मंगलबार , जेठ १६, २०८०

घोडा, घोडचढी नाच र तामाङ जाति

कहिल्यै जीत/हार नहुने युद्धबाट आजित भई तेस्रो पटकको वार्ता गर्छन् । यस पटक भने कसैले पनि नहारेको बराबर भन्ने निष्कर्षमा सहमति हुन्छ । गोर्खइ ग्यल्पोहरूको चामलसँग ल्हसइदेवहरूको नुन साटेर मित्रवत् व्यवहार गर्दै संयुक्त विजय उत्सव मनाएर युद्ध नृत्य सकिन्छ ।

image

एक समय हामी म्हाने दोरा नाच्थ्यौँ । अचेल दोरा नाच्ने खासै मौका मिल्दैन । त्यसबेला वर्षा कायम रहँदैमा नङ्बोकेन (मेलाभोज) खाम्थ्यौँ । कामको लागि मेलामा जान्थ्यौँ । मेला भनेको एउटा समाज सरह हुन्थ्यो । त्यसको आफ्नै प्रकारको नियम हुन्थ्यो । बिहानी मेला संगातीसँग गए पनि दिउँसोको मेलामा घरको सबैजना एउटै मेलामा रहनु एक कडाइ नियम थियो ।

नङ्बोकेन खाना समूहको तर्फबाट मासुको लागि राँगा काट्थ्यो । चामल प्रत्येकले एकएक माना लान्थ्यौँ । पकाइसकेपछि सबैलाई मासु बाँडिन्थ्यो । पहिलो चोक्टा खान एउटा विधि पार गर्नु पर्दथ्यो, बसेर नै एउटा गीत गाउनुपर्दथ्यो- “पुइ दङच्यो फोलो ।” यसमा गाउँका सिमेभूमे, नाग–नागिन, इष्टदेवदेवी आदि सबैलाई पुकारिन्थ्यो। करिब २० मिनेट व्हाइपोम्पोले गाउँदै, अरूले (स्हेर्लिङ) दोहोर्‍याउँदै, मासु देखाउँदै, तब खान्थ्यौँ । त्यसपछि बसेको ठाउँमै उभिएर नाच्थ्यौँ ।

अनेक यस्तै म्हाने दोरा गीत गाउँदै, खाँदै, पिउँदै, संस्कार र ज्ञान हस्तान्तरणको गजब तरीका अपनाएका रहेछन्, पुर्खाले । म पनि त्यही सेरोफेरोमा हुर्किएकाले धेरै पटक सचेत रूपमै सामेल भएको छु । अचेल ती सम्झनाहरू अटेसमटेस भएर आउँछन् र समय मिलाएर ती लोकवार्ताहरूलाई झ्वाँके मार्फत सार्वजनिक गर्दै छु ।

यसपटकको झ्वाँके सम्बन्धमा म्हाने दोरामा कैयौँ पटक किन गाइरहन्छ त घोडाबारे भन्ने प्रश्नको सेरोफेरोमा रहने प्रयास गरेको छु ।

घोडा, घोडचढी नाच र तामाङ जाति

तपु ठुङ्पे ठुङ्सा खनइ य्हुल्सा
तपु ठुङ्पे ठुङ्सा ग्यगरदेन्टी

(घोडाको उत्पत्ति कहाँ भएको ?
घोडाको उत्पत्ति ग्यगरदेनमा भएको हो । )

माथिको श्लोक तामाङहरूले विभिन्न उत्सव, मेला र जात्रामा एकताबद्ध भएर सबैले एकसाथ नाचिने म्हाने दोराको बेला गाइने उत्पत्ति गीत हो । यसमा क्रमशः घोडाको उत्पत्ति, चरन र बसोबासको बारेमा सवालजवाफ गरिन्छ । नृत्यको तालमा पत्तै नपाई एउटा गहन मौखिक इतिहास गाइरहेको हुन्छ । नाच्नेलाई नाचको ताल, गाउनेलाई गानाको ताल, बडो रोमाञ्चक हुने गरी व्हाइपोम्पो (गायक) ले दोरा सम्हाल्नु पर्छ । दोरामा संलग्नहरू गीतको सुरुदेखि अन्त्यसम्म गाउँदै नाच्दछन् । गाउनेले गाएपछि अरूले दोर्याउछन् । समय-समयमा नाचको ताल (स्य्हप्रो) दिन्छन् ।

वर्षा यामपछिको समय नेपाली समाजमा खुसीको लहरहरू सञ्चार गर्न अनेक उत्सव तथा पर्वहरू आउने गर्दछन् । पौष पन्ध्रदेखि परम्परागत पात्रो अनुसार तामाङ नयाँ वर्ष सुरु हुन्छ । अहिले नामकरणमा तमु (तोला) ल्होछार भनिने गरिए तापनि परम्परादेखि नै यो पर्व कृषिमा आधारित सबै समुदायले मान्ने गरिन्थ्यो । लगत्तै माघेसंक्रान्ति, त्यसमा झाँक्रीहरू कुङ्करमा गएर प्रार्थना साथै यस पटकदेखि ल्हेकोर/ल्होकोर (आफू जन्मेको ल्हो पुगेको, यानेकी १२ वर्षको) पुगेका बालबालिकाहरूको फप्पा गरिन्छ । फप्पा भनेको वयस्क सरह सामाजिक तथा धार्मिक कार्यमा भाग लिन पाउन गरिने एक संस्कार हो । त्यसपछि सोनाम ल्होछारमा मात्र नभई ग्यल्बो ल्होछारमा समेत उत्तिकै रमाइलो गरिन्छ, ल्हाप्सङकर्पो (गणेश हिमाल) क्षेत्रका तामाङ बस्तीहरूमा । जन्म संस्कार, विवाह संस्कारदेखि मृत्यु संस्कार समेत हिउँदको यो समयमा गर्न रुचाउँछन् ।

तामाङहरूसँग घोडा र घोडचढीको अनेकौँ आह्वानहरू जोडिएका छन् । तसिप (घोडाको मृत्यु भएको ठाउँ), तक्युप (घोडा ओहोरदोहोर गर्ने ठाउँ वा घोडा प्रजनन स्थान) लगायतका स्थान विशेषको नाम घोडासँग सम्बन्धित रहेको छ । बाह्र वटा ल्होमध्येमा घोडा (त) पनि एक हो । पौराणिक तामाङ बस्तीमा भेटिने शिलाहरूमा घोडाको चित्र कुँदिएको पाइन्छ । त्यस्तै, धार्मिक पुस्तकको परिच्छेद छुट्याउन पनि घोडाको चित्र प्रयोग गरिएको पाइन्छ । त्यसैले तामाङ जातिसँग कसै न कसै गरी घोडा र घोडचढी शब्द जोडिन आएको पाइन्छ ।

“भोटे भाषामा पैदल हिँड्ने पल्टन (फौज) लाई ‘कमक’ र रिसल्ला (घोड सवार) पल्टनलाई ‘तमक’ भन्दछन् । तमक अपभ्रंश भएर तामाङ भएको हो भन्ने भोटका विद्वान्हरूको धारणा भए तापनि तमकबाट तामाङ भएको होइन, तामाङ नेपाल देशकै आदिवासी हुन् (लामा, सन्तवीर ताम्बा काइतेन, २०६९) ।” कसैकसैले तामाङहरूलाई ‘मुर्मी’ पनि भन्दछन्, जसको अर्थ सिमानाका बासिन्दा हुन्छ । जर्ज एन रोरिकले “तामाङको अर्थ घोडचढी सैन्य हो” भनेका छन् ।

यसरी तम्बा काइतेन व्हाई रिमठिममा सन्तवीर लामाले तिब्बतबाट आएको घोडचढी समूह नै नेपालका तामाङ हुन् भन्ने स्वदेशी तथा विदेशी विद्वान्हरूको तर्कमा आशङ्का व्यक्त गरेको छ । तर, तामाङ जातिसँग घोडा र घोडचढी जोडिएर चर्चा-परिचर्चा गर्न भने अझै छोडेको छैन । वास्तवमा यो समुदायसँग गहिरो सम्बन्ध रहेको छ, तपु यानेकी घोडा/घोडचढी ।

घोडचढी नाच : लखेटालखेट, काटमार र लुकीछिपीको अभिनय 

घोडचढीको सन्दर्भलाई जोड्न घोडचढी नाचको प्रचलन पनि रहेको छ । खासगरी छेची पर्वमा देखाइने चेमा मध्ये एक तपु स्यप (घोडचढी नृत्य) एक हो । घोडचढी बनेर नाच्न मानिसको शरीरमा दुई तर्फबाट काठहरू बाँधी घोडाको आकृति बनाइन्छ । घोडचढी सैनिकको आकृति तथा स्वरूप दिन दाँया हातमा तरबार, बायाँ हातमा ढाल र अनुहारमा रङ लगाइन्छ । अन्य सहायक सैनिकहरूको हातमा भाला तथा धनुष हुन्छ । मार्गदर्शकको रूपमा झ्याम्टा र ढ्याङ्ग्रोको तालमा दुवै तर्फबाट लामाहरू सामेल हुन्छन् । सङ्ख्याको निर्धारण आवश्यकता र उपलब्धता बमोजिम गरिन्छ । सेता वस्त्र धारण गरेकाहरूलाई गोर्खइ ग्यल्पो (गोरखाली राजा) र रातो वस्त्र धारण गरेकाहरूलाई ल्हसई देव (तिब्बती राजा) भनी नामकरण गरिएको हुन्छ ।

वीर रसमा आधारित नृत्य भएको हुँदा युद्ध, लखेटालखेट, काटमार र लुकीछिपीको अभिनय गरिन्छ । गोर्खइग्यल्पोहरू डसङमा प्रवेश गर्नासाथ ल्हसइदेवहरू पनि युद्धमा होमिन्छन् । केही समयको युद्धपश्चात् मध्यस्थकर्तामार्फत युद्धविराम घोषणा गरिन्छ तर, एक अर्काप्रति आरोप प्रत्यारोप गर्छन् र वार्ता भङ्ग हुन्छ ।

फेरि युद्ध हुन्छ । दोस्रो पटकको वार्ता क्षतिपूर्तिको विषयमा सहमति हुन नसक्दा पुनः युद्ध गर्छन् । कहिल्यै जीत/हार नहुने युद्धबाट आजित भई तेस्रो पटकको वार्ता गर्छन् । यस पटक भने कसैले पनि नहारेको बराबर भन्ने निष्कर्षमा सहमति हुन्छ । गोर्खइ ग्यल्पोहरूको चामलसँग ल्हसइदेवहरूको नुन साटेर मित्रवत् व्यवहार गर्दै संयुक्त विजय उत्सव मनाएर युद्ध नृत्य सकिन्छ ।

यसप्रकार नाचिने घोडचढी नृत्य आयोजना गर्दा सामाजिक, आर्थिक र धार्मिक उन्नति हासिल गर्न सकिन्छ भन्ने मान्यता रहेको छ । “तामाङ लोकसंस्कृति भित्र विकसित घोडचढी नाचको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्व रहेको छ । युद्ध तथा अन्य कारणले मृत्यु हुन गई  दाहसंस्कार नपाएर भड्की रहेका मृतात्माले चीर शान्ति पाउने र देवीदेवता खुसी भई समाजमा सुख शान्ति छाउँछ भन्ने जनविश्वास पाइन्छ । नेपाल एकीकरण र एकीकरण पश्चातका विभिन्न युद्धहरूका बेनामी शहीदहरू, प्रजातन्त्र प्राप्तिका अनेक सङ्घर्षका शहीदहरू र जनयुद्धका शहीदहरूको समेत सम्मान दर्शाउन यो उचित अवसर र मौका हुनेछ (तामाङ, गोपाल फ्युबा घोडचढी नाचको परिचय, २०६४) ।”

तामाङ जातिले छेची, ल्होछार तथा अन्य औपचारिक कार्यक्रममा घोडचढी नाच नाच्ने चलन चलिरहेको छ । मृत्यु संस्कारको घेवा कार्य पाँच दिने गरी चेमा खेलाउने भएमा घोडचढी नाच अनिवार्य मानिन्छ । सन् १८३३ देखिको इतिहास भेटाए पनि त्यो भन्दा धेरै अघिदेखि तामाङ जातिले घोडा र घोडचढी नाचको चर्चा र संरक्षण गर्दै आइरहेको अनुमान सहज रूपमा गर्न सकिन्छ । गीतमा रोङ्गई ग्यल्बोको सन्दर्भ समेत आएको पाइन्छ ।

अहिले छेचीको खोज अनुसन्धानमा लाग्ने क्रममा नुवाकोट जिल्लाका म्हानेगङ, अम्बातङ, स्हङ्गम, किम्ताङ, रसुवाका गलाङ, गोल्जोङ र धादिङका ब्युर्चेत, सेर्तुङ आदि स्थानहरूमा कहीँ नियमित त कहीँ कहिलेकाहीँ गरेर जसोतसो छेची पर्वलाई बचाई राखेको पाइन्छ । संस्कार र संस्कृति बचेमा मात्र पहिचान बच्नेमा सचेत हुनुपर्दछ । जहाँ जहाँ छेची मनाइन्छ, त्यहाँ त्यहाँ घोडचढी नाच पनि नाचिन्छ ।

यसबाट के प्रस्ट हुन्छ भने तामाङ जाति र घोडा सम्बन्धित छन् । घोडासँगको सम्बन्धको कारण यससँग सम्बन्धित गीत र नृत्यको विकास भएको पाइन्छ । त्यसैले तामाङहरू सचेत बनेर यी इतिहासको खोज, संरक्षण र संवर्धन गरिनु जरुरी छ । घोडा धेरै जसो ठाउँमा भए झैँ तामाङ जाति विश्वका अनेक ठाउँमा रहेको छ भन्ने लाक्षणिक अर्थ लाग्ने एक गीत ।

तपु दिङ्पे दिङ्सा खनइ य्हुल्सा, तपु दिङ्पे दिङ्सा रेप्क्या लिम्बु
घाेडा डुल्ने ठाउँ कहाँ होला ? घाेडा डुल्ने ठाउँ जहाँतहीँ….!

सम्बन्धित समाचार