरानो लोक नृत्य भएकोमा भने मतैक्यता छ । मौखिक परम्परामा आधारित भएकाले यसका कथा र विषयवस्तुहरू लोप हुँदै गएका छन् । सुन्ने, गुन्ने र भन्ने परम्परामा आधारित भएकाले भन्नेले सबै भन्न सक्दैनन्, सुन्नेले सबै ग्रहण गर्न सक्दैनन् र उसले ग्रहण गरेको सबै सुनाउन सक्दैनन् । यसो हुँदा एवमरितले घट्दै गएको छ ।

गुरुङ समुदायको बाहुल्यता रहेको र सो समुदायको उद्गमथलो मानिएको लमजुङ लगायत गण्डकी प्रदेशका गुरुङ समुदायमा पनि घाटु नाच लोप हुँदै गएको छ । मौलिकता हराउँदै गएको छ । गीत छोटिँदै गएको छ । युवा पुस्ताले चासो नदिँदा यो लोक नृत्य नै लोप हुने चिन्ता बढेको छ । तर, वैकुण्ठ गाउँका तामाङ समुदायले भने सयौँ वर्ष पुरानो घाटु लोक नृत्यलाई जस्ताको तस्तै जोगाउँदै आएका छन् । घाटुको पुरै गीत गाउन झन्डै दुई दिन लाग्छ । निरन्तर गाउँदा नाच्दा पनि १८ देखि २० घण्टा लाग्छ । वैकुण्ठमा अहिले पनि १८ घण्टासम्म गाउने नाच्ने गरेको छ । वैकुण्ठवासीले घाटु गीत र नृत्यलाई जस्ताको तस्तै जोगाइराखेको वडाध्यक्ष घिसिङ बताउँछन् ।

“अन्त गुरुङ समुदायको बाहुल्यता भएको ठाउँमा नै लोप हुँदै गएको भन्ने सुनिन्छ । गीत केही घण्टा र मिनेटमा छोटिएको भन्ने सुनिन्छ । तर, यहाँ वैकुण्ठ गाउँमा जस्ता तस्तै छ ।” वडाध्यक्ष घिसिङले भने, “लोप हुँदै गएको संस्कृति हामीले भने जोगाएका छौँ । अब खास घाटु नाच हेर्न मानिसहरू वैकुण्ठ गाउँमा आउने छन् । यो हाम्रो लागि गर्वको विषय पनि हो ।”

उनका अनुसार वैकुण्ठ गाउँमा पनि विगत केही दशक अघि घाटु नाच झन्डै लोप हुन लागेको थियो । घाटु नाचमा आमाहरूले गीत गाउने र कन्याहरूले नाच्नुपर्दछ । नाच्नका लागि करिब एकदेखि तीन महिनासम्म तालिम नै गर्नुपर्ने, गाउँ घरमा खेती किसान घर गृहस्थी चलाउने आमाहरूले पर्याप्त समय दिन नसकिने हुनाले संरक्षणमा कठिनाइ छ । नयाँ पुस्ताले चासो नदिँदा पनि संरक्षणमा कठिनाइ छ । वैकुण्ठमा विगतका वर्षहरूमा पटक पटक संरक्षणको अभियान चलाएको उनले बताए । वडाध्यक्ष घिसिङका अनुसार अहिले पुरै गीत गाउन सक्ने मुख्य गुरु दुई जना छन् । अन्य आठ दश जना सिकारुहरू छन् । यसकाे संरक्षणका लागि थप पहल गरिने उनले बताए ।

कसरी नाच्छन् घाटु नाच ? किन आँखा चिम्लेर नाच्छन् ?

गुरु आमाहरूले गीत गाउने र कन्याहरूले आँखा चिम्लेर गीत र मादलको तालमा घाटु नाचिन्छ । घाटु नाच्नका लागि घाटुकी कन्या कथा विषयवस्तु अनुसार आवश्यक सङ्ख्यामा छानिन्छ । वैकुण्ठ गाउँमा यसपालि नौ जनाले नाच्दैछन् । घाटुलीको सङ्ख्या गुरुमाले तोक्ने गरेका छन् । यस वर्ष विशेष भव्य रूपमा पुरै कथा देखाउने योजना बनाएको हुनाले नौ जनालाई नचाउन लागिएको हो ।

उनीहरूलाई घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गर्दछन् । त्यसरी पूजा गरेपछि घाटु नाच्ने कन्याहरूको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याहरूको आँखा बन्द नभएसम्म देवीहरूको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुवात मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ ।

घाटु नृत्यमा वाद्य र साज शृङ्गार भन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदय विदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हुँदा गाउने कलाकार, दर्शक समेत धुरुधुरु रोएको पाइन्छ । सती घाटुमा गुरुवाले गीतबाटै मङ्गलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, सिँगार गर्ने, नृत्यकला सिकाउने सती ढलाउने सती जगाउने काम गर्दछन् ।

घाटु नाच्ने कन्याहरूले एकैथरीका गुन्यू चोली लगाउँछन् । हातमा चुरा, गलामा विभिन्न माला, शिरमा लाभा (भुटेर फुलाएको धान), फूलको श्रीपेच, शिरविन्दु, कानमा झुम्काना आदी लगाउँछन् । आँखा चिम्लेर नाच्नुपर्ने भएकाले प्रत्येक घाटुलाई एक एक जना सहयोगी पनि राखिएको हुन्छ ।

एक पटक नाचेपछि तीन वर्ष अनिवार्य नाच्नुपर्ने हुन्छ । यदि तीन वर्ष नपुग्दै कन्याको बिहे भएमा श्रीपेच नलगाई नचाउने र बाटो काटेर छुटकारा दिने गरेको वडाध्यक्ष घिसिङले बताए ।

घाटुका प्रकार

सती घाटु: वैकुण्ठमा नाचिने घाटु सती घाटु हो । प्रचलित सती घाटु विमेसै नाचिँदैन । सती घाटु वैशाख पूर्णिमामा मात्र नाचिन्छ । वसन्त ऋतुको सुरुवात वसन्त पञ्चमी अर्थात् श्री पञ्चमी देखि विधिवत् घाटुको थालनी हुन्छ । सती घाटु नाच मातातीर्थ औँसी देखि वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती को अघिल्लो दिन देखि मध्य जेठ सम्म नाच्ने गरिन्छ । सती घाटु रितपूर्वक नाचिन्छ । मादल र गीतको तालमा नाचिने यो नाच शास्त्रीय नाच हो । सतीघाटुमा नाच्ने कन्याहरूमा देवी चढ्ने भएकाले उनीहरू नाच्ने क्रममा बेहोसीको अवस्थामा हुन्छन् । यो अवस्थालाई कुसुण्डा भनिन्छ । यो क्रममा मादलको ताल बिग्रियो वा गीत बिग्रियो भने नाच्ने कन्याहरू बेहोस भइरहने विश्वास गरिन्छ ।

बाह्रमासे घाटु: बाह्रमासे घाटु जहिले पनि नाच्ने गरिन्छ । विशेष गरी मगर अथवा गुरुङ बस्तीमा पाहुना जाँदा, कुनै विशेष मेला उत्सव आदिमा बाह्रमासे घाटु नाचिन्छ । यसका लागि कुनै साइत हेर्न वा विशेष पूजा अर्चना गर्न पर्दैन ।

पर्यटकीय आकर्षण भन्दै घाटु नाच

घाटु नाच अहिले पर्यटकीय आकर्षण बन्दै गएको छ । गुरुङ र मगर समुदायको बाहुल्यता रहेको क्षेत्रमा सञ्चालित होमस्टेमा घाटु नाच एक मुख्य आकर्षण हो । लमजुङको घले गाउँ, भुजुङ, कास्कीको घान्द्रुक लगायत गुरुङ बाहुल्य रहेको पर्यटकीय गन्तव्यहरूमा घाटु नाच देखाउने गरेको पाइन्छ । यसरी जुनसुकै बेला देखाउने घाटु बाह्रमासे घाटु हो । यसलाई जुनसुकै बेला गाउन, नाच्न र देखाउन मिल्छ । तर, सती घाटु हेर्नका लागि भने वैशाख पूर्णिमा नै कुर्नुपर्ने हुन्छ । घाटु नाचलाई संरक्षण गर्दै पर्यटकीय आकर्षणको रूपमा प्रस्तुत गर्ने योजना रहेको वडाध्यक्ष घिसिङ बताउँछन् ।

कसरी पुग्ने वैकुण्ठ ?

वैकुण्ठ गाउँ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी बजारबाट २८ किलोमिटरको दुरी पार गरेपछि यो सुन्दर गाउँमा पुग्न सकिन्छ । गजुरी बजार काठमाडौंबाट ६० किमीको दुरीमा रहेको छ । काठमाडौंको चन्द्रागिरि, मकवानपुरको चित्लाङ, टिस्टुङ, पालुङ हुँदै जान पनि सकिन्छ ।

त्यसैगरी धादिङको नौबिसे खानीखोलाबाट त्रिभुवन राजपथ हुँदै पालुङ निस्केर पनि जान सकिन्छ । पालुङबाट डाँडेबास, चामाखर्क, डाँडाखर्क, खोलाखर्क हुँदै ३६ किमी पार गर्दे वैकुण्ठ पुग्न सकिन्छ । त्यसैगरी डाँडेबासबाट दुम्सीखर्क, खैलीङडाँडा हुँदै जान पनि सकिन्छ ।वैकुण्ठ गाउँसम्म काठमाडौँबाट नियमित बस सञ्चालन हुन्छ ।

त्यसैगरी बागमती प्रदेशको राजधानी हेटौँडाबाट २७ किमी को दुरी पार गर्दै वैकुण्ठ पुग्न सकिन्छ । साना ठुला सबै खालका सवारी साधन लिएर वैकुण्ठ पुग्न सकिन्छ । दुई पाङ्ग्रे साधनमा जाँदा थप रमाइलो हुन्छ ।

सम्बन्धित समाचार