बुधबार , जेठ ३०, २०८१

घोडेजात्रा किन मनाइन्छ

image

घोडेजात्रा घोडाप्रतिको सम्मान त हुँदै हो तर यो घोडा दौड नभएर जात्रा भएकाले धार्मिक र सांस्कृतिक मान्यतासँग पनि यसको सम्बन्ध छ । पिशाच चतुर्दशीको भोलिपल्ट औंसी तिथिमा मनाइने यो पर्व भएकाले यसले तान्त्रिक मान्यतालाई आत्मसात गरेको पाइन्छ । किनकि, घोडा दौडाएर पिशाच, दुष्टात्मा भगाउने कार्य र विश्वासलाई मल्लकालको बढ्दो तान्त्रिक विधाको प्रभावसँग जोडेर हेर्दा पनि पुष्टि हुन आउँछ ।

हाम्रो देशको संस्कृतिको एक प्रमुख अंगका रूपमा नेपालका विभिन्न चाडपर्वलाई पनि लिइएका छन् । ती चाडपर्वलाई सम्पूर्ण नेपालीले खुला हृदयले मिलोमतो गरी भाग लिने गर्छन् । यो चाड चैत्र कृष्ण औंसीका दिनमा पर्छ । यसलाई पिशाच चतुर्दशी पनि भन्छन् । यस दिन टुँडिखेलमा घोडा दगुराउने जात्राका साथै अरू विभिन्न देवीदेवताका रथयात्रा पनि हुन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठूलो चाड हो । यस दिन भगवान् शिवजीको धुमधामसँग पूजाआजा गरिन्छ । अझ बढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन् । यस दिन काठमाडौंको टुँडिखेल नजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजा–अर्चना पनि गर्ने परम्परा छ । यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाई दिई सफासुग्घर तुल्याई मद्यमांस आदि तामसी भोग चढाइन्छ । यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचुर्य हुन्छ । भनिन्छ– घोडे जात्रापछि लसुन छिपिएको हुन्छ, खानलायक हुँदैन भन्ने किम्वदन्ती पनि आजसम्म त्यत्तिकै चरितार्थ रहेको पाइन्छ ।

छिटोछरितो, बलवान् जनावरका रूपमा घोडाको महत्त्व पौराणिककालदेखि नै सर्वस्वीकार्य भएकाले नै मानिसले घोडालाई तालिम दिई कज्याएर आफूअनुकूल यातायात साधन र मनोरञ्जनका लागि उपयोग गर्दै आएका छन् । साथै, वैदिककालमा घोडाको महत्त्वपूर्ण भूमिका र मान्यता रहेको देखिन्छ । उसबेला चक्रवर्ती राजाले आफ्नो प्रतिष्ठा, राज्यको सीमा सुरक्षा स्थिर राख्न, राज्यबाट कर उठाउन श्यामकर्ण घोडालाई विशेष रूपले सजाई विशेष अधिकार दिई दिग्विजय गर्न छाडेका र सो कार्य सम्पन्न भएपछि उनले अश्वमेघ यज्ञ सम्पन्न गरेका पुराणमा उल्लेख पाइन्छ । साथै, सामाजिक प्रतिष्ठान र मान्यतामा नेपालको कर्णाली अञ्चलको मुगु जिल्लाको ’घोडा भेडा’ प्रथामा स्थानीय जनतामा भैपरी आउने मुद्दामामिला, झैझगडा, अंशबन्डा आदिमा स्थानीय भद्रभलाद्मी मध्यस्थकर्ताको सहयोगमा कुनै पनि समस्याको समाधान गरिदिने मध्यस्थकर्तालाई भेडाको मासु खुवाई घर फर्कंदा घोडामा चढाएर पठाउने नियमको उल्लेख पाइन्छ ।

घोडेजात्राअघि आजको जस्तो रूपमा हुँदैनथ्यो । तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो र राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो । दर्शन गर्न जाँदा राजा घोडामा जाने गर्थे । राजाको पछिपछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो । राजाको दर्शनयात्राको शोभा हेर्न टुँडिखेलमा जनता भेला हुने गर्थे । यसरी राजाको घोडेयात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप हुन गएको अनुमान गर्न सकिन्छ । यस जात्राको पहिलाको रूप पाटनको बालकुमारीको चौरमा हिजो आजसम्म पनि देख्न पाइन्छ । आज आएर विभिन्न मनोरञ्जन थपिँदै गए र यो घोडेजात्राको तयारी धेरै दिनअघिदेखि गरिन थालेको हो । यस जात्राको मुख्य आकर्षण पक्ष भन्नाले घोडा, मोटर, मोटरसाइकल, साइकल, रेसजस्ता खेलहरूको प्रतियोगिता हो । यसका अलावा विभिन्न खेल, तमासा, लडाइँका प्रदर्शन, सर्कस पनि देखाइन्छ र फौजीले हेलिकप्टरबाट विभिन्न किसिमका रोचक तथा घोचक कार्यक्रम लोकप्रिय हुन थालेको छ । यसले घोडेजात्रा हेर्नेको संख्यामा तीव्र प्रतिस्पर्धा हुन थालेको छ । अहिले आएर साधारण जनताले मोटरसाइकल, साइकल, दौडमा भाग लिन पाउँछन् । त्यस्तैगरी महिलाले पनि विभिन्न खेलमा भाग लिन थालेका छन् । टुँडिखेल मञ्चमा राष्ट्रपतिलगायत, प्रधानमन्त्री अन्य मन्त्री र विदेशका प्रतिनिधिलगायत उच्च पदस्थ सरकारी कर्मचारीको पनि यस अवसरमा सरिक भएको पाइन्छ ।

घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता, मूल्य र महत्त्व पनि रहेको छ । यस किसिमको प्रचलनको सुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन् । यो जात्रा खासगरी काठमाडौं उपत्यकाको तीन सहरमा भव्यरूपमा मनाइन्छ । यो जात्रामा विशेषगरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ । यो चाड तीन दिनको भए पनि अन्तिम दिन चैत शुक्ल परेवाको दिन मातृका देवीका खटहरू सहरमा परिक्रमा गराई छवटा गल्लीबाट ल्याई असन चोकमा सातवटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोकभेट भएको पनि भनिन्छ भन्ने किम्वदन्ती छ ।

हाम्रो समाजमा विभिन्न चाडपर्वका आआफ्नै किसिमको महत्त्व बोकेर आएका छन् । त्यसमध्ये घोडेजात्रा पनि एक महत्त्वपूर्ण पर्व हो । यसको धार्मिकभन्दा सामाजिक महत्त्व बढी भएको पाइन्छ । यसले नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ । यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ । अत: नेवारी समाजमा यसलाई जोड दिएको प्रतीत हुन्छ । त्यसैले हिन्दु संस्कृतिमा आफ्ना पूर्वजप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरका रूपमा यस जात्रालाई लिन सकिन्छ । यो घोडेजात्रा पर्व विशेषता कृषक वर्गले आनन्द गर्ने चाड हो । घोडेजात्रा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भनी व्यंग्य गरिएको पाइन्छ । यसर्थ प्रत्येक वर्ष घोडेजात्रा यसरी नै सम्पन्न हुन्छ ।

विश्वनाथ खरेल

सम्बन्धित समाचार